भर्खरै :

भक्तपुर बचत कर्मचारी समाजद्वारा ‘मजदुर’ र ‘श्रमिक’ को अन्तरक्रिया

भक्तपुर, १९ माघ । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. कर्मचारी समाजको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा संस्थाका कर्मचारी, समिति, उपसमितिका पदाधिकारीहरूबीच सोमबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भारतीय एकाधिकार पँुजी र विस्तारवादी नीतिविरुद्ध नेमकिपा निरन्तर लागिरहेको बताउनुभयो । उहाँले ‘मजदुर’ र ‘श्रमिक’ पत्रिका कामदार वर्गको निम्ति निरन्तर लागिरहेको बताउनुभयो । यसको निरन्तरताका लागि जनताले नै सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । चुनावबाट समाजवादको अपेक्षा गर्नु संशोधनबाद भएको स्पष्ट पार्दै उहाँले माक्र्सवाद उल्ट्याउनु पँुजीवाद स्वीकार्नु हो भन्नुभयो । नेकपाको झगडा वैचारिक र सैद्धान्तिक सङ्घर्ष नभई भागबन्डाको झगडा भएको बताउनुभयो ।
भारतले वरपरका देशलाई नियन्त्रणमा राखी बजार कब्जा गरिरहेको बताउँदै उहाँले पँुजीवादी देशले पँुजीका लागि जे पनि गर्ने बताउनुभयो ।
संस्थाका कानुनी सल्लाहकार रामप्रसाद प्रजापतिले नेपालको संसद विघटन र शक्ति पृथकीकरणबारे स्पष्ट पार्नुभयो । उहाँले राज्य संयन्त्रमा सन्तुलन र नियन्त्रणका लागि शक्ति बाँडफाँट गरिरहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिले नेपाल मजदुर किसान पार्टीको स्थापनाका चरणबारे स्पष्ट पार्नुभयो । उहाँले देशको कम्युनिस्ट आन्दोलनमा नेमकिपाको भूमिकाबारे औँल्याउनुभयो ।
समाजका अध्यक्ष जगनाथ प्रजापतिले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले सुरु गरेको अन्तरक्रिया कार्यक्रमबाट विभिन्न विषयमा अन्तरक्रियात्मक कार्यक्रम गर्ने बताउनुभयो ।
कार्यक्रममा सत्यनारायण साँयजू, दयालक्ष्मी धन्छा, अञ्जना छुस्याबाग, निभा कोजू, दिनेश धौबन्जारलगायतले विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *