भर्खरै :

भारतमा झन्डै दुई सय आन्दोलनकारी किसान बेपत्ता

नयाँ दिल्ली, २ फेब्रुअरी (द वायर) । विगत दुई महिनाभन्दा अगाडिदेखि दिल्लीका सीमानाकामा बसेर प्रदर्शन गरिरहेका आन्दोलनरत किसानमध्ये झन्डै दुई सय आन्दोलनकारी किसान बेपता पारिएका छन् । किसान आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त किसान मोर्चाका अनुसार गणतन्त्र दिवसका दिन भएको किसान ट्रयाक्टर ¥यालीको क्रममा पुलिससित भएको झडपपछि ती किसान बेपत्ता भएका हुन् ।
बेपत्ता किसानको सङ्ख्या बढ्दै गएपछि किसान सङ्गठनहरूले त्यसबारे जाँच गर्न ६ सदस्यीय समिति गठन गरेको छ । मोर्चाका अनुसार त्यस समितिले बेपत्ता भएका किसानका बारेमा जानकारी जम्मा गर्नेछ र यस मामिलामाथि औपचारिक कारबाहीका लागि सरकारी अधिकारीहरूसमक्ष पेश गरिने छ ।
टाइम्स अफ इन्डियाको विस्तृत समाचारअनुसार ट्रयाक्टर ¥यालीको क्रममा पुलिससित भएको झडपपछि बेपत्ता भएका अधिकांश किसानहरू दिल्ली पुलिसद्वारा गिरफ्तार गरिएका छन् र कतिपयविरुद्ध मुद्दा दर्ता भइसकेका छन् । समाचारअनुसार बेपत्तामध्ये १६३ जना दिल्लीका जेलमा वा प्रहरी हिरासतमा भएको खुलिसकेको छ । केही अझै हिरासतमै हुनसक्ने केही गिरफ्तारीको डरले लुकेको हुनसक्ने बताइएको छ ।
संयुक्त किसान मोर्चाले गठन गरेको समितिमा किसान नेता राजिन्द्र सिंह, प्रेमसिंह भागू, किरनजित सिंह शेखा, बलजित सिंह, र अवतार सिंह रहेका छन् । यस समितिले आन्दोलनका कानुनी पक्षबारे अध्ययन गर्ने र पुलिसद्वारा गिरफ्तार गरिएकाहरूको कानुनी सहायताका लागि वकिलहरूसित सम्पर्क गर्नेछ ।
संयुक्त किसान मोर्चाले झूटा र मनगढन्ते आरोपका आधारमा पत्रकार तथा अन्य नागरिकहरू पक्राउ गरिएको घटनाको कडा निन्दा गरेको छ । मोर्चाले दावा गरेको छ कि मोदी सरकार किसान आन्दोलनको बढ्दो लोकप्रियता र शक्तिदेखि तर्सेको छ । दिल्लीको सीमाहरूमा इन्टरनेट सेवा बन्द गर्ने सरकारको कदमको पनि विरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *