भर्खरै :

ऊ विन र सुकीविरुद्ध मुद्दा दायर

यङ्गुन, ३ फेब्रुअरी । म्यानमारका राष्ट्रपति ऊ विन मिन्ट र स्टेट काउन्सलर आङ साङ सुकी आगामी फेब्रुअरी १५ सम्म नजरबन्दमा रहने नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)का अधिकारीले बुधबार बताएका छन् ।
म्यानमारका प्रहरीले राष्ट्रपति ऊलाई राष्ट्रिय विपद् व्यवस्थापन कानुन र स्टेट काउन्सलर सुकीलाई आयात तथा निर्यात कानुनअन्तर्गत मुद्दा दायर गरेको एनएलडीको सूचना समितिले जनाएको छ ।

ऊ विन


सामाजिक सञ्जालमा प्रचार गरिएको प्रहरीले दायर गरेको मुद्दाको प्रतिमा राष्ट्रपति ऊ र उनको परिवारले नोभेम्बर महिनामा भएको आमनिर्वाचनअघि गत वर्ष सेप्टेम्बर २० मा एनएलडीको चुनावी अभियानको सिलसिलामा सर्वसाधारण जनतालाई भेटेको र त्यसो गर्नु कोभिड–१९ महामारीको समयमा राष्ट्रिय विपद् व्यवस्थापन कानुनविपरीत भएको बताइएको छ ।
त्यस्तै सुकीलाई बिनाअनुमति अवैधरूपमा हाते रेडियो आयात गरेको आरोप लगाइएको छ । राजधानी सहरमा रहेको सुकीको घरमा खोजतलासको क्रममा ती रेडियो फेला परेको बताइएको छ । म्यानमारको आयात र निर्यात कानुनअन्तर्गत उनीविरूद्ध मुद्दा दायर गरिएको छ ।
प्रहरीले अदालतसमक्ष दुवै नेतालाई आगामी पन्ध्र दिनको लागि अनुसन्धानको लागि नजरबन्दमा राख्ने अनुमतिको लागि आग्रह गरेको छ ।
अदालतले यो अवधिमा प्रत्यक्षदर्शीहरूसँग सोधपुछ, प्रमाण जुटाउन र आवश्यक कानुनी परामर्शको लागि समय मागेको बताइएको छ ।
यद्यपि म्यानमारका सेना र प्रहरीले यस विषयमा कुनै पनि आधिकारिक वक्तव्य जारी गरेको छैन ।
एनएलडीले बुधबार सामाजिक सञ्जालमार्फत एउटा वक्तव्य सार्वजनिक गर्दै गिरफ्तार गरिएका नेताहरूलाई रिहा गर्न, सन् २०२० को चुनावको नतिजा स्वीकार गर्न र तेस्रो संसद् बैठक बस्न कुनै पनि अवरोध नगर्न माग गरिएको छ ।
म्यानमारका सेनाले गत सोमबार राति राष्ट्रपति र स्टेट काउन्सलरलाई नजरबन्दमा राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *