भर्खरै :

त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ

काठमाडौँ, २७ माघ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिकरूपमा सञ्चालन गर्ने भएको छ ।
कोभिड–१९ को कारणले भौतिकरूपमा उपस्थिति नभई रोकिएको पढाइ फागुन अन्तिम सातादेखि सुरु गर्ने त्रिविका रजिष्ट्रार प्रा. डा. पेशल दाहालले जानकारी दिनुभयो । उहाँले कोभिड–१९ सामान्य भइसकेकाले भौतिकरूपमा विद्यार्थी उपस्थित गरेर कक्षा सञ्चालन गर्न थालिएको बताउनुभयो । कोभिड–१९ पछि त्रिविले भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्दै आइरहेको थियो । त्रिविले कोभिड–१९ को कारणले यस वर्ष तीन महिनापछि मात्र कक्षा सञ्चालन गर्न थालेको हो । उहाँका अनुसार केही क्याम्पसले स्थानीय तहको स्वीकृत लिएर पहिल्यैदेखि नै पठनपाठन सुरु गरिसकेका छन् ।
“कोभिड–१९ को कारणले हामीले तीन महिनापछि मात्र कक्षा सञ्चालन गर्न थालेका हौँ” उहाँले भन्नुभयो । त्रिविले पढाइ सञ्चालनका लागि अहिले प्रवेश परीक्षा लिइरहेको छ ।
उहाँले बन्दाबन्दीले रोकिएका परीक्षा धमाधम लिँदै र नतिजा प्रकाशनको काम भइरहेको जानकारी दिनुभयो । “मङ्सिरदेखि अहिले पनि परीक्षा सञ्चालन भइरहेका छन्”, उहाँले भन्नुभयो । कोभिड–१९ को कारणले गत चैतदेखि स्थगित त्रिविको परीक्षा गत मङ्सिरदेखि सञ्चालन भएको थियो । त्रिविअन्तर्गत देशभरि एक हजार १२४ क्याम्पस छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *