के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
मङ्गलबार केपी ओली समर्थित युवा सङ्घ नेपालको भेलामा भएको हुलहुज्जत शासक दलका नेताहरूले रोपेको विषवृक्षको झाङ्गिएको रूपमात्र हो । नेकपाको विभाजनपछि युवा सङ्घको अध्यक्ष फेर्न भएको भेलामा नेतृत्व र पदको लागि भाँचकुच र हात हालाहाल भएको थियो । द्वन्द्वबीच सम्पन्न भएको भेलामा आफ्ना मान्छे नसमेटिएको भन्दै रामबहादुर थापा (बादल) समर्थित युवाहरूले भेला बहिष्कार गरेका थिए । युवा सङ्घभित्रको यो झगडाको कारण ओली समूहभित्र विभाजन आउनेसम्म विश्लेषण गरिएको छ । युवाहरूबीचको यो झगडाको नेकपाको झगडामा कस्तो प्रभाव पार्ने हो, त्यो भविष्यमा प्रस्ट हुँदै जानेछ । तर, यसले नेपाली युवाहरूको मनोदशा र भविष्यको राजनीतिक नेतृत्वप्रति केही महत्वपूर्ण सङ्केत गरेको छ ।
आजको युवा नेतृत्व नै भोलिको मूल राजनीतिक नेतृत्व हो । भोलिको नेपालको राजनीतिक नेतृत्व कस्तो हुने हो भन्ने कुराको निक्र्योल आजका युवाहरूका सोच र गतिविधिबाट सहजै अनुमान गर्न सकिन्छ । युवाहरूबीच शिष्ट भाषामा वैचारिक बहस होइन, कसले के पद पाउने भन्ने विषयमा कुटपिट र भाँचकुँच हुनुले देशको भावी राजनीतिक भविष्य अझ कहालीलाग्दो देखिन्छ ।
युवा सङ्घ, नेपालभित्रको पदको झगडा शासक दलहरूले मलजल गरिरहेको राजनीतिको अपराधीकरणको अभिव्यक्तिमात्र हो । राजनीतिलाई अपराध र अपराधलाई राजनीतिबाट मिसमास गरेर राजनीतिक संस्कृतिलाई विकृत बनाउने यस्ता गलत अभ्यासले देशलाई प्रगतिको बाटोमा कदापि लान सक्दैन । वैचारिकरूपमा टाट पल्टेका युवाहरूले राजनीतिलाई अपराधीकरण नै गर्ने हुन् । विचारको कुरा पाखा लागेपछि धन, डन र पद–पैसाकै कुरा हुने हो । तत्कालीनरूपमा शासक नेताहरूले आफूलाई फाइदा भएको अनुभव गरे पनि दीर्घकालीनरूपमा यसले देशलाई र उनीहरूलाई नै कमजोर बनाइरहेको हुन्छ ।
त्यसो त शासक दलका युवा सङ्गठनहरू गुण्डागर्दी र डनगिरीबाट सञ्चालन हुने गरेको कुरा धेरै घटनाले पुष्टि भइसकेको छ । देशका कुख्यात गुण्डा र अपराधीलाई शासक दलका युवा सङ्गठनहरूले संरक्षण दिने गरेको र निर्वाचनमा तिनै गुण्डाहरू परिचालन गरी शासक दलका नेताहरूले जित्ने गरेको घामजत्तिकै छर्लङ्ग कुरा हो । राजनीतिक संरक्षण प्राप्त ती अपराधीहरूले कानुनको खिल्ली उडाउँदै अपराध कर्म गरिरहेका हुन्छन् । उनीहरूको लागि राजनीतिक सङ्गठनमा आबद्ध हुनुको अर्थ अपराधबापत कानुनले दिने सजायबाट उन्मुक्त हुनु हो । यस्ता अपराधीहरूले भरिएका शासक दलका युवा सङ्गठनहरू वास्तवमा गुण्डागर्दीको थलो बनेका छन् । तिनमा राजनीतिक विचारधारा, अध्ययन र प्रशिक्षणको कुनै माने हुने गर्दैन । त्यहाँ सबभन्दा बढी गुण्डा हातमा भएको व्यक्ति नै नेतामा गनिन्छ । चुनाव जित्न मद्दत गर्ने भएकोले राजनीतिक दलका नेताहरूले पनि त्यस्तो सङ्गठनलाई आडभरोसा दिइरहेका हुन्छन् । शासक दलभित्रमा हुर्काइएको यो आपराधिक विकृतिले देशको राजनीतिक संस्कृति भने क्षीण बन्दै गएको देखिन्छ ।
राजनीति विचार र सिद्धान्तको प्रतिस्पर्धाभन्दा धन र डनको प्रतिस्पर्धा बन्दै गएको छ । न त काङ्ग्रेसका युवाहरूबीच प्रजातान्त्रिक समाजवादको विषयमा छलफल र बहस हुने गर्दछ, न कम्युनिस्ट भनिएका शासक दलहरूभित्र माक्र्सवाद–लेनिनवादकै कुरा हुने गरेको छ । युवा सङ्गठन नै नाफा–नोक्सानको हिसाब किताबमा चल्ने गरेको छ । नेताहरूले आफ्ना व्यक्तिगत र गुटगत स्वार्थको लागि सिस्नु रोपे, त्यसबाट तुल्सी उम्रन सम्भव थिएन ।
युवा सङ्घ, नेपालभित्रको पदको झगडा शासक दलहरूले मलजल गरिरहेको राजनीतिको अपराधीकरणको अभिव्यक्तिमात्र हो । राजनीतिलाई अपराध र अपराधलाई राजनीतिबाट मिसमास गरेर राजनीतिक संस्कृतिलाई विकृत बनाउने यस्ता गलत अभ्यासले देशलाई प्रगतिको बाटोमा कदापि लान सक्दैन । वैचारिकरूपमा टाट पल्टेका युवाहरूले राजनीतिलाई अपराधीकरण नै गर्ने हुन् । विचारको कुरा पाखा लागेपछि धन, डन र पद–पैसाकै कुरा हुने हो । तत्कालीनरूपमा शासक नेताहरूले आफूलाई फाइदा भएको अनुभव गरे पनि दीर्घकालीनरूपमा यसले देशलाई र उनीहरूलाई नै कमजोर बनाइरहेको हुन्छ । यो यथार्थबारे समयमै सचेत बन्न जरूरी छ । आज आफ्नो निर्देशनमा अरूमाथि हमला गर्ने पाखुराहरूले भोलि सानो लोभमा अरूको निर्देशनमा आफूमाथि पनि घात गर्नसक्ने सम्भावनालाई शासकहरूले समयमै बुझ्न जरूरी छ ।
Leave a Reply