भर्खरै :

वसन्त पञ्चमीको सान्दर्भिकता

वसन्त पञ्चमीको रूपमा धुमधामसँग मनाइने यो पर्व सरस्वती पूजाको नामले पनि चिनिन्छ । ऋतु चक्रमा वसन्त ऋतु चैत र वैशाख महिनामा पर्ने भए पनि माघ शुक्ल पञ्चमीदेखि ऋतुराज वसन्तको सुरुवात मानिन्छ । अर्थात्, सूर्यको परिक्रमाको दृष्टिले माघ महिनाको यसै दिनदेखि सूर्य दक्षिणायनबाट उत्तरायणतर्फ लाग्ने सूचकको रूपमा लिइन्छ । आजको शृङ्गारिक दुनियाँमा प्रेम र सुखको उपास एवम् बहुआकाङ्क्षी तन्नेरी–तरुनीहरूलाई यो दिनको महिमा र गरिमा वृद्धि हुँदै गएको छ । किनकि, प्राचीनकालदेखि वसन्त ऋतुसँग मानव हृदयको गहिरो अन्तर्सम्बन्ध निहित छ । कामदेखिको प्यारो वसन्त ऋतुको महत्व दिनानुदिन युवा पिँढीमा बढ्दो छ । चन्द्रमासमा आधारित यो पर्वलाई वसन्त पञ्चमीको नामले चिनिन्छ । अज्ञानताबाट ज्ञानतर्फ, अँध्यारोबाट उज्यालोतर्फ स्थानान्तर गर्ने यो पर्वलाई स्वस्थानी पूजा वा श्रीपञ्चमी पनि भनिन्छ ।
बेलाबखतमा आइरहने चाडपर्वले धार्मिक, सांस्कृतिक र मनोरञ्जनात्मक उल्लास–उमङ्ग जागृत गर्छन् । अहोरात्र, देवताको पूजा गरेर जातीय, सामाजिक परिवेशअनुसार मान्यजनसँग भेटघाट, घुलमिल हुने, आ–आफ्नो औकातमुताबिक अधिकत्तम खुसियाली मनाउने, सुख–दुःख साट्ने, मठ–मन्दिरमा पूजा गर्ने, गीत–वात, नाच–गान गरेर आफ्ना सक्कली पहिचान, संस्कृति र परम्परा झल्काउने मीठो–मसिनो खाने, छोरीचेली पाहुनासँग आत्मीयता अभिवृद्धि गर्दै रीतिरिवाज, प्रचलनलाई जीवन्त राख्दै नवपुस्तालाई हस्तान्तरण गर्नु अपरिहार्य अवसर देखिन्छ ।
वसन्त ऋतु नपरे पनि माघ शुक्ल पञ्चमीको दिनलाई वसन्त पञ्चमी भन्नुको तात्पर्य वसन्त पञ्चमीको ठीक ४० दिनपछि आउने पहाड, उपत्यका, सहर बजार र तराईमा अबिर, रङ दलेर मनाइने फागुपूर्णिमा पर्व पर्नुले नै हो । काठमाडौँको वसन्तपुरमा यसैदिन हनुमानढोका दरबारको ‘नासल चोक’ मा राष्ट्रपति वा राष्ट्राध्यक्षको समुपस्थितिमा मूल पुरोहितहरूले ‘गीतगोविन्द’ भन्ने कृतिको दोस्रो अध्याय ‘वसन्त श्रवण’ गर्ने तथा ‘वासन्तिक राग’ अलाप्ने प्रचलन रहिआएको छ । नेपालजस्तो परापूर्वकालदेखि चलिआएको कृषिप्रधान देशमा कृषकहरूको लागि यो पर्वको विशेषता पृथक छ । काँक्रो, घिरौलो, करेलो, चिचिन्डो, फर्सि, बोडी, खुर्सानी, सिमी आदि बीउबिजन यही दिनमा बिजारोपण गर्छन् । वसन्त पञ्चमीको आगमनसँगै सुन्तला, आरु, भोगटे, निबुवा, सुन्तला, कमला, एमोकार्डाे, आँप आदि फुलेर नवपल्लव लाग्नुको साथै चराचुरुङ्गीको मधुर गुञ्जनले ‘वासन्ति याम’ को आभाष हुन्छ । वनजङ्गलका बुढा, घोघ्रा वृक्षहरूमा पनि पालुवा लागेर मुजुरा पलाउने र वृद्धवृद्धाहरूले पनि आफ्नो यौवनावस्थाको ‘मीठो पल’ को स्मरण गर्ने अलौकिक बेला हो यो ।
सरस्वती पूजाको आध्यात्मिक महत्व ठूलो छ । सरस्वतीलाई विवेक, विद्या, बुद्धि वा वाणीकी अधिष्ठात्री देवीको रुपमा श्रद्धा गरिन्छ । सरस्वती माइलाई आदरभावले स्मरण गर्दै पूजाअर्चना गरिन्छ । ज्ञानका उपासक तथा विद्याका साधकहरू उत्साहित भएर यो दिनमा सहभागी हुन्छन् । काठमाडौँ उपत्यकामा यो पर्वमा सबैभन्दा भीडभाड हुने स्थान हो – स्वयम्भूपछिल्तिरको मञ्जुश्रीको मन्दिर जहाँ प्रातः कालदेखि सरस्वतीको पूजा र भक्तिभाव गर्नेहरूको ठूलो घुइँचो लाग्छ । राजधानीलगायत मैतीदेवी तथा देशका विभिन्न ठाउँमा अवस्थित सरस्वती स्थानहरूमा बालबालिका र किशोरकिशोरी, विद्यार्थी वर्गहरूको हर्षाेल्लासको साथ सरस्वती देवीको दर्शन गर्न, अनुशासित र विचार, बुद्धि प्राप्त गर्ने उत्सुकताका साथ लामबद्ध हुन्छन् । सरस्वती पूजाको दिन विद्यालय तथा महाविद्यालयजस्ता ज्ञान मन्दिरहरू सरस्वतीको तस्बिर वा मूर्ति अगाडि राखेर भव्यपूर्वक धूप, दीप, नैवेद्य चढाई विद्या, बुद्धि मागेर दर्शन गर्छन् । मीन–पचासको छुट्टी मनाइरहेका बन्द विद्यालयका विद्यार्थीहरू आ–आफ्ना घरमा परिवारजन एवम् अभिभावकहरूसँग सरस्वती माताको मन्दिरमा गएर सभक्तिभाव चढाउँछन्, पूजा गरेर विद्यामिलाषीहरू तथा ज्ञानपिपासुहरू सरस्वतीको पाउमा परेर पढ्न आऊन् र तीक्ष्ण बुद्धिको लागि अनुनय विनय गर्छन् । स्वयम्भूनाथ परिसरमा रहेको ऐतिहासिक बुद्धधर्मावलम्बीहरूको पवित्र तीर्थधाम, हिन्दू र बौद्ध धर्मावलम्बी दुवैको लागि आस्थाको ‘नमुना’ बनेको छ र यो नै धार्मिक सहिष्णुताको ज्वलन्त ‘प्रतीक’ हो । विश्वकै पुरानो ऋग्वेदमा ‘आमा, देवी तथा नदीहरूमा श्रेष्ठ हे आमा सरस्वती, हामीलाई विशिष्टता देऊ भनी आराधना गरिएको पाइन्छ । त्यस्तै, ‘यश र ऐश्वर्य † वाणी, ज्ञान र विद्या प्राप्त होस् भनी सरस्वतीलाई यशोभूगिनी र कीर्तिप्रदायकको रूपमा मानिएको कुरा यर्जुवेदमा उल्लेख भएको पाइन्छ । विद्याको शक्तिको महत्वलाई यसरी वर्णन गरिएको छ ः
विद्या ददाति विनयम् विनयात् याति पात्रताम्
पात्रत्वात् धनमाप्नोति धनादधर्म ततः सुखम् ।
अर्थात्, विद्याबाटै विनयशिलता प्राप्त भई यसले व्यक्तित्व उज्ज्वल भई धन प्राप्ति भई जीवन सुखमय हुन्छ भनिएको छ ।
वसन्त पञ्चमीलाई श्रीपञ्चमी पनि भनिन्छ । ‘श्री’ भन्नाले ‘श्री सम्पत्ति’ अर्थात् लक्ष्मीलाई जनाउँछ । यो दिन सरस्वती पूजाको अतिरिक्त आर्थिक कारोबारको सुरुवात गर्ने पहिलो दिन पनि हो । पुरानो जमानामा बैङ्क, वित्तीय संस्था गाउँ–ठाउँमा सहज नहुँदा ऋण लिनेदिने गरेर घर व्यवहार सञ्चालन गरिन्थ्यो । कुनै ठाउँमा मङ्सिर १५, पुस १५ र फागुन १५ हुन्थ्यो भने श्री पञ्चमीको भाकामा थैली, सावाँ ब्याज चुक्ता गरी ऋण मुक्त हुने तीथि–मिति मानिन्थ्यो ।
अन्त्यमा, कैयौँ ग्रन्थ एवम् पुराणमा सरस्वती वन्दना उल्लेख छ । कैयौँ ऋषिमुनि र काव्य साधकहरूले सरस्वतीलाई विद्या प्रदायनी भनी स्तुति गरेको पाइन्छ । यस अवसरमा सरस्वतीलाई गरिने पूजा–अर्चनाले मानवलाई अहिंसा, स्नेह, शान्ति प्रदान गरी मनुष्य जगतलाई निष्ठावान र नैतिकता प्रदान गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *