भर्खरै :

के सरकारको विरोध गर्नु देशको विरोध गर्नु हो ?

भारतमा अहिले भारतीय जनता पार्टी (भूतपूर्व जन सङ्घ) को विरोध गर्नुलाई भारत र भारतीय जनताको विरोधको रूपमा भाजपाका प्रचार माध्यमहरूले बारम्बार ढ्याङ्ग्रो पिट्दै छन् । हिटलरका प्रचारमन्त्री गोयबल्सले सय चोटि भनेपछि झूट पनि साँचो हुन्छ भनेजस्तै । यस सूत्रलाई नेपालकै परिप्रेक्षमा हेर्दा के राणाहरू र राणा शासनको विरोध गर्नु नेपालको विरोध गर्नु हो ? त्यस्तै भारतसँग कोसी र गण्डकको असमान सन्धि गर्ने नेपाली काङ्ग्रेसको विरोध गर्नु के देशकै विरोध गर्नु हो ? के पञ्चायती व्यवस्था र राजतन्त्रको विरोध गर्नु देशकै विरोध गर्नु हो ? सत्य त्यस्तै हो भने पञ्चायती व्यवस्था र राजतन्त्र पनि गयो, त के नेपाल पनि गयो ? भारतको निर्देशन र सहयोगमा नेपालमा विध्वंस मच्चाउने प्रचण्ड र बाबुरामको उपद्रव अनि एमाओवादीको सरकारको विरोध गर्नु के नेपालकै विरोध गर्नु हो ? पटक–पटकको मनमोहन, माधव नेपाल, झलनाथ खनाल र केपी ओलीको सरकारको विरोध गर्नु के नेपाल र नेपाली जनताको विरोध गर्नु हो ?
अवश्य होइन ! सरकारको विरोध गर्नु भनेको तत्तत् सरकारको नीतिको विरोध गर्नु हो, त्यस सरकारले गर्न नसकेको शान्ति–सुरक्षाको जिम्मेवारी लिने सरकारी अङ्गको काम कारबाही र जिम्मेवार व्यक्तिहरूको निकम्मापन, अयोग्यता एवम् कर्तव्यच्युत प्रवृत्तिको विरोध गर्नु हो । भ्रष्टाचार, निर्माणका योजनाहरूको नक्कली काम, सत्तामा बसेको व्यक्तिले देश र जनताको व्यापक हित नहेरी आफ्नै जिल्ला, प्रदेश, गाउँ र नगरमात्रै हेर्नु, आफ्नै जात र नाता–गोता, आफ्नै भाषा–भाषी र दलका व्यक्तिहरूलाई प्राथमिकता दिने पक्षपातको विरोध गर्नु हो । साथै शिक्षा, स्वास्थ्य, उद्योग, कृषि, यातायात, परराष्ट्र आदि गलत नीतिको विरोध गर्नु हो । त्यसलाई देश र जनताको विरोध ग¥यो भन्नु पूर्ण दोषपूर्ण हुन्छ । किनभने, सरकार नरहे पनि देश र जनता त रहिरहन्छ ।
त्यस्तै, कुनै सरकारको विरोध गर्दैमा राष्ट्रको विरोध ग¥यो भन्नु पनि उत्तिकै दोषपूर्ण छ । के भारतको मोदी सरकारको विरोध गर्नु भारत र भारतीय राष्ट्र वा राष्ट्रियताको विरोध गर्नु हुन्छ ? आजको भाजपाको प्रचार माध्यमले भाजपा सरकारको विरोधलाई नै भारत र भारतीय राष्ट्रियताको विरोधको रूपमा लिनु अत्यन्त दोषपूर्ण र अज्ञानता हुन्छ । किनभने, जन सङ्घ (भाजपा) ले भारतीय राष्ट्रिय काङ्ग्रेस सरकारको बारम्बार विरोध गर्दै आएको सर्वविदित्त छ । के भाजपाले पनि भारत (देश) र भारतीय राष्ट्रकै विरोध गरेको थियो ? यसको उत्तर भाजपा, प्रचारयन्त्र र सरकारले कसरी दिन्छ ?
फेरि भारत आफै विभिन्न राष्ट्र र राष्ट्रियताहरूको देश हो । अर्को शब्दमा भारत विभिन्न जात–जाति, भाषा–भाषी, धर्म र संस्कृतिको देश हो । भाजपा सरकारले भन्दै आएको भारतको राष्ट्र र राष्ट्रियताको अर्थ के हो ? के भारत कुनै एउटा ‘बहुमत’ धर्म वा जातिको मात्रै देश हो ? कदापि होइन, भारत हिन्दुहरूको मात्र देश होइन, मुसलमानहरूको पनि देश हो, सबभन्दा बढी दलितहरूको देश हो । भारत ३० करोड मुसलमान र २०–२२ करोड दलीतहरूको देश हो अर्थात् करोडौँ करोड अन्य धर्म, जात र राष्ट्रियताको देश हो ।
आलोचनात्मक ढङ्गले हेर्दा भारत आज संसारको सबभन्दा पहिलो बेलायती र अमेरिकी साम्राज्यवादको पिछलग्गू देश हो । किनभने, २ सय वर्षसम्म शासन गर्ने शत्रु बेलायती शासन र संसारको झन्डै २ सय देश र ठाउँमा सैनिक अड्डा जमाई आक्रमण गर्ने अमेरिकी सामाज्यवादको तेस्रो विश्वविरोधी सरकारको हवल्दार हो, भारत । त्यसो भए के संसारका सबै जनता भारत सरकारका विरोधी हुन् ?
श्रीलङ्का र नेपालमा … विस्तार गर्नुपर्छ–अमित शाह
अमित शाह भारतका गृहमन्त्री हुन् । सन् २०१८ मा उनी भारतको दक्षिणपन्थी राजनैतिक दल भारतीय जनता पार्टीका अध्यक्ष थिए । त्रिपुराका मुख्यमन्त्री विप्लव देवले अध्यक्ष अमित शाहले त्रिपुरा भ्रमणमा एक गेस्ट हाउसमा कुराकानीको क्रममा “श्रीलङ्का र नेपालमा सरकार बनाउन अझै बाँकी छ । हाम्रो पार्टीलाई श्रीलङ्का र नेपालमा विस्तार गर्नुपर्छ र त्यहाँ पनि सरकार बनाउनुपर्छ” भनी बताएको उल्लेख गरेका थिए ।
कुराको सिलसिलामा तत्कालीन भाजपा सरकारका महासचिव अजय जयसवालले पनि भारतका सबैजसो राज्यमा सरकार बनाएको प्रसङ्गमा अमित शाहले ‘नेपाल, बङ्गलादेश र श्रीलङ्कामा सरकार गठन गर्ने मिसन’ भएको बताएको उल्लेख गरेका थिए । त्रिपुराका मुख्यमन्त्री विप्लव देवले दिएको वक्तव्यको टिप्पणी त्रिपुराका भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का नेता तथा पूर्वसांसद जितेन्द्र चौधरीले गरेका थिए । चौधरीले भने, “मुख्यमन्त्री देवमा संविधान, लोकतन्त्र र संवैधानिक क्षेत्राधिकारबारे ज्ञान रहेनछ ! … यसको अर्थ उनीहरूले अर्को देशको मामिलामा हस्तक्षेप गरिरहेका हुनेछन् ।” (नयाँ पत्रिका– ४ फागुन २०७७)
अमित शाह भाजपाका अध्यक्षसमेत भइसकेका र आज भारतको गृहमन्त्रालय हाँकिरहेका हुनाले छिमेकी स–साना देशहरूलाई भारतमा मिलाउने उद्देश्यले आफ्नो गुप्तचर विभागलाई सक्रिय बनाएका होलान् । भारतको राष्ट्रिय स्वयम्सेवक सङ्घको शैलीमा २५ माघमा हिन्दू स्वयम्सेवक सङ्घको झन्डामा वीरगञ्जमा निकालिएको एक ¥याली यसको एक प्रमाण हुनसक्छ । समाचारमा बताइएअनुसार त्यस्ता राष्ट्रिय स्वयम्सेवक सङ्घ (आरएसएस) को प्रदर्शन काठमाडौँ र नेपालका अन्य जिल्लाहरूमा पनि भइरहेका छन् ।
एक वर्षदेखि नै भारतका भारतीय स्वयम्सेवक सङ्घले नेपाली काङ्ग्रेसका १४ हजार सदस्यमध्ये ९ हजारलाई हातमा लिइसकेको सुन्नमा आएको थियो । केही वर्षअगाडि भारतीय स्वयम्सेवक सङ्घका युवाहरूको पोशाक र हिटलर एवम् मुसोलिनीका युवाहरूको पोशाक र विचार एउटै हो भन्नेबारे चिन्ता व्यक्त गर्दै थिए– विश्व विद्यालयका प्राध्यापकहरू !
नेहरूले आफ्नो ‘विश्व इतिहासको रूपरेखा’ भन्ने रचनामा स–साना देशको अस्तित्व राज्यको रूपमा नरही राष्ट्रको रूपमा मात्र रहनेछ भनी उल्लेख गरेका छन् ।
यो नेहरूको दर्शन हो, भारतीय राष्ट्रिय काङ्ग्रेसको दर्शन हो, त्यही दर्शन भारतीय जनता पार्टीको पनि हो ।
तर, ‘राष्ट्र’ को अर्थ एउटै धर्म, भाषा वा संस्कृतिको देश भन्ने हुन्छ । पहिलो र दोस्रो विश्वयुद्धले कति देश बिलाए, बने र कति अन्य देशको अङ्ग भए । अर्थात्, कुनै हात–हतियारको विश्वयुद्ध नभई अर्थात् शीतयुद्धले संसारको सबभन्दा विशाल देश सोभियत सङ्घ १५–१६ टुक्रामा विभाजित भयो । बेलायत, फ्रान्स, जर्मनी र स्पेनजस्ता संसारलाई शासन गर्ने साम्राज्यवादी देशहरू आ–आफ्नै आन्तरिक परिस्थितिको कारण आर्थिक, जातीय, क्षेत्रीय र उपनिवेशवादको दुष्परिणामबाट थलिँदै छन् । संरा अमेरिका विश्वका अन्य कमजोर देशहरूमा कब्जा जमाउन मित्रताको नाममा छिमेकी देशहरूलाई अत्याधुनिक हात–हतियार बेच्दै रगत बगाउन दिँदै आतङ्कवाद निर्मूल गर्ने नाउँमा विश्वमै आतङ्क फैलाउँदै छ । तर भित्रभित्रै भेदभाव र जर्ज फ्लोयडको काण्डले राष्ट्रपति ट्रम्पसमेत ह्वाइट हाउसमा लुक्न गए । आखिर बाइबलको बलमा समस्याको अस्थायी समाधान भयो । समयले सत्य बताउनेछ – संरा अमेरिका आफैँ एक दिन आजको रूपमा रहनेछैन ।
त्यस्तै, भारतीय जनता पार्टी अमित शाह वा नरेन्द्र मोदीजस्ता विस्तारवादी एवम् फासीवादीहरूको हिटलर, मुसोलिनी र ट्रम्पजस्ता विश्वमा आतङ्क एवम् विध्वंस मच्चाउनेहरूको जस्तै दुःखद अन्त हुने निश्चित छ । जनद्रोही, छिमेकीद्रोही र विश्वकै शान्ति खलबलाउने युद्धपिपासुहरूको सुखद अन्त हुँदैन । हिन्दू धर्मअनुसार दुर्योधन, कंश र रावणकै मृत्युवरण गर्नेछन् । त्यसपछि भारतमा नयाँ स्वर्णयुगको उदय हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *