भर्खरै :

जलस्रोतको धनी देशमा पानीको हाहाकार

हिउँद सकिँदै छ । गर्मीयाम सुरु भएको छ । यसपालि जाडो याममा चिसोको प्रभाव औसतभन्दा कम रहेको मौसमविद्हरूले जनाएका छन् । हुन पनि हो, पहिले पहिले धेरै चिसो हुने गर्दथ्यो । यसपालि त्यति धेरै चिसोको अनुभव गर्नु परेन । विगतको वर्षहरूको तुलनामा यस वर्षको हिउँदको तापक्रम औसतभन्दा बढी नै रहेको छ । यस वर्ष औसतभन्दा बढी नै सुख्खा हुने मौसमविद्हरूले जनाएका छन् ।
हिउँदमा पानी परेपछि मात्र गर्मी बढ्ने भन्ने गर्दथ्यो । तर, यसपालि हिउँदमा पानी परेन । फाटफुटमात्र प¥यो । मौसम ढिलो भएकोले ढिलै हुने हो कि या नपर्ने नै हो मौसमबारे भन्न सकिन्न । भन्ने गरिन्छ, मौसम र प्रेमको भर हुँदैन । तुरून्तै पर्न पनि सक्छ ।
पानी नपर्दा गर्मी र पानीको हाहाकार हुने सम्भावना बढेको छ । गर्मी याम सुरु भयो कि काठमाडौँवासीहरूमा पानीको चिन्ता बढी हुन्छ । धारामा पानी आउँदैन । यताउति दौड्नुपर्छ । सधँै किनेर खान सक्ने स्थिति पनि छैन । धाराको विकल्प नहुँदा गर्मीयाममा पानीको हाहाकार हुनु काठमाडाँैवासीको दशकौँदेखिको व्यथा हो ।
पहिले पहिले इनारमा पानी थियो । ढुङ्गेधारामा पानी आउँथ्यो । अहिले त इनार छ पानी छैन । ढुङ्गेधारा छ पानी आउँदैन । मानिसको अनियन्त्रित बस्ती, कलकारखाना र बाटोघाटो साथै आफ्नो घर आँगन चोकमा सिमेन्ट र ढुङ्गा बिछ्याइ दिँदा आकासे पानी जमिनभित्र जान पाएन । सीधै नहर भएर खोलामा जान्छ । जमिनमा पानी सोस्न नपाउँदा जमिनमा पानीको सतह सुक्दै गएको छ र पानीको स्रोत पनि सुक्दै गएको छ ।
पानीबिना कोही बाँच्न सक्दैन । न त मानिस बाँच्न सकिन्छ न त जीव जन्तु नै । मानिसको हरपलमा पानीको आवश्यकता पर्दछ । खाना बनाउनदेखि भाँडावर्तन माझ्न, तीर्खा लाग्दा खानदेखि लुगा धुन र सरसफाइ गर्न पानी नभई हुँदैन । विश्व स्वास्थ्य संस्थाको प्रतिवेदनअनुसार मानिसको आधारभूत आवश्यकता पूर्ति गरी स्वस्थ रहन प्रत्येक व्यक्तिलाई दैनिक पचासदेखि सय लिटर पानी आवश्यकता पर्छ । हाल काठमाडाँै उपत्यकामा ४५ लाख जनसङ्ख्या रहेको अनुमान छ । त्यति जनसङ्ख्याको लागि दैनिक ५० करोड लिटर पानी आवश्यकता पर्छ । तर, खानेपानी संस्थान केयूकेएलले शिवपुरी र नार्गाजुन पहाड, गोदावरी र उपत्यकाका खोलानालाबाट दीप बोरिङ्ग गर्दै हिउँदमा दैनिक १७ करोड लिटरमात्र पानी उपलब्ध गर्न सकेको छ भने गर्मीयाममा सुख्खाका कारण पाँच छ दिन बिराएर आलोपालो गरी नौ करोड लिटरमात्र पानी वितरण गर्न सकेको जनाएको छ । नपुग पानी जनता आफै आफ्नो घर आँगनमा बोरिङ्ग गरी समस्या तार्दै आएका छन् भने कोही ट्याङ्कर र जारको पानी किनेर खाइरहेका छन् । दशकौँदेखिको यो समस्या अहिले पनि ज्यूँका त्यूँ छ । तैपनि, जनता चुप छन् । सरकार मौन छ ।
काकाकुल उपत्यकावासीको पानीको समस्या समाधान गर्ने एकमात्र उपाय चाँडै मेलम्ची खानेपानी ल्याएर वितरण गर्नु हो । २०५८ सालमा सुरु भएको यो आयोजना छ वर्षमा सक्ने लक्ष्य थियो । आयोजनाले पहिलो चरणमा १७ करोड लिटर र दोस्रो चरणमा याग्री र लार्के खोलाको पानी मिसाएर २०७५ सालमा पूरा गरी ५१ करोड लिटर पानी काठमाडाँैमा ल्याउने योजना थियो । २०५१ सालको मध्यावधि चुनावमा काठमाडौँबाट उठेका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनाव जितेर काठमाडाँैको सडक मेलम्चीको पानीले पखाल्ने भनी गरेको वाचादेखि मेलम्ची खोलाबाट धेरै पानी बगिसकेको छ, देशमा धेरै सरकार बनिसकेको छ तर पनि मेलम्ची काठमाडौँ उपत्यकाका जनताको लागि एउटा सपनामात्र भइरहेको छ । सपना देख्न अझै छोडेका छैनन् काठमाडौँवासीहरू । किनकि, प्रत्येक चुनावमा सरकारमा जाने पार्टीहरूले मेलम्चीको पानी खुवाउने प्रतिबद्धता व्यक्त गर्न छोडेका छैनन् । गएको चुनावमा पनि सुख र समृद्धिको नारा दिने सरकारले मेलम्चीको पानी ६ महिनाभित्र ल्याइदिने वाचा गरेका थिए । कहिले दशँैमा ल्याइदिने प्रतिबद्धता व्यक्त गरेका थिए । यस्ता धेरै बाचा र प्रतिबद्धताहरू सुनिसके काठमाडाँैवासीले । तर, वाचा र प्रतिबद्धताअनुसार काम भएन । २५ वर्ष बितिसक्दा पनि मेलम्चीको पानी कहिले आउने थाहा भएन ।
काठमाडाँैका अधिकांश जनताले उपभोग गर्ने पानी भनेकै बोरिङ्गको पानी हो । घरघरमा बोरिङ छ । बोरिङ्गको पानी खान बाध्य छ काठमाडौँवासी । बोरिङ्गले जमिनमुनिको पानीको सतह कम भइसकेको छ । पानी नआएर एकपछि अर्को दीप बोरिङ्ग गर्न परिरहेका छन् । बोरिङ्ग गर्दा पनि पानी नआएर कति मानिस चिन्तित छन् । तिनीहरूले पानीको सङ्कट कसरी तार्दै होलान् ? यो चिन्ताको विषय हुनुपर्दछ । किनकि पानी नभई हुँदैन ।
जमिनमुनि पानीको सतह कम भएर विज्ञहरू चिन्तित छन् । पीडा, सङ्कट र महामारी भनेको राम्रो कुरा होइन । पीडा चाहे गरिबका हुन् चाहे साहु धनी र मन्त्री नेताकै किन नहुन् पीडा पीडा नै हो । त्यसले सबैलाई दुखाउँछ । पानीको सङ्कट तार्ने एउटैमात्र उपाय मेलम्ची हो । यसलाई ढिलाइ नगरौँ । मेलम्ची आयोजना सुरु भएको २५ वर्ष भयो, अहिलेसम्म किन बन्न सकेन ? किन यति धेरै ढिलो भयो ? यस विषयमा गम्भीरता नहुनु पक्कै पनि राम्रो होइन । यस्तै रहे कुनै बेला काठमाडाँै भारतको चेन्नई र पाकिस्तानको लाहोरको जस्तो जल सङ्कट नआउला भन्न सक्ने स्थिति छैन । जलस्रोतको धनी देशमा पानीको हाहाकार हुनु र सङ्कटमा पर्नु विडम्बना हो । त्यसैले बेलैमा ध्यान पु¥याउनु जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *