भर्खरै :

प्रदेश नं. १ मा अविश्वासको प्रस्ताव पेश

मोरङ, ९ फागुन (रासस) । प्रदेश नं १ को प्रदेशसभाको आइतबार सञ्चालन भएको सातौँ तथा हिउँदे अधिवेशनमा प्रदेश सरकारविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश भएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा सदस्य एवं अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङवोलाई नेपालको संविधानको धारा १८८ (४४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेशका मुख्यमन्त्री शेरधन राईविरूद्धको अविश्वासको प्रस्ताव नियम १२९ (४) बमोजिम सदनमा पेश गर्ने अनुमति दिनुभएको थियो ।
आइतबार अपराह्न २ बजे बोलाइएको बैठक दिनको ३ः५५ बजे सुरू भई करीब ६ मिनेट सञ्चालन भएको थियो । प्रदेशसभाको अर्को बैठक फागुन २० गते दिनको १ बजेसम्मका लागि स्थगित गरिएको सभामुख भण्डारीले सदनसमक्ष जानकारी गराउनुभयो । बैठकमा सरकारका प्रतिनिधि एवं सत्तापक्षका सदस्यहरूको उपस्थिति रहेको थिएन ।
यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले निलम्बित सांसद सदनमा उपस्थित भएसम्म बैठक सञ्चालन गर्न नहुने आफूहरूको अडान रहेको बताउनुभयो । उहाँले संसद्मा देखिएको गतिरोधलाई अन्त्य गरी बैठक सञ्चालनका लागि सभामुखलाई आइतबार लिखित पत्र दिइएको पत्रकारलाई जानकारी दिनुभयो ।
नेकपा दाहाल–नेपाल समूहका प्रदेश इन्चार्ज एवं प्रदेशसभा सदस्य भीम आचार्यले मुख्यमन्त्री राईविरूद्धको अविश्वास प्रस्ताव दर्ता भएको लामो समयसम्म संसद्मा पेश हुन नदिएर सरकारले आफ्नो आयु लम्ब्याएको बताउनुभयो । मुख्यमन्त्री राईविरूद्ध नेकपाका ३७ जना प्रदेशसभा सदस्यले गत पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *