भर्खरै :

शारीरिक हाउभाउमा राजनीति

प्रजातन्त्र दिवसको अवसरमा सहिद मञ्चमा आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको हाउभाउ चर्चामा छ । समारोहको श्रव्यदृश्यमा उपराष्ट्रपति र प्रधानमन्त्रीबीच केही बेर कुराकानी भएको र समारोहबाट उपराष्ट्रपति बिदा हुँदा प्रधानमन्त्रीले उनको नमस्कार पनि नफर्काएको देखिन्छ । सञ्चारमाध्यमअनुसार दुई उच्चपदस्थ व्यक्तित्वबीच पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो । विशेषतः अघिल्लो साता एउटा सार्वजनिक समारोहमा उपराष्ट्रपतिले प्रधानमन्त्रीको संसद् विघटनको कदमविरूद्ध अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिलाई लिएर उपराष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले खेद प्रकट गरेको बताइएको छ । प्रधानमन्त्रीसँगको कुराकानीमा उपराष्ट्रपतिले असहज अनुभव गरेको उनको अनुहारको भावबाट देखिन्थ्यो । पछि समारोहबाट बिदा हुने क्रममा उपराष्ट्रपतिले सबैलाई नमस्कार गर्दा प्रधानमन्त्रीले नमस्कार फर्काएका थिएनन् । अवस्था सामान्य हुँदो हो त यी कुरा त्यत्ति चर्चाको विषय पक्कै हुने थिएन । तर, देशको पछिल्लो राजनीतिक धु्रवीकरणको समयमा यो घटनालाई भित्री द्वन्द्वको अभिव्यक्तिको रूपमा लिइएको छ । पूर्वमाओवादी समूहका नेता उपराष्ट्रपति पुन नेकपाभित्रको राजनीतिक ध्रुवीकरणमा दाहाल–नेपाल खेमातिर लागेको उनले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिबाट प्रस्ट हुन्छ । नेपाल पत्रकार महासङ्घको सार्वजनिक कार्यक्रममा उनले प्रस्टतः यो सङ्केत गरेका छन् ।
सत्तारूढ नेकपाभित्रको विभाजनले यतिबेला सिङ्गो देश नै विभाजित बनेको छ । राष्ट्रपति र उपराष्ट्रपतिजस्ता दलगत राजनीतिबाट अलग ठानिएका संस्थाहरूसमेत विभाजित भएका छन् । यसले देशलाई अझ विभाजनको दलदलमा धकेलेको छ । नेपालको संविधानले राष्ट्रपति र उपराष्ट्रपतिलाई संवैधानिक वा आलङ्कारिक भूमिकाको लागि मात्र परिकल्पना गरेको छ । ती दुवै संस्थाले सरकार चलाउने वा गिराउने खेलबाट आफूलाई अलग राख्नुपर्छ । तर, पछिल्लो विभाजित राजनीतिमा राष्ट्रपति एकातिर र उपराष्ट्रपति अर्कोतिर बाँडिएको जनता अनुभव गर्दै छन् ।
उपराष्ट्रपति र प्रधानमन्त्रीबीच सहिद मञ्चमा खास के कुराकानी भएको थियो भन्ने विषयमा औपचारिकरूपमा दुवै निकायबाट कुनै धारणा सार्वजनिक भइसकेको छैन । तथापि, कदाचित सञ्चारमाध्यमले भनेजस्तै संसद् विघटनको विषयमा प्रधानमन्त्रीले उपराष्ट्रपतिलाई सोधेको हो भने त्यो व्यवहार पनि गलत हो । सार्वजनिक समारोहमा प्रधानमन्त्रीले यसरी देशको एक जना उच्च पदाधिकारीलाई असहज अवस्था सिर्जना गर्नु राजनीतिक संस्कार कदापि होइन । सर्वसाधारण जनताले राजनीतिक नेतृत्वबाट धेरै कुरा सिकिरहेका हुन्छन् । नेताहरूका असल व्यवहारबाट जनताले पनि असल व्यवहार सिकिरहेका हुन्छन् भने खराब र रूखो व्यवहारबाट जनताले पनि त्यसैको अनुकरण गरिरहेका हुन्छन् । प्रधानमन्त्रीसँग कोही पनि पदाधिकारीले व्यक्तिगत हिसाबमा आफ्नो फरक मत राख्नसक्छ । यो संविधानले नै दिएको मौलिक अधिकार हो । तर, त्यसरी मत व्यक्त गर्दैमा प्रधानमन्त्रीबाट गलत र रूखो व्यवहार पनि उचित होइन । राजनीतिक विपक्षी वा फरक मतलाई चाम्रो व्यवहार गरेर नै सिध्याउने चिन्तन सामन्तवादी राजनीतिको अवशेष हो । हाम्रा शासक दलका नेताहरूमा यस्तो व्यवहार अझै मेटिसकेको छैन ।
राजनीतिमा शारीरिक हाउभाउले पनि धेरै भूमिका खेलिरहेको हुन्छ । हाउभाउले धेरै सङ्केत गरिरहेको हुन्छ । उपराष्ट्रपति र प्रधानमन्त्रीको हाउभाउले आम जनतामा राम्रो सन्देश दिएको छैन । त्यो तहमा विभाजनको सार्वजनिक अभिव्यक्तिले जनतालाई अझ विभाजनतिर डो¥याउने गर्दछ । विभाजनलाई अझ गहिरो बनाउनेले देशलाई सही गन्तव्यमा पु¥याउन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *