भर्खरै :

आईएईएका प्रमुख इरानमा

इरानको आणविक कार्यक्रमको विषय समाधान गर्न अन्तर्राष्ट्रिय परमाणविक ऊर्जा एजेन्सी (आइएइए) का प्रमुखले आइतबार इरानी आणविक ऊर्जा सङ्गठन(एइओआई) र इरानी विदेश मन्त्रीसँग भेटेको इरानी सञ्चारमाध्यम प्रेस टीभीले बताएको छ । संरा अमेरिकाले आफूविरुद्धको नाकाबन्दी नहटाउने हो भने फेब्रुअरी २३ बाट आइएइएको थप नियमहरूको पालना नगर्ने तेहरानको घोषणासँगै आइएइएका प्रमुखले इरानी अधिकारीहरूलाई भेटेका हुन् ।
आइएइएका महानिर्देशक राफेल ग्रोसी र एईओआईका प्रमुख अली–अक्बर सालेहीबीच भएको वार्ता आइएइएको सुरक्षा सम्झौताको कार्यान्वयन र नाकाबन्दीविरुद्ध इरानको रणनीतिक कार्ययोजनामा केन्द्रित थियो ।
“इरान र आइएइएबीच आपसी सम्मानमा आधारित फलदायी छलफल भयो”, भियनास्थित अन्तर्राष्ट्रिय सङ्गठनहरूको लागि इरानी राजदूत कजिल घारिबाबादीले बैठकको सम्बन्धमा ट्वीट गरे ।
इरानी विदेशमन्त्री मोहम्मद जाभेद जरिफ र ग्रोसीबीच भएको बैठकमा सुरक्षा सहमतिअनुसार इरान–आइएइएबीच सहकार्यबारे आफ्ना मत आदानप्रदान गरिएको थियो ।
इरानको संसदले सन् २०२० को डिसेम्बरमा नाकाबन्दीविरुद्ध रणनीतिक कार्ययोजना पारित गरेको थियो । त्यसले इरान सरकारलाई २० प्रतिशत युरेनियमयुक्त तत्व उत्पादन गर्न र आइएइएको थप नियमको कार्यान्वयन बन्द गर्नसक्ने अधिकार प्रदान गरेको छ । तर, सन् २०१५ मा भएको इरानको आणविक कार्यक्रम सम्बन्धमा भएको अन्तर्राष्ट्रिय सहमतिअनुसार इरानसँग व्यवहार नभएमात्र उसले त्यस्तो कदम चाल्न पाउनेछ ।
सन् २०१८ मा इरानी आणविक सम्झौताबाट संरा अमेरिकाले हात झिक्नुको साथै उसमाथिको नाकाबन्दीलाई पुनःजारी राख्ने निधो गरेको थियो । त्यसयता इरानले पनि सो सम्झौताका केही पक्षको उल्लङ्घन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *