भर्खरै :

एटियन ग्यब्रियल मोरेली र उनको साम्यवादी कानुन ‘कोड अफ नेचर’

‘योग्यताअनुसार काम, कामअनुसारको ज्याला’ वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल माक्र्स र फ्रेडरिक एँगेल्सले कल्पना गर्नुभएको साम्यवादी समाजको एक प्रमुख विशेषता हो । सन् १८७५ मा लिखित ‘गोथा कार्यक्रमको आलोचना’ मा माक्र्सले साम्यवादको प्रारम्भिक अवस्था वा समाजवादमा मानिसहरूले ‘आफूले गरेको श्रम वा योगदानको आधारमा ज्याला प्राप्त गर्ने’ तर साम्यवादको उच्चतम अवस्थामा मानसिक र शारीरिक श्रमको भेद हट्ने, उत्पादन शक्तिको विकासले व्यक्तिको सर्वाङ्गीण विकास हुने र मानव सहकार्यले उपभोग्य वस्तुहरूको प्रचुर उत्पादन भएर ‘प्रत्येकबाट क्षमताअनुसार, प्रत्येकलाई आवश्यकताअनुसार’ नीति लागु हुने उल्लेख गर्नुभएको थियो ।
तर ‘योग्यताअनुसार काम, आवश्यकताअनुसार माम’ भन्ने धारणा माक्र्स–एँगेल्सको मौलिक धारणा भने होइन । यो अवधारणा पहिलो पटक फ्रान्सेली काल्पनिक समाजवादी चिन्तक एटियन ग्यब्रियल मोरेलीले सन् १७५५ मा प्रकाशित आफ्नो पुस्तक ‘कोड अफ नेचर’ अर्थात् ‘प्राकृतिक कानुन’ मा उल्लेख गरेको मानिन्छ । मोरेली निजी सम्पत्तिलाई मानिसमा जाग्ने लोभ–लालचको मूल कारण मान्थे र लोभलालचकै कारण सामाजिक एवम् नैतिक खराबीहरू हुने मान्यता राख्थे । त्यसकारण, मोरेलीलाई १८ औँ र १९ औँ का समाजवादी र साम्यवादी विचारकहरूका अग्रज मानिन्छ । फ्रान्सिस बाबेफ, चाल्र्स फ्युरिए, जोसेफ प्रुधोँ, लुइस ब्लाँक, फ्रेडरिख एँगेल्स, कार्ल माक्र्स लगायतका विचारकहरूले आफ्ना कृतिहरूमा मोरेलीबारे चर्चा गर्नुभएको छ ।
सन् १७१७ मा जन्मिएर सन् १७७८ मा ६१ वर्षको उमेरमा यस धर्तीबाट बिदा भएका मोरेलीलार्ई एक बिर्सिएका दार्शनिक पनि भनिन्छ । उनको वास्तविक जिवनबारे कममात्र जानकारी प्रकाशमा आएका छन् । जिवनकाल करिब समान भएर हुनुपर्छ २० औँ शताब्दीको सुरुसम्म पनि मोरेली र पहिलो फ्रान्सेली ज्ञानकोष (इन्साइक्लोपेडिया) का सम्पादक देनिस दिदेरो एकै व्यक्ति हुन् भन्ने ठानिन्थ्यो । दिदेरोको जन्म सन् १७१३ मा भएको थियो भने मृत्यु सन् १७८४ मा भएको थियो ।
माक्र्स र एँगेल्सभन्दा अगाडि धेरै दार्शनिकहरूले तत्कालीन समाजका खराबीहरूको निन्दा गर्दै ‘न्यायपूर्ण समाज’ वा खराबीरहित समाजको कल्पना गरेका छन् । इशापूर्व ३७५ मा लिखित प्लेटोको ‘गणतन्त्र’ (रिपब्लिक) र सन् १५१६ मा लिखित थोमस मूरको ‘स्वप्नलोक’ (युटोपिया) यसका उदाहरण हुन् ।
पुनर्जागरणको युगपछि समानतावादी वा साम्यवादी समाजको आवश्यकताबारे आवाजहरू उठ्न थाले । लोभ–लालच, घमण्ड, पाखण्ड, बेइमानी, महत्वाकाङ्क्षाजस्ता नैतिक कमजोरी नहुने मात्र होइन आर्थिक समानता भएको र मानिसबाट मानिसलार्ई गरिने उत्पीडन तथा शोषणरहित समानतावादी समाजको परिकल्पना नै साम्यवादी समाज थियो । यस्तै एउटा परिकल्पना थियो मोरेलीको ‘कोड अफ नेचर’ अर्थात् ‘प्राकृतिक कानुन’ ।
‘कोड अफ नेचर’ का चार खण्डमध्ये सुरुका तीन खण्डमा मोरेलीले निजी सम्पत्ति, त्यसले समाजमा जन्माएका नैतिक कमजोरी र निजी सम्पत्तिको अन्त्यको आवश्यकताबारे चर्चा गरेका छन् भने अन्तिम खण्डमा उनले कल्पना गरेको साम्यवादी समाज सञ्चालनको निम्ति आधारभूत कानुनको खेस्रा गरिएको छ ।
‘कोड अफ नेचर’ को सार
मानिसका सम्पूर्ण नैतिक कमजोरीहरूको जड भौतिक सम्पत्तिप्रतिको आशक्ति वा लोभ हो । अत्याधिक घमण्ड, मूर्खता, द्वैध मानसिकता, बेइमानी, पाखण्ड, महत्वाकाङ्क्षा सबै ‘प्राप्तिको लोभ’ कै विभिन्न रूप हुन् । र, निजी सम्पत्ति नै यी मानवीय खराबीहरूको मूल कारण हो ।
जहाँ निजी सम्पत्ति हुन्न त्यहाँ प्राप्त गर्ने आकाङ्क्षा पनि हुन्न । त्यसकारण, सम्पत्ति सम्पूर्ण मानव जातिको साझा हुनुपर्दछ । स्रोत साधनको निजी वितरणले (चाहे त्यो समान वितरण होस् वा असमान वितरण) मानिसलाई स्वार्थी बनाइदिन्छ ।
निजी सम्पत्ति हटाउने हो भने समाजमा नैतिक खराबीहरू हट्नेछन् र समाजमा सद्भाव कायम रहनेछ । निजी सम्पत्ति र स्वार्थले समाजमा रहेका मतभेदहरूलाई बढाउने काम गर्छ । निजी सम्पत्ति नभएको समाजमा मतभेदहरू सजिलै समाधान हुनेछन् र वैचारिक भिन्नता एवम् शत्रुता सामाजिक व्यवस्था खलल पार्ने तहसम्म विकास हुने छैनन् ।
तीन प्रमुख प्रस्थापना
सामाजिक खराबी र नैतिक कमजोरीहरूको जरा उखेल्ने पवित्र र आधारभूत कानुन नाम दिइएको मोरेलीको कानुनका प्रमुख तीन प्रस्थापनाहरू रहेका छन् –
१) दैनिक काम र आरामको निम्ति तत्काल चाहिने वस्तुबाहेक समाजको कुनैपनि कुरा चाहे त्यो वस्तु होस् वा पँुजी कसैको व्यक्तिगत हुने छैन ।
२) प्रत्येक व्यक्ति सामाजिक बन्नेछ र ऊ समाजको सहयोग खर्चमा जिउनेछ ।
३) प्रत्येक व्यक्तिले आफ्नो योग्यता, दक्षता, उमेरको आधारमा सामुदायिक गतिविधिमा निश्चित योगदान गर्नेछ र यिनै विशेषताको आधारमा आर्थिक कानुनसँग नबाझिने गरी व्यक्तिको जिम्मेवारी निर्धारण गरिनेछ ।
मोरेलीको आर्थिक कानुनका अनुसार हरेक देशलाई परिवार, कबिला र सहर गरी तीन तहमा विभाजन गरिनेछ । सहरहरूको सङ्ख्या बढी भएमा आवश्यकताअनुसार प्रान्तहरू पनि बनाइनेछ । हरेक कबिलामा उत्तिकै सङ्ख्यामा परिवारहरू रहनेछन् भने उत्तिकै कबिलाहरू भएका सहरहरू बनाइनेछन् । जनसङ्ख्याको विकाससँगै सहर र कबिलाहरूको आकार समानुपातिकरूपमा बढाइनेछ । नापतौललगायत सम्पूर्ण सार्वजनिक विभाजनमा दशमलब प्रणाली लागु गरिनेछ ।
हरेक पेशामा कामको कठिनाइ, उत्पादनको आवश्यकताअनुसार दश वा सयले भाग जाने सङ्ख्यामा कामदारहरूलार्ई जिम्मा लगाइनेछ । उत्पादनहरू सार्वजनिक भण्डारहरूमा जम्मा गरिनेछ र दैनिक वा आवश्यकताअनुसार निश्चित अवधिमा सम्पूर्ण नागरिकलाई वितरण गरिनेछ । छिटो नाश हुने वा नासिने वस्तुहरू अग्रिम व्यवस्था मिलाई तुरन्तै वितरण गरिनेछ । ननासिने उत्पादन त्यस्ता उत्पादनको कमी भएका सहर वा प्रान्तहरूमा पठाइनेछ वा भविष्यको निम्ति सुरक्षित राखिनेछ ।

मानिसका सम्पूर्ण नैतिक कमजोरीहरूको जड भौतिक सम्पत्तिप्रतिको आशक्ति वा लोभ हो । अत्याधिक घमण्ड, मूर्खता, द्वैध मानसिकता, बेइमानी, पाखण्ड, महत्वाकाङ्क्षा सबै ‘प्राप्तिको लोभ’ कै विभिन्न रूप हुन् । र, निजी सम्पत्ति नै यी मानवीय खराबीहरूको मूल कारण हो ।
जहाँ निजी सम्पत्ति हुन्न त्यहाँ प्राप्त गर्ने आकाङ्क्षा पनि हुन्न । त्यसकारण, सम्पत्ति सम्पूर्ण मानव जातिको साझा हुनुपर्दछ । स्रोत साधनको निजी वितरणले (चाहे त्यो समान वितरण होस् वा असमान वितरण) मानिसलाई स्वार्थी बनाइदिन्छ ।

पवित्र कानुनका अनुसार नागरिकहरूबीच कुनैपनि वस्तुको कुनै पनि विनिमय वा बिक्री वितरण गरिनेछैन । जस्तो कि, तरकारी चाहिने परिवारले चोकमा गएर खेती गर्नेहरूले ल्याएको तरकारी एक दिनको लागि लिनेछन्, रोटी चाहिनेहरूले रोटी बनाउने केन्द्रमा गएर रोटी लिनेछन् । रोटी बनाउनेहरूले सार्वजनिक भण्डारमा गएर निश्चित समयको लागि आवश्यक पिठो वा अन्न लिनेछन् । त्यस्तै कपडा चाहिनेहरू कपडा बुन्ने केन्द्रमा गएर आफूलार्ई आवश्यक कपडा लिनेछन्, कपडा बुन्नेहरू धागो उत्पादन केन्द्रमा गएर धागो लिनेछन् र धागो उत्पादन गर्नेहरूले किसानहरूबाट आवश्यक कपास प्राप्त गर्नेछन् ।
एउटा देश र अर्को देशबीच आवश्यक वस्तु सहयोग लिने र दिने समयमा विनिमयको विधि अपनाइनेछ । तर, त्यस्तो विनिमयको प्रक्रियाले कुनैपनि देशमा निजी सम्पत्ति सृजना नहोस् भन्ने सतर्कता अपनाइनेछ ।
मोरेलीको कृषि कानुनका अनुसार हरेक सहरमा त्यहाँको जनसङ्ख्यालार्ई पर्याप्त हुनेगरी खेतीको व्यवस्था गरिनेछ । जमिन कसैको व्यक्तिगत सम्पत्ति हुनेछैन । यदि कुनै सहरमा खेतीयोग्य जमिन छैन वा अपुग छ भने अर्को सहरमा त्यसको व्यवस्था गरिनेछ । र, त्यो सहरका किसानहरू आफ्नो सहरलार्ई दिइएको जग्गामा गएर खेती गर्नेछन् ।
खेतीमा सहभागी हुन नसक्ने गरी शारीरिक दुर्बलता वा अन्य समस्या भएका बाहेक २० देखि २५ वर्षका हरेक नागरिकलाई कृषि पेशामा लगाइनेछ ।
जनसङ्ख्या करिब समान भएका कारण सहरहरूको आकार पनि समान हुनेछ । सहरको बीचमा विभिन्न उत्पादनहरूको वितरण केन्द्र र सभा भवनहरू निर्माण गरिनेछ । चोकको वरपर उस्तै आकारका उस्तै बाटाहरू भएका व्यवस्थित बस्तीहरूको विकास गरिनेछ । हरेक बस्तीमा एउटा कबिला रहनेछ र कबिलाका सबै परिवारहरूको निम्ति उस्तै खालका आरामदायी घरहरू निर्माण गरिनेछ । आवश्यक भएको खण्डमा बस्तीको आकारप्रकार नबिग्रिने गरी विस्तार गर्न सकिने हिसाबले बस्तीको बन्दोबस्त गरिनेछ ।

एटियन ग्यब्रियल मोरेली


बस्तीको केही पर विभिन्न पेशा र उत्पादनको निम्ति ज्यासल एवम् कारखानाहरू बनाइनेछ । हरेक कारखानामा दशले गुणन जाने सङ्ख्यामा कामदारहरू खटाइनेछ । कारखाना र ज्यासलहरूको घेरा पारी कृषिसम्बन्धी पेशामा काम गर्ने युवाहरूको निम्ति घरहरू बनाइनेछ । कृषि औजारका ज्यासलहरू, गोठ, तबेलाहरू पनि यिनै घरहरू वरपर राखिनेछ ।
यी घरहरूको केही पर अस्वस्थ नागरिक वा रोगीहरूको सेवा गर्ने ठूलठूला भवनहरू बनाइनेछ । नजिकै हरेक उमेरका नागरिकहरूलाई बिदा मनाउने वा आराम गर्ने ठाउँहरू बनाइनेछ ।
सहरको कुनै दुर्गम सुख्खा ठाउँमा समाजबाट अलग्ग गर्नुपर्ने नागरिकहरूलार्ई राख्न फलामे बार सहितको स–साना कोठा भएका घरहरू बनाइनेछ ।
मोरेलीको प्रशासनिक कानुनअनुसार हरेक पेशामा प्रत्येक ५ दिनमा ५ वा १० जना कामदारका नाइकेको रूपमा कुनै एक पाको वा अनुभवी कामदारलार्ई छानिनेछ, नाइकेले हरेक कामदारले गर्नुपर्ने काम निर्धारण गर्नेछ र आफूले पनि त्यत्तिकै मात्रामा काम गर्नेछ । हरेक वर्ष हरेक २० जनामा एक जना गुरु छानिनेछ । कामदारहरूको कामबारे निर्देशन दिने, पर्यवेक्षण गर्ने र सम्बन्धित ज्यासल वा उत्पादन समूह प्रमुखलाई त्यसको रिपोर्ट गर्ने उसको जिम्मा हुनेछ । कृषि पेशापछि आएको एक वर्ष ननाघेकालाई वा २६ वर्ष पुगिनसकेकालाई गुरु बनाइने छैन र गुरुहरूमध्येबाट हरेक वर्ष उत्पादन समूह प्रमुख छानिनेछ ।
१० वर्षको उमेर पुगेपछि हरेक नागरिकलाई उसले मनपराएको वा चाख देखाएको एउटा पेशाबारे तालिम दिइनेछ । १५ देखि १८ वर्ष भित्रमा विवाह गराइनेछ । २० देखि २५ वर्षसम्म कुनै एक कृषि पेशामा संलग्न गराइनेछ । त्यसपछि उसकै इच्छाअनुसार कृषि पेशामै रहने वा पहिलेको पेशामा फर्किने वा अरू कुनै पेशामा जाने छान्न लगाइनेछ ।
हरेक पेशाको प्रमुखले आवश्यकताअनुसार काम र आरामको समय तोक्नेछ र पूरा गर्नुपर्ने कामबारे स्पष्ट निर्देशन दिनेछ ।
हरेक पाँचौँ दिन आरामको दिन हुनेछ । एक वर्षलाई पाँच–पाँच दिनको ७३ वटा समयखण्डमा विभाजन गरिनेछ । पहिलो खनजोतपछि, बाली भित्र्याउनुअघि, फलफुल टिप्ने मौसमपछि र नयाँ वर्षमा चाडपर्वहरू मनाइनेछ । हरेक पर्व एउटा बिदाको दिनदेखि अर्को बिदाको दिनसम्म जम्मा छ दिन मनाइनेछ ।
मोरेलीको लवाइखवाइ नियन्त्रण कानुनअनुसार हरेक व्यक्तिलाई ३० वर्ष पुगेपछि आफ्नो इच्छाअनुसार खाने लाउने छनोट गर्ने छुट हुनेछ तर अनावश्यक ढङ्गले अत्याधिक मात्रामा खानपिन गर्ने र भद्दा लुगा लगाउने प्रवृत्तिलाई निरुत्साहित गरिनेछ । यसको रेखदेख र आवश्यक सजाय गर्ने जिम्मा सिनेटर तथा प्रमुखहरूको हुनेछ र उनीहरू आफै पनि सरल जीवनका उदाहरण हुनेछन् ।
२० देखि ३० वर्षका युवाहरूले आफ्नो पेशाअनुसार समान खालको पोशाक लगाउनेछन् । हरेक पेशामा काम गर्न उपयुक्त र सहज हुने खालको छुट्टाछुट्टै रङ्गको निश्चित पोशाक हुनेछ । हरेक मानिसको निम्ति काम गर्ने र बिदा मनाउने छुट्टाछुट्टै पोशाक हुनेछन्, मानिसहरूले सुन्दरताको निम्ति शृङ्गार गर्दा साधारण मानिसभन्दा धेरै फरक देखिने ढङ्गले गहनाहरू लगाउन पाइनेछैन । हरेक परिवारका पिता र प्रमुखहरूले यसबारे रेखदेख गर्नेछन् ।
मोरेलीको सरकार बनाउने कानुनअनुसार हरेक परिवारको प्रमुखलाई ५० वर्षको उमेरका प्रतिनिधि बनाइनेछ । कानुनको भावनाअनुसार समाज चलाउने काइमा सिनेटरहरूको प्रमुख भूमिका रहनेछ । सिनेटरहरूले अन्य परिवार प्रमुख र पेशा प्रमुखहरूसँग विविध समस्याहरूबारे निरन्तर सरसल्लाह गर्नेछन् । कबिलामा रहेका परिवारहरूको भेलाबाट हरेक वर्ष एक कबिला प्रमुख चुनिनेछ भने कबिला प्रमुखहरूमध्येबाट हरेक वर्ष एक वर्षको निम्ति सहर प्रमुख छानिनेछ । सहर प्रमुखहरूलाई हरेक वर्ष पालैपालो प्रान्त प्रमुखको जिम्मेवारी दिइनेछ । त्यस्तै प्रान्त प्रमुखहरू मध्यबाट देश प्रमुख छानिनेछ । विभिन्न तहका सरकारहरूले कानुनको भावनाअनुसार समाज अगाडि बढोस् र कसैले कसैलाई अन्याय, अत्याचार र उत्पिडन नगरोस् भनी निरन्तर सतर्कता अपनाउनेछ ।
देशको सर्वोच्च सिनेटले सहरका सिनेटहरूले बनाएको नीति नियम आधारभूत कानुनको भावनाअनुसार रहेनरहेको परीक्षण गर्नेछन् । सर्वोच्च सिनेटले कुनै सहरको नीति नियमलाई सदर गरेपछि सबै सहरहरूमा स्थानीय सिनेटको निर्णयबाट त्यो लागु गरिनेछ ।
हरेक तहको प्रमुख, सिनेटर, गुरूहरूलाई समाजमा सबैको हितको निम्ति सक्रिय रहेको हुँदा परिवारको प्रमुख वा पिता जस्तै सम्मान दिइनेछ । कुनैपनि तहको प्रमुखबाट बिदा भएको मानिसलाई आफ्नो इच्छाअनुसार पेशा छान्ने स्वतन्त्रता हुनेछ ।
मोरेलीको विवाह कानुनअनुसार स्वास्थ्य वा प्राकृतिकरूपमा अशक्त नागरिकलाई बाहेक हरेक मानिसको विवाह गर्ने उमेर पुगेपछि विवाह गराइनेछ । हरेक वर्षको सुरुमा विवाह समारोहहरू आयोजना गरिनेछ जसमा सहरको सिनेटको उपस्थितिमा विवाह गर्ने उमेर पुगेका युवायुवतीहरूलाई उपस्थित गराइनेछ । समारोहमा हरेक केटाले आफूलाई मनपरेको केटीलाई उनको स्वीकृति प्राप्त गरेपछि श्रीमतीको रूपमा भित्र्याउन सक्नेछ ।
हरेक विवाहलाई १० वर्षसम्म पारपाचुके गर्ने स्विकृति दिइनेछैन, १० वर्षपछि दुवैको स्वीकृतिमा वा कुनै एकको स्वीकृतिमा पारपाचुके गर्ने अनुमति दिइनेछ ।
मोरेलीको बालबालिकासम्बन्धी कानुनअनुसार हरेक आमालाई आफ्नो बच्चा हुर्काउने अधिकार र कर्तव्य हुनेछ । ५ वर्षको उमेर पुगेपछि बालबालिकाहरूलाई सहरको शिशुशालामा हुर्काइनेछ । देशभरिका शिशुशालाहरूमा सबै बालबालिकाहरूलाई समान खाना, पोशाक र प्रारम्भिक शिक्षा दिइनेछ । हरेक ५ दिनमा अभिभावकहरूको भिन्नाभिन्नै समूहहरूले शिशुशालामा बालबालिका हेर्ने जिम्मा लिनेछन् ।
उमेर बढेसँगै बालबालिकाहरूलाई देशको आधारभूत कानुनबारे जानकारी दिइनेछ । त्यस्तै कानुन, अभिभावक र समाजका अग्रज तथा प्रमुखहरूलाई सम्मान गर्न सिकाइनेछ । १० वर्षको उमेर पुगेपछि कुनै एक पेशाको तालिम दिन ज्यासलहरूमा पठाइनेछ । किशोरहरूलाई आधारभूत कानुनको भावनाबारे निरन्तर प्रशिक्षण दिइनेछ र निजी सम्पत्तिका खराबीहरूबारे सचेत गराइनेछ । कुनैपनि भ्रम, मिथक र काल्पनिक कथाहरूबाट किशोरहरूलाई टाढा राखिनेछ ।
हरेक सहरबाट क्षमता र चाखअनुसार निश्चित सङ्ख्यामा बालबालिकाहरूलाई विज्ञान र कलाको क्षेत्रमा तालिम दिइनेछ ।
हरेक स्थानीय सिनेटले नागरिक र प्रमुखहरूका उल्लेखनीय एवम् सम्झनलायक गतिविधिको अभिलेख राख्नेछ । तर, यस्तो इतिहास बनाउँदा अतिरञ्जना, मिथ्याकरण र चाप्लुसी नहोस् भन्नेमा विशेष ध्यान दिइनेछ ।
१८ औँ शताब्दीको तत्कालीन युरोपेली समाजमा आफूले परिकल्पना गरेको खालको गणतन्त्र स्थापना हुन असम्भव छ भन्ने कुरा मोरेलीले पुस्तकमा स्वीकार गरेका छन् । तर, त्यस्तो कानुनको अभ्यासले मानवजातिलाई धेरै दुःख –कष्टहरूबाट बचाउनेछ भन्ने उनको दाबी थियो । मानव समाजमा ठूलो परिवर्तन ल्याउने साहस आफूले नगरेको तर सत्यमाथि प्रश्न उठाएर मानव जातिलाई निरन्तर ठगिरहेका मानिसहरूको माझ सत्यलाई अगाडि राख्ने आँट आफूले गरेको तर्क उनले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *