भर्खरै :

शिक्षकहरूले राजनीति गर्नुहुँदैन भन्ने ठम्याइ गलत

भक्तपुर, १२ फागुन । वागीश्वरी माध्यमिक विद्यालयमा लामो समय अध्यापनपश्चात् अवकाश हुनुभएका चार जना शिक्षकहरूलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सम्मान गर्नुभएको छ । बुधबार वागीश्वरी माविको आयोजनामा भएको बधाई तथा सम्मान कार्यक्रममा शिक्षकहरू विद्यालयका पूर्वसहायक प्रअ ज्ञानसागर प्रजापति, प्रावि तहका शिक्षकहरू शोभा प्रधान, शोभना शाक्य र रामप्रसाद सुवाललाई सम्मान गरिएको हो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले शिक्षा र राजनीति भनेको एकआपसमा सम्बन्धित विषय भएको बताउँदै जुनसुकै पेशा भए पनि आफ्नो सिद्धान्तअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षकहरूले राजनीति गर्न हुँदैन भन्ने ठम्याइ गलत भएको बताउँदै उहाँले शिक्षकहरूले देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वाधीनताको विषयलाई प्राथमिकता दिएर पढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृतिको लागि निरन्तर प्रयास जारी रहने बताउँदै अध्यक्ष बिजुक्छेँले वागीश्वरीमा अध्ययनरत विद्यार्थीहरूलाई आफ्नो गाउँ ठाउँको निम्ति सेवा गर्न अभिप्रेरित गर्नुपर्ने बताउनुभयो । उहाँले अवकाश प्राप्त शिक्षकहरूलाई आफ्नो अनुभव सङ्गालेर नयाँ पुस्ताको लागि पठनीय पुस्तक प्रकाशनतर्फ ध्यानाकर्षण गराउँदै भक्तपुरमा रात्री कक्षाबाट सुरु भएको महिला शिक्षाले हाल शैक्षिक क्षेत्रमा महिलाहरूको अग्रसरता र उपलब्धि प्रशंसनीय रहेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरूपमा सचेत पार्ने अवसर गुमेको र शासक दलहरूबीचको कुर्सी र पदको झगडा पुनः दोहोरिनेछ भन्नुभयो । भारत सरकारले नेपालका शासक दलका नेताहरूमार्फत नेपालमा आफ्नो अनुकूलको सरकार बनाउन खोजिरहेको प्रस्ट हुँदै छ, उहाँले भन्नुभयो ।
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले वागीश्वरी मावि र कलेजप्रति सबैको साथ र सहयोगी भावनाका कारण यसले शैक्षिक क्षेत्रमा प्रगति गरिरहेको बताउनुभयो । भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र र नेपाल मजदुर किसान पार्टीको एक घर एक स्नातकको अवधारणा पूरा गर्न भक्तपुर नपाबाट सञ्चालित कलेजले महत्वपूर्ण योगदान पु¥याइरहेको बताउँदै उहाँले सभ्य र सुसंस्कृत समाज निर्माणमा स्थापनाकालदेखि भक्तपुर नगरपालिका प्रयासरत रहेको स्पष्ट पार्नुभयो ।
वागीश्वरी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले वागीश्वरी माविलाई समाजको उन्नति र प्रगतिको लागि महत्वपूर्ण डबुको रूपमा प्रयोग गरिरहेको र विद्यालय स्थापना र प्रगतिमा भक्तपुरका स्थानीय जनताको अपनत्व र निरन्तर सहयोग पाइरहेकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले अवकाश प्राप्त शिक्षकहरूको सङ्क्षिप्त परिचय र विद्यालयको शैक्षिक उन्नतिमा पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभयो ।
सोही कार्यक्रममा विद्यालयका सहायक प्रअ उकेश सुवाल र पूर्व सहायक प्रअ कृष्णप्रसाद कर्माचार्यले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले वागीश्वरी माविमा लामो समयको अध्यापनपश्चात् अवकाश भई सम्मानित शिक्षकहरू विद्यालयका पूर्वसहायक प्रअ ज्ञानसागर प्रजापति, प्रावि तहका शिक्षकहरू शोभा प्रधान, शोभना शाक्य र रामप्रसाद सुवाललाई सम्मानपत्र र अतिथि नगर प्रमुख प्रजापतिले विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा अवकाश प्राप्त शिक्षकहरूले विद्यालयमा अध्यापन गराउँदाको आफ्नो अनुभव सुनाउनुभएको थियो ।
सोही कार्यक्रममा विद्यालयका पूर्वशिक्षक शोभा प्रधानले विद्यालयका प्रअ धन्छालाई विद्यालयको शिक्षक कोषको लागि रु. दुई लाखको चेक हस्तान्तरण गर्नुभएको थियो । सो कोषको लागि पूर्वशिक्षकहरू ज्ञानसागर प्रजापति र रामप्रसाद सुवालले पनि प्रतिव्यक्ति रु. एक लाख सहयोगको घोषणा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *