भर्खरै :

स्थानीय पहलमा खानेपानी वितरण

भक्तपुर, २२ फागुन । भक्तपुर नपाको नगरस्तरीय बजेटअन्तर्गत निर्माण गरिएको खानेपानी ट्याङ्की तथा फिल्टर जडान योजनाबाट खानेपानी वितरण थालिएको छ ।
योजनाको उद्घाटन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले खानेपानीको सहज आपूर्तिका लागि नगरका विभिन्न ठाउँहरूमा डीप बोरिङ कार्य अगाडि बढाइरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले पानीको स्रोत तथा मुहान बचाउन प्रकृतिको संरक्षण गर्नु अपरिहार्य भएको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइमा मात्र होइन नगरवासीको निम्ति सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपा, वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुरमा लिच्छविकालदेखि नै खानेपानी आपूर्तिको लागि विभिन्न ठाउँमा राजकुलो, ढुङ्गेधारा, इनार, पोखरी, कुवालगायतका पानीको स्रोतको व्यवस्था रहेको बताउँदै विज्ञान र प्रविधिको विकासका कारण जमिनमुनिको पानीलाई पिउन योग्य बनाउन सफल भएको बताउनुभयो ।
भक्तपुर नपा खानेपानी समितिका संयोजक एवम् वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले भक्तपुरमा खानेपानी वितरण प्रणाली व्यवस्थित गर्न खानेपानीको पाइपलाइनमा सुधार भइरहेको अवगत गराउँदै खानेपानीको समस्या समाधानको लागि नगरपालिकाले विभिन्न प्रयास जारी राखेको बताउनुभयो ।
खानेपानी ट्याङ्की निर्माण उपभोक्ता समितिका अध्यक्ष बलराम गोसाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वडा सदस्य रञ्जना त्वाती, नेमकिपा इनाचो एकाइ समितिका संयोजक कृष्णगोविन्द लाखाजु, आदर्श आजाद कलेजका प्राचार्य श्रीकृष्ण किसी, स्वयम्सेवी लक्ष्मीभक्त कवां, अनुगमन समितिका सदस्य भुवन गोसाई र समितिका सचिव राकेश सुकुपायोले पनि आआफ्नो धारणा राख्नुभएको थियो ।
उद्घाटित खानेपानी ट्याङ्की तथा फिल्टर जडान योजनाको कुल खर्च ७० लाख ५४ हजार २ सय ४९ रहेको उपभोक्ता समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *