भर्खरै :

समानता सिद्धान्तमा मात्र हो कि व्यवहारमा पनि

नेपाली समाजमा पनि विभिन्न क्षेत्रमा स्वाभाविक परिवर्तन भइरहेका छन् । आज भोलि विभिन्न विज्ञहरूमाझ सैद्धान्तिक र व्यवहारिक समानताका कुराबारेमा बहस चल्ने गरेको पाइन्छ । समानताको चर्चा गर्दा ठूला–ठूला नारा भट्टयाइने गरिन्छ । कतिपय नीतिनिर्माताहरू आधुनिक समाजमा समानता रहेको बताउँछन् । मानव इतिहास पल्टाएर हेर्दा जङ्गली युगदेखि हालसम्मको समयलाई नियाल्ने हो भने सुरुवाती समाजमा महिला र पुरुषमा समानता बढी थियो । त्यतिबेला पुरुषहरू जङ्गलमा गएर कन्दमुल तथा फलफुलहरू जम्मा गरेर ल्याउने गर्दथे भने महिलाहरू घरमै बसी बालबच्चाहरूको हेरचाह गर्ने र पुरुषहरूले खोजेर ल्याएका खानेकुराहरू बाँडेर खान दिने गर्दथे । यसरी पुरुषहरूले महिलाहरूले भन्दा कठिन काम गरे पनि त्यतिबेला पुरुष र महिलाबीच असमानता वा भेदभावको आभाष नभएको विभिन्न सिद्धान्तकारहरूले उल्लेख गरेका छन् । तर, समाज जति जति आधुनिकतातर्फ अघि बढ्यो समाजमा महिला र पुरुषबीचको खाडल पनि झन् फराकिलो हँुदै गएको छ । कतिपय नेपाली समाज पितृसत्तात्मक संरचनामा आधारित भएकोले महिलाहरू पछाडि परेका हुन् भनी विश्लेषण गर्दछन् । यो कुरा आंशिकरूपमा साँचो होला । तर, वास्तविकता केलाउने हो भने महिलाहरू महिलाकै कारणले पछि परेका छन् । सानैदेखि आमा, हजुरआमाले तिमी छोरी मान्छे यसो गर त्यसो गर, घरायसी कामहरू सिक छोरी भनेको अर्काको घरमा जाने जात भनी भनेका हुन्छन् । यसले गर्दा महिलाको मानसिकता खुम्चेको हुन्छ । पहिले पहिले छोरीले हाँस्न हुन्न, घरायसी कुरामा बोल्नु हुन्न, घरबाहिरका कार्यक्रमहरूमा सहभागी हुन्न भन्थे । यदि छोरी मान्छे यस्ता औपचारिक कायक्रममा हिँडेमा समाजले कुरा काट्ने र ती छोरीहरूको विहे हुन गाह्रो हुन्थ्यो । त्यसैले त्यतिबेला अभिभावकहरूले आफ्ना छोरीहरूलाई चाहेर पनि स्कूल पठाउन र सामाजिक गतिविधिमा सहभागी गराउँदैनथे । भनिन्छ, लाटोको देशमा पुगेमा बोल्न जान्ने पनि लाटो बन्नुपर्दछ, बाहिरको देशमा पुगेमा सद्दे मानिस पनि बहिरो भएको नाटक गर्नुपर्दछ नत्रभने त्यो समाजमा टिक्न सकिँदैन ।
नेपाली समाजमा हाल परिवर्तनका सङ्केत देखिन थालेको छ । महिला र पुरुष समानरूपमा अघि बढेमात्र विकासले गति लिन सक्दछ । वि.स. २०१३ सालमा पहिलो पञ्चवर्षीय योजना सुरुवात भएको थियो । हामी १५ औँ त्रिवर्षीय योजनामा आइपुग्दा पनि देशले फड्को मार्न सकेको छैन । यसको मूल कारण आधा आकाश ढाकेका महिलाहरू अझै पनि विकासको मूलधारमा आउन नसक्नु नै हो । शैक्षिक क्षेत्रमा पछाडि पर्नाले महिलाहरू हरेक क्षेत्रमा पछाडि परेका छन् । सरकारले महिलाको स्तरोन्नति गर्नको लागि विभिन्न नीति तथा कार्यक्रमहरू ल्याएको छ । तर, त्यस्ता कार्यक्रमहरूबाट सहरी क्षेत्रमा बस्ने पढेलेखेका सीमित महिलाहरूमात्र लाभान्वित हुने भएका छन् । २०६८ को जनगणनाअनुसार महिलाको जनसङ्ख्या झन्डै ५२ प्रतिशत थियो । यति ठूलो सङ्ख्यामा महिलाहरू रहे पनि उच्च पदमा थोरैमात्र महिला पुग्न सफल छन् जुन सङ्ख्या औँलामा गन्न सकिन्छ । नेपाल सरकारले महिलाहरूलाई अधिकारसम्पन्न बनाउन विभिन्न आरक्षण कोटाहरूको व्यवस्था गरेको छ । महिलालाई सरकारी सेवामा प्रवेश गर्ने उमेर बढाएर ४० वर्ष पु¥याएको छ । तर, पनि घरायसी काममा अल्झिनुका साथै विभिन्न कुरीतिको शिकार भएर धेरै महिलाहरू अघि बढ्न सकेका छैनन् । महिलाहरू विभिन्न घरेलु हिंसाका शिकार भइरहेका छन् । यसको मुख्य कारण महिलाको गलत सामाजिकीकरण पनि एक हो । सानैदेखि कोमल बन्न सिकाइन्छ । तर, आत्मसम्मान र हक अधिकारको लागि लड्न सिकाइँदैन । समाजमा दिनानुदिन हत्या, हिंसा र बलात्कारका घटना पत्र–पत्रिकाका छापिन्छन् । सानैदेखि महिलालाई पनि आत्मरक्षा र आत्मसम्मानको लागि लड्न सिकाएको भए सायद आज समाजको स्वरुप नै अर्कै हुन्थ्यो होला । समाजको नजरमा महिलाहरू निरीह, विचरीको रुपमा चिनिनु पर्दैनथ्यो होला । सानैदेखि बालबालिकाहरूलाई समानरूपमा आफ्ना रीतिथिति, संस्कार र नीति–नियम, हक अधिकार र हाम्रो सामाजिक परिवेशको मूल्य मान्यताबारे राम्रो जानकारी दिनुपर्दछ । यसले गर्दा सानैदेखि उनीहरू नैतिकवान हुन्छन् र समाजमा हुनसक्ने दुर्घटना कम हुन्छ । समाजलाई सुन्दर र समृद्ध बनाउन प्रत्येक नागरिकको उत्तिकै महत्वपूर्ण भूमिका हुुन्छ ।
समाजमा दिनप्रतिदिन महिला हिंसाका घटनाहरू बढ्दै छन् । महिलाका हक अधिकारका लागि भनेर जिल्ला–जिल्लामा महिला विकास कार्यालयहरू खोलिएका छन् । सरकारले महिलाहरूलाई पनि विकासको मूलधारमा ल्याउन महिला मन्त्रालय खोलेको छ । महिलाको हक हितका लागि हजारौँको सङ्ख्यामा विभिन्न सङ्घ सस्थाहरूले काम गरिरहेका छन् । तर, महिलाको मुद्दा जहाँको त्यहीँ छ । अहिले पनि हाम्रा नेपाली चेलीहरू बेचिन बाध्य छन्, हिंसा र बलात्कारका शिकार भइरहेका छन् । जबसम्म महिलालाई हेर्ने नजरमा परिवर्तन आउँदैन तबसम्म समाजको उन्नति सम्भव छैन । महिलाहरू पनि आफ्नो हक अधिकारका लागि आफै अघि सर्नुपर्दछ । जुनसुकै कठिन परिस्थितिको सामना गर्न पनि पछि पर्नु हुँदैन । त्यसैले सैद्धान्तिक समानतामात्र होइन व्यवहारिक समानताको आवश्यकता छ । मानिस सामाजिक प्राणी हो । समाजमा चलन चल्तीमा रहेका नियम कानुनको परिमार्जन, अध्ययन अनुसन्धान आवश्यक छ । बुबाले श्राद्ध गर्दा बिरालो बाँधे भन्दै छोराले पनि बुबाको श्राद्धमा आफ्नो घरमा नभए पनि छिमेकीबाट ल्याएर बिरालो बाँधेरमात्र श्राद्ध गरेको कहानीजस्तो संस्कारको अनुसरण गर्नु हँुदैन । त्यसको मूल मर्म बुझेर संस्कृति जोगाउनुपर्दछ । महिलालाई होच्याएर विभिन्न उखान बनाइएको छ, त्यसमा परिवर्तन हुन जरुरी छ । समाजको विकास उन्नतिमा महिला र पुरुषको समान खालको भूमिका हुन जरुरी छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *