भर्खरै :

भारतीय किसानको दिल्ली धर्ना सय दिन पूरा : आन्दोलन देशव्यापी हुँदै

नयाँ दिल्ली, ८ मार्च । तीनवटा कृषिसम्बन्धी कानुनको विरोधमा दिल्लीको सीमा नाकाहरूमा भारतीय किसानहरूले धर्ना तथा विरोध प्रदर्शन गरिरहेको एक सय दिन पूरा भएको छ । पछिल्लो नोभेम्बर महिनामा सुरु भएको किसान आन्दोलन मार्च महिनामा पनि जारी छ ।
किसान आन्दोलनको नेतृत्व संयुक्त किसान मोर्चाले गरिरहेको छ र माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ । नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले किसानको माग सुनुवाइ नगर्ने देखिएपछि किसान नेताहरू आन्दोलनलाई अझ तीव्र बनाउँदै देशव्यापी बनाउन लागिपरेका छन् ।
पश्चिमी उत्तर प्रदेशभर किसान महापञ्चायतहरू चलिरहेका छन् । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी), भारतीय कम्युनिस्ट पार्टी, भाकपा (माले), काङ्ग्रेस, समाजवादी पार्टीलगायत विपक्षी पार्टीहरू पनि भारतका विभिन्न भागमा विरोध प्रदर्शन गरिरहेका छन् ।
कोरोना महामारी र लकडाउनको अवधिमा हतार हतार अध्यादेश ल्याई कृषिसम्बन्धी कानुन ल्याएको मोदी सरकार पनि कानुनले किसानलाई फाइदा पु¥याउने दाबी गर्दै कानुनको पक्षमा समर्थन जुटाउन लागिपरेको छ ।
यसबीचमा विभिन्न राज्यबाट दिल्लीमा प्रदर्शन गर्न आएका किसानहरूलाई रोक्न लाठीचार्ज गर्ने, अश्रु ग्यास र पानीको फोहराले हान्ने, अग्ला अग्ला ब्यारिकेड बनाउने, किसानहरूको धर्नास्थलहरूमा बिजुली पानीको आपूर्ति बन्द गरिदिने र २६ जनवरीका दिन भएको झडपपछि धर्नास्थल खाली गर्ने प्रयास पनि सरकारले गरिसकेको छ ।
किसान आन्दोलनको माग पूरा गर्ने माग राखी एक दर्जनभन्दा बढी किसानहरूले आत्मदाह र आत्महत्याको बाटो रोजिसकेका छन् ।
विगत तीनमहिनाभन्दा अगाडिदेखि दिल्लीका सीमानाकामा बसेर किसानविरोधी तीनवटा कृषिसम्बन्धी कानुनविरुद्ध प्रदर्शन गरिरहेका छन् । यसबीचमा आन्दोलनकारी किसान सङ्गठनहरू र सरकारी वार्ता टोलीबीच बा¥हौँ चरणसम्मको वार्ता भइसकेको छ । तर, मोदी सरकारले किसानका माग सुनुवाइ गर्ने छाँटकाँट अझै देखाएको छैन । केन्द्र सरकार र भाजपाको नेतृत्व भएका राज्य सरकारहरूले आन्दोलनकारी किसानहरूमाथि दमन गरेर र आतङ्कवादी गतिविधिमा लागेको अभियोग लगाएर अनेक तवरले मानसिक यातना दिइरहेका छन् ।
भारतको गणतन्त्र दिवस जनवरी २६ का दिन भएको किसान ट्रयाक्टर ¥यालीमा भाग लिएका किसानमध्ये झण्डै दुई सयजना किसान बेपता पारिएको समाचार आएका थिए । किसान आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त किसान मोर्चाकाअनुसार गणतन्त्र दिवसका दिन भएको किसान ट्रयाक्टर ¥यालीका क्रममा पुलिससित भएको झडपपछि ती किसान बेपत्ता भएका थिए । बेपत्ता किसानको सङ्ख्या बढ्दै गएपछि किसान सङ्गठनहरूले त्यसबारे जाँच गर्न छ सदस्यीय समिति नै गठन गरेको थियो । पछि ती प्रायः सबैलाई दिल्ली पुलिसले पक्राउ गरी बेपत्ता पारेको र तिनीहरूविरुद्ध झूटा मुद्दाहरू दर्ता गरिएको खुलासा भएको थियो ।
टाइम्स अफ इण्डियाको विस्तृत समाचारअनुसार ट्रयाक्टर ¥यालीका क्रममा पुलिससित भएको झडपपछि बेपत्ता भएका अधिकांश किसानहरू दिल्ली पुलिसद्वारा गिरफ्तार गरिएका थिए र उनीहरूकाविरुद्ध मुद्दा दर्तासमेत भइसकेका छन् । विपक्षी पार्टीहरू र संयुक्त किसान मोर्चाले विभिन्न जेलमा राखिएका आन्दोलनकारी किसान नेता कार्यकर्ताहरूको बिनाशर्त रिहाइ माग गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *