भर्खरै :

जिल्ला–जिल्लामा मनाइयो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

भक्तपुर, २४ फागुन । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थानहरूको आयोजनामा विद्यार्थीहरूबीच ‘बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ या पर्दैन’ भन्ने विषयमा वादविवाद प्रतियोगिता, कार्यरत महिला शिक्षक÷कर्मचारीहरूबीच टेबलटेनिस, दौड, सटपुट, उडबल प्रतियोगिताका साथै प्रवचन कार्यक्रम सम्पन्न भयो ।
सोमबार ख्वप मा.वि.÷कलेज प्राङ्गणमा भएको प्रवचन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अन्तर्राष्ट्रिय महिला आन्दोलन स्वयम् मजदुर आन्दोलनको एक हिस्सा भएको बताउनुभयो ।
सम्पूर्ण कामदार जनताबीच भ्रातृत्व विकास गर्नु आवश्यक भएको चर्चा गर्दै अध्यक्ष रोहितले शोषक वर्ग कामदार जनताको शत्रु हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “कुनै हिंस्रक जनावरले नगर्ने अपराध मानिसले गर्दै छ । यसको दोष व्यक्ति विशेषलाई दिनुभन्दा राज्य व्यवस्थालाई दिनु आवश्यक छ । महिला हिंसा र शोषण बढ्नुमा राज्य व्यवस्था बढी जिम्मेवार छ ।”
महिला सत्तामा पुग्नु तथा उच्च पदमा पुग्नु ठूलो कुरा नभई पदमा पुग्ने व्यक्तिले कसको प्रतिनिधित्व गर्छ र कसको पक्षमा काम गर्छ त्यो महत्वपूर्ण हुने धारणा उहाँले राख्नुभयो ।
संविधान संशोधन गरेर भए पनि मृत्युदण्डको प्रावधान राख्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष रोहितले जघन्य अपराधी, देशका गोप्य सूचनाहरू विदेशीलाई दिने र देशद्रोहीका अपराधीहरूलाई मृत्युदण्ड दिनुपर्नेमा जोड दिनुभयो ।
लागूपदार्थ दुव्र्यसनीमा फसेका व्यक्तिहरूले आफूलाई नियन्त्रण गर्न नसक्ने र त्यस्ता व्यक्तिले हत्या, बलात्कारजस्ता अपराध गर्न पछि नपर्ने हुनाले लागूपदार्थजस्ता अपराध नियन्त्रण गर्न राज्यले कडा नीति नियम बनाई कार्यान्वयनमा ल्याउनुपर्छ, उहाँले भन्नुभयो ।
“सत्तामा पुगेका पार्टीहरूले अपराधीहरूलाई प्रश्रय दिइरहेको कारण समाजमा अपराध बढ्दो छ । अपराध मनोवृत्तिका व्यक्तिले आपराधिक घटना दोहो¥याउने हुनाले त्यस्ता जघन्य अपराध गर्ने अपराधीहरूलाई ज्यान सजाय दिनु आवश्यक छ”, अध्यक्ष रोहितले भन्नुभयो ।
हरेक कुरालाई सूक्ष्म ढङ्गले अध्ययन र विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “बेलायतको क्रान्तिलाई गौरवपूर्ण क्रान्ति भनी भ्रमपूर्ण इतिहास फैलाइएको छ । यथार्थमा पुँजीपति र सामन्त वर्ग मिलेर उक्त आन्दोलनबाट गरीब र कामदार जनतालाई दबाइएको थियो ।”

दैलेख चामुण्डा


अपराध न्यूनीकरणमा शिक्षण संस्था र विश्वविद्यालयको भूमिका महत्वपूर्ण हुने धारणा अध्यक्ष रोहितले व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवम् ख्वप कलेजहरूका सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सामन्तवादी र पँुजीवादी सोच भएका व्यक्तिहरूले महिलालाई नाफाको निम्ति प्रयोग गर्दै आइरहेको बताउनुभयो ।
समाजमा वर्ग रहेसम्म महिला शोषण अन्त्य नहुने धारणा राख्दै प्रमुख प्रजापतिले समाजवादी व्यवस्था कायम नभएसम्म महिला हिंसा र शोषणको अन्त्यको सम्भावना छैन भन्नुभयो ।
उहाँले भन्नुभयो, “प्रत्येक स्थानीय निकायले प्रत्येक वडामा शिशु स्याहार केन्द्रको व्यवस्था गरेको खण्डमा बालबालिकाको मानसिक, व्यावहारिक र शैक्षिक विकास हुने थियो भने हजारौँ महिलाहरूले रोजगारी पाउँथे ।”
महिलाहरू राजनीतिकरूपमा सचेत र सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याउँदै प्रमुख प्रजापतिले महिला मुक्ति, उत्थान र स्वतन्त्रताका कुरा बोलेरभन्दा व्यवहारले देखाउनु आवश्यक भएकोले भक्तपुर नगरपालिकाले यसको सुरुआत गरेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मार्च ८ महिलाको मात्र नभई सम्पूर्ण कामदार जनताको दिवस भएको बताउनुभयो ।
महिलालाई लिङ्गीय आँखाले होइन वर्गीय आँखाले हेर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “सामन्त वर्गको अवशेष बाँकी रहेको पुँजीवादी व्यवस्था कायम रहेसम्म आर्थिक समानता दिँदैमा महिला मुक्ति सम्भव छैन । कामदार वर्गको महिला आन्दोलनलाई कमजोर बनाउन विदेशी डलर खर्च गरिरहेको छ । यसमा हामी सजग हुनैपर्छ ।”
आधा संसार ढाकेका महिला जबसम्म राजनीतिक सङ्घर्षको अग्रमोर्चामा सक्रियता र सचेतताका साथ अगाडि बढ्दैन तबसम्म महिला मुक्ति र स्वतन्त्रता नारामा मात्र सीमित हुने सभासद् सैंजूले बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा अधिकांश श्रमिक नेपाली महिलाहरू शिक्षाबाट वञ्चित हुनुपरेको बताउनुभयो ।
भनपाले शिक्षालाई विशेष जोड दिँदै आएको चर्चा गर्दै उपप्रमुख जोशीले ‘थिङ्क ग्लोबली–एक्ट लोकली’ भन्ने तथ्यलाई साकार पार्न भनपा अग्रसर छ भन्नुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापाले केही अपराधीहरूको चरित्र र क्रियाकलापका कारण मानिस सर्वश्रेष्ठ प्राणी भन्ने भनाइलाई अप्ठेरोमा पारिरहेको छ भन्नुभयो ।
विश्वको निरक्षर र अशिक्षित जनसङ्ख्यामध्ये दुईतिहाइ महिला रहेको संरा सङ्घको तथ्याङ्क रहेको र महिला हिंसाका घटनामध्ये ५५ प्रतिशत बढी घर–परिवार, आफन्त र संरक्षणकर्ताबाट हुने गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रहरी र समुदायबीच सहकार्य आवश्यक छ । प्रहरी र समुदायको सहकार्यविना अपराधी पत्ता लगाउन कठिन हुनेछ ।”
कार्यक्रममा वादविवाद प्रतियोगिताको नतिजा कानुन अध्ययन समाज नेपालका अध्यक्ष एवम् अधिवक्ता रामप्रसाद प्रजापतिले सुनाउनुभएको थियो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप कलेज अफ इन्जिनियरिङ्गका उपप्राचार्य रत्नशोभा प्रजापति, शिक्षिका सुषमा सापकोटा र मीना महतले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको बीचमा शिक्षक तथा कर्मचारीहरूबाट कविता वाचन गरिएको उक्त कार्यक्रममा श्रमिक महिला दिवसको अवसरमा भएको विविध प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
दैलेख
१११ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ दैलेख जिल्ला समितिको आयोजनामा सोमबार दैलेखको चामुण्डामा जनसभा भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य तथा नेपाल क्रान्तिकारी महिला सङ्घका अध्यक्ष अनुराधा थापामगरले कामदार महिलाहरूको सङ्घर्ष वर्गसङ्घर्षकै एउटा हिस्सा भएको भन्दै नेमकिपाले कामदार महिलाहरूलाई राजनीतिकरूपले सचेत बनाउने जिम्मेवारीलाई अनेकन प्रतिकूलताबीच अघि बढाइरहेको बताउनुभयो ।

उहाँले शासक दलका नेता र जनप्रतिनिधिहरूसमेत महिला बेचबिखनमा लागेको उदाहरण प्रस्तुत गर्दै बलात्कारीहरूलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रावधान संविधानमा राख्न नेमकिपाका सभासद्हरूले सङ्घर्ष गरेको बताउनुभयो ।
“सदन र सडकमा नेमकिपा र नेक्रामसङ्घले यो प्रस्ताव अघि सार्दा शासक दलका सभासद्हरू मानेनन् । आज तिनै शासक दलहरू बलात्कारीका राजनीतिक संरक्षक बनेका छन्”, अध्यक्ष थापामगरले भन्नुभयो ।
उहाँले वर्तमान सरकार नेकपाको नभई नक्कली कम्युनिस्ट पार्टीको भएको जनताले अनुभव गरिरहेको चर्चा गर्दै पछिल्ला राजनीतिक घटनाक्रमले नक्कली कम्युनिस्टहरूको मुखुण्डो उघ्रिएको बताउनुभयो ।
“नेपाली जनता कोरोना महामारीको सामना गरिरहेको बेला सरकार पशुपतिमा जलहरी चढाउन करोडौँ खर्च गरिरहेको छ । यस्तो सरकार कसरी कम्युनिस्ट सरकार हुनसक्छ ?”, थापामगरले भन्नुभयो ।

दैलेख


नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले संरा अमेरिकाले एमसीसी नामको गुलियो विष नेपाली जनतालाई खुवाउन लालायित भएको चर्चा गर्दै ५५ अर्बको लोभमा देशलाई संरा अमेरिकी साम्राज्यवादको कठपुतली बनाउन नहुने धारणा राख्नुभयो ।
उहाँले एमसीसी नेपाल र नेपाली जनताको हितमा नभएकोले संसदमा पारित गर्न नहुने बताउँदै एमसीसी पारित गराउन चाहने राजनीतिक दल विदेशी दलाल भएको बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य तथा दैलेख जिल्ला समितिका अध्यक्ष जग्यबहादुर शाहीले चामुण्डा–बिन्द्रासैनी नगरपालिकाका प्रमुखलगायत शासक दलका जनप्रतिनिधिहरूले जनताको सम्पत्तिमाथि भ्रष्टाचार गरिरहेको बताउनुभयो । उहाँले सबै शासक दलहरू एउटै परिवारका सदस्य भएको, भान्छामात्र फरक भएको बताउनुभयो ।
“उनीहरूका नाम र झन्डामात्र फरक हुन् । सिद्धान्त र व्यवहारमा कुनै भिन्नता छैन । उनीहरूको मूल लक्ष्य जनतालाई ठग्ने र व्यक्तिगत स्वार्थ पूरा गर्ने हो”, उहाँले भन्नुभयो ।
नेक्रामसङ्घका मनसुपा तारामी मगरको सभापतित्वमा भएको सभामा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्व, नेक्रामसङ्घका केन्द्रीय सदस्य रोशनमैँया सुवाल, नेमकिपा दैलेख जिल्ला समितिका सदस्य निरकबहादुर शाही, रामुसिं शाही, सुरेन्द्र शाहीलगायतले बोल्नुभएको थियो ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै अवसरमा नेक्रामसङ्घको आयोजनामा दैलेखको माथिल्लो डुङ्गेश्वरमा पनि आइतबार जनसभा भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले पुँजीवादी व्यवस्थामा वर्ग विभेदसँगै श्रमिक महिलामाथि हिंसा बढ्ने गरेको उल्लेख गर्नुभयो । उहाँले महिला हिंसाविरुद्ध आन्दोलनलाई वर्गसङ्घर्षकै रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।
“पुँजीवादी व्यवस्थामा संसद् विचारको लडाइँ गर्ने थलो हो । तर, तीन प्रतिशत मत सीमा राख्नुले विचारलाई शासक दलहरूले कुण्ठित बनाउने दुष्प्रयास गरेका छन् । त्यसको विरुद्धमा नेमकिपाले कानुनी र गैरकानुनी सङ्घर्ष अघि बढाएको छ”, काफ्लेले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरुङले ग्रामीण क्षेत्रका महिलाहरू छाउपडी, बोक्सी, दाइजोजस्ता कुप्रथाबाट पीडित भएको भन्दै लैङ्गिक हिंसा र अन्धविश्वासको विरोधमा सामाजिक चेतना जगाउन र सङ्घर्ष गर्न नेक्रामसङ्घले जुझारु कार्यकर्ता तयार गरिरहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा नेक्रामसङ्घका अध्यक्ष अनुराधा थापामगरले बिहान उठेदेखि घाँसदाउरा गर्ने, घरखेतको सबै काम भ्याउने र परिवारको जिम्मेवारी पूरा गरेर पनि शोषण र अन्यायमा परेका नेपाली महिलाहरूलाई राजनीतिकरूपमा सचेत र वर्गीयरूपमा सङ्गठित पार्न नेमकिपा कामदार जनताबीच गइरहेको बताउनुभयो ।
“धर्म र परम्पराको नाममा महिलाहरूलाई अन्धविश्वासमा फसाइएको छ । महिला हिंसा बढ्नुको प्रमुख कारण पुँजीवादी राज्य व्यवस्था हो”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले गाउँ–गाउँमा सिंहदरबार पु¥याउने शासक दलहरूले गाउँ–गाउँमा भ्रष्टाचार र विकृति पु¥याएको बताउनुभयो ।
सीता शाहीको सभापतित्वमा भएको सभामा नेक्रामसङ्घका केन्द्रीय सदस्य रोशनमैँया सुवाल, नेमकिपा गुराँस गाउँका अध्यक्ष उदयजङ्ग शाही, खगिसरा शाही, बसन्ता दाहाललगायतले बोल्नुभएको थियो ।
वागीश्वरी माविमा भेला
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ र नेपाल प्राध्यापक वागीश्वरी एकाइ समितिको संयुक्त आयोजनामा १११ औँ अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा सोमबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईँले पुँजीवादी व्यवस्थामा नारीलाई विज्ञापनको वस्तुको रूपमा दुरूपयोग भइरहेकोमा आपत्ति जनाउँदै श्रमिक नारीको वास्तविक मुक्तिको लागि समाजवादी व्यवस्था आवश्यक भएको चर्चा गर्नुभयो ।
समाजमा व्याप्त महिला हिंसा, दमन, बलात्कारलगायतका विकृतिको मूल जड नै पुँजीवादी व्यवस्था भएको उल्लेख गर्दै उहाँले नारीको समस्यालाई पुरुषबाट पृथक गरेर हेर्न नहुने विचार व्यक्त गर्नुभयो ।

नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले महिला आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोडेर अघि बढ्नुपर्ने र नारी दिवसलाई श्रमिक नारीसित नजोडी नहुनेमा जोड दिनुभयो ।
उहाँले समाजमा पुरुषबाट नारीमात्र नभई नारीबाट पुरुष पनि पीडित हुन थालेका छन् भन्नु हुँदै समाजमा व्याप्त विकृति हटाउन नारी पुरुष दुवैको हातेमालो आवश्यक छ भन्नुभयो ।
नेक्रामसङ्घका केन्द्रीय सदस्य पवित्राकुमारी शाहीले श्रमिक नारी दिवसको आवाज देशका दुर्गम क्षेत्रसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
कलेज व्यवस्थापन समितिका सदस्य एवम् शिक्षिका सुशीला कर्माचार्यले २०४५ सालको भक्तपुर काण्डमा भक्तपुरका श्रमिक महिलाहरूले पञ्चायती दमनको शसक्त ढङ्गले प्रतिकार गरेको प्रशंसायोग्य रहेको बताउनुभयो ।
शिक्षिका सुनिता राउतले समाजमा व्याप्त पितृसत्तात्मक सोचको परिवर्तन पुरूषकै लागि पनि आवश्यक छ भन्दै महिलालाई पुरूषसरह नराख्दा पुरूषहरू महिलाका चौकिदारी गर्न बाध्य भइरहेको दृष्टान्त दिनुभयो ।
कार्यक्रममा शिक्षिकाद्वय निरू ताल्चाभडेलले जेनी माक्र्सको जीवनी र रामलक्ष्मी अवालले क्लारा जेट्किनको जीवनीबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा शिक्षिकाहरू श्रीया पहिजू, गीता खनाल, रूपकेशरी उलक, पूजा शाक्य, मैयाकेशरी कोजूलगायतले श्रमिक महिलाले समाजमा भोगिरहेका विविध समस्याहरूमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा आयोजकका तर्फबाट शिक्षक विश्वेश्वर मानन्धरले स्वागत र गेहेन्द्रप्रसाद दाहालले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
मध्यपुरमा चोक सभा : महिला मुक्ति समाजवादी व्यवस्थामा मात्र
१११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेक्रामसङ्घ मध्यपुर नगर समितिको आयोजनामा सोमबार महिलाहरूको चोक भेला भयो । भेलामा नेक्रामसङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैंया सुवालले अन्तर्राष्ट्रिय श्रमिक महिलाको ऐतिहासिक महत्वबारे चर्चा गर्दै महिलाहरूलाई उत्पादन श्रममा लगाउने, समान कामको समान ज्याला दिलाउन, राजनीतिक गतिविधिमा सामेल गराउन महिला आन्दोलन अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

कामदार महिलाहरूको मुक्ति समाजवादी व्यवस्थामा मात्र सम्भव भएको हुनाले महिला आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोड्न आवश्यक छ भन्ने उहाँको भनाइ थियो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले नेकपाभित्रको झगडा सत्ताको झगडा भएको धारणा राख्दै पुँजीवादी राजनीतिक दलहरूको सत्ताको झगडाले नेपाली जनताको हित नगर्ने बताउनुभयो ।
नेक्रामसङ्घ मध्यपुर नगर समितिका अध्यक्ष मीना प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा मध्यपुर नगर समितिका अध्यक्ष सूर्यराम था, नेक्रामसङ्घका केन्द्रीय सदस्य सुनकेसा शाही, राजकुमार प्रजापति, लक्ष्मीश्वरी भासिमालगायतले बोल्नुभएको थियो ।
चाँगुनारायणमा महिला भेला
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार चाँगुनारायण नपामा महिला भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले पुँजीवादी व्यवस्थाले श्रमिक महिलाहरूको जीवन दिनानुदिन कष्टकर बनाएको धारणा राख्दै राजनीतिकरूपमा सचेत महिलाहरू नै समाजमा परिवर्तनको बाहक बन्न सक्ने बताउनुभयो ।
उहाँले आफूलाई कम्युनिस्ट दाबी गर्ने शासक दलहरूले श्रमिक जनताको हितमा भन्दा पुँजीपति वर्गको हितमा लागेको चर्चा गर्दै महिलाहरूलाई गुणस्तरीय शिक्षा र व्यक्तित्व विकासमा समान अवसर दिइनुपर्ने बताउनुभयो ।

नेमकिपा भक्तपुर जिल्ला समितिका पाण्डव सुवालले पुरुष र महिला श्रमिक वर्ग मिलेर पुँजीवादी व्यवस्थाले थोपरेको शोषण अन्त्य गर्न सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । उहाँले प्राविधिक शिक्षालयहरू स्थापना गरेर महिलाहरूलाई जीवनोपयोगी तालिम सञ्चालन गरी रोजगार बनाउनुपर्ने विचार राख्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य सुलोचना छ्वाजूले श्रमिक महिला दिवसको इतिहासबारे चर्चा गर्दै महिलाहरू राजनीतिक र वर्गीयरूपमा सचेत तथा सङ्गठित बन्न सके महिला मुक्तिसँगै सिङ्गो समाज शोषणबाट मुक्त हुने बताउनुभयो ।
नेक्रामसङ्घ चाँगुनारायण नगर समितिका सदस्य कमला गिरीको सभापतित्वमा भएको कार्यक्रममा मनिता माकजू, रामदेवी थुयाजूलगायतले बोल्नुभएको थियो ।
भक्तपुरमा प्रवचन
१११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार नेक्रामसङ्घ भक्तपुर नगर समितिको आयोजनामा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य, नेक्रामसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष एवम् बाग्मती प्रदेश सभाका सदस्य सृजना सैँजूले मार्च ८ लाई श्रमिक महिलाहरूले पुँजीवादी व्यवस्थाले थोपरेको शोषण र अत्याचारको विरोधमा मनाउने गरेको तर पुँजीपति वर्गका महिलाहरूले गैसस र अन्तर्राष्ट्रिय गैससको पैसा ल्याएर बजेट सिध्याउने गरेको बताउनुभयो ।

भक्तपुर


उहाँले महिला मुक्तिको नाममा कामदार जनताका महिलालाई पुँजीपति वर्गले छलछाम गर्ने गरेको बताउनुभयो । पुँजीपति वर्गका महिलाहरूले सम्पत्तिको कुरा गर्ने तर श्रमिक महिलाहरूले शिक्षा र स्वास्थ्यलाई जोड दिने गरेको सांसद सैंजूको भनाइ थियो ।
उहाँले समाजमा रहेका सामाजिक विकृति र कुप्रथाको विरोधमा महिला सङ्घर्षलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका सदस्य गङ्गाराम ज्याख्वले पुँजीवादी पार्टीहरूले विचार र सिद्धान्तमाथि निषेध गर्न प्रतिनिधिसभामा तीन प्रतिशत र प्रदेश सभामा १.५ प्रतिशतको मत सीमा तोकेर अप्रजातान्त्रिक चरित्र प्रदर्शन गरेको बताउनुभयो ।
नेक्रामसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष कृष्णप्यारी जधारीको सभापतित्वमा भएको कार्यक्रममा नेक्रामसङ्घका केन्द्रीय सचिव प्रतिभा श्रेष्ठ, मञ्जु लाखा, रञ्जना त्वाती, बुद्धलक्ष्मी त्वायना, रत्ना चवाल, मैंयालक्ष्मी त्वाती, बिकुलक्ष्मी कोजूलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *