भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
आज महाशिवरात्री । विभिन्न पूजा अर्चना हुँदै छ । पाप के हो ? धर्म के हो ? यसबारे विभिन्न विचार, सोच र तर्क वितर्क होलान् । तर सामान्यतया धर्म भनेको सबैको हित हुने निःस्वार्थ सेवा हो । बहुसङ्ख्यक गरिब दुःखी जनताको सेवा गर्नुपर्छ । तर, झ्याली पिटे पनि व्यवहारले त्यस्तो भएको पाइँदैन । यदि मुखले भनेजस्तो व्यवहारले गरेको भए देशको अवस्था यो हालतमा हुने थिएन । देशमा गरिब र दुःखी हुने थिएन, पीडित र मागेर खानुपर्नेहरू हुने थिएनन् । सहयोग गर्ने या सेवा गर्ने बढी भयो भने त्यो समाज, त्यो देश राम्रो हुन्छ ।
आज विश्वमा लुटिने गरिब र अशिक्षित जनता धेरै छन् भने लुट्ने र धनी शोषकहरू थोरै छन् । संसारको अधिकांश जमिन, पैसा, उद्योग, कलकारखाना थोरै शोषक, धनी मानिसहरूको हातमा छ । गरिबहरूलाई दैनिक हातमुख जोड्न कठिन छ । नेपालका कुना कन्दरामा गरिब, अशिक्षित, पीडित जनता धेरै छन् भने धनी, शोषकहरू थोरै छन् । गरिब जनतामा बाँडीचुँडी खाने, निः स्वार्थ सहयोग गर्ने संस्कार हुन्छ भने धनी मानिसहरू सबै कुरामा धनसँग तुलना गरेर सहयोग व्यवहार गर्छन् । धनीहरूले कसैलाई सहयोग गर्दा आफूले कति नाफा वा लाभ पाउँछ, त्यसको आधारमा मद्दत गर्छन् । गरिबहरूमा त्यस्तो कुनै स्वार्थ हुँदैन । जहाँ धनको आधारमा व्यवहार हुन्छ, त्यहाँ छलकपट हुन्छ । त्यस्तो ठाउँमा गरिब र अशिक्षित जनता बस्न सक्दैनन् । पैसामा आधारित व्यवस्था पुँजीवादी हो । समान स्वार्थ र सेवामा आधारित व्यवस्था समाजवाद हो ।
मन्दिर या तीर्थस्थलमा देउतालाई पूजा गर्न जाने दाजुभाइ तथा दिदीबहिनीहरूबाट सुन्ने गरिन्छ, ‘घरमा पाप गर्याे, यहाँ धर्म गर्न आयो ।’ त्यस्तै आफू कुन मन्दिरमा देउता स्थानमा गइरहेको भन्ने कुरालाई बिर्सेर बायाँ हातले पूजा सामग्री समाती दायाँ हातले धारे हात लगाएर फलानो यस्तो होस्, फलानो उस्तो भनी सराप्दै हिँडेको पनि देखिन्छ । उनीहरू विवेक गुमाएर गाली गर्छन् । हाम्रा पुर्खाहरूले राम्रा राम्रा देवताको मूर्तिमात्र किन स्थापना गरे होलान्, दानव र राक्षसहरूको मूर्ति किन स्थापना नगरेका होलान् ?
धनको लोभ देखेपछि धर्मलाई लात मारेर समाज या धर्मको मूल्य मान्यताविपरीत धन कमाउँछन् । उनीहरूलाई धन भए पुग्छ, अरू केही चाहिँदैन । उनीहरूलाई छोराछोरी, आमाबाबु, आफन्त, छिमेकी र समाज चाहिँदैन । पैसा भए सबथोक हुन्छ भनी सोच राख्छन् । त्यस्ता अधर्मीहरूलाई शिवजीलाई त्रिशुल चढाए पनि, बसाहा चढाए पनि, देवगणलाई कालो बोका चढाए पनि, लाखबत्ती बाले पनि समयले सजाय दिनेछ ।
आमाबाबुले विगतमा सन्तानको लागि गरेको निः स्वार्थ माया, त्याग, समर्पणलाई बिर्सेर धन र सम्पत्तिसँग तुलना गरेर व्यवहार गर्ने सन्तानहरू पापी हुन् । आमाबाबुलाई घरबाट निकाल्ने, पाटी, सडकमा बास बस्न जान बाध्य पार्ने छोराछोरीहरू, सन्तानहरू पापी हुन् । दाजुभाइ भिन्न हुँदा आमाबाबुको कति सम्पत्ति, जग्गा जमिन छ, बैङ्क ब्यालेन्स भयो भनेमात्र पाल्छु भन्ने सोच राख्ने सन्तान पापी हुन् । म आमाबाबुसँग बस्छु, बाँचुञ्जेल सेवा गर्छु भनी व्यवहारले सेवा गर्नु सन्तानको धर्म हो । आमाबाबुलाई बाँचुञ्जेल विभिन्न लोभ र स्वार्थमा परेर वास्ता नगर्ने, मरेपछि मुख हेर्न पाएन, सेवा गर्न पुगेन भनी लोकपत्यार गर्न छाती पिटीपिटी भाव विह्वल भई रोएर सज्जन हुने होइन । आमाबुबाको कमी कमजोरी भए पनि त्यसलाई बिर्सेर हिजो आफू सानो छँदा हुर्काउन, बढाउन, शिक्षित, दीक्षित तुल्याउन, आफ्नो खुट्टामा आफै उभिन सक्ने सक्षम बनाउन गरेको त्याग, दुःख, मायाको गुणलाई सम्झेर विनालोभ, बाँचुञ्जेल हेरचाह, माया गर्नु छोराछोरी, सन्तानको धर्म हो । आमाबाबुको निःस्वार्थरूपले हेरचाह गर्नु धर्म हो । आमाबाबु पनि निः स्वार्थ रुपले हेरचाह गरिरहेका छोरा बुहारीको सन्तानको गुणलाई बिर्सेर, कुनै अर्काे छोरा बुहारीले एक छाक मिठो खुवायो भन्दैमा, एक जोर राम्रो लुगा लगाइदियो भन्दैमा सोच विचार नगरी, कागले कान लग्यो भन्दैमा आफ्नो कान नै नछामी कागको पछि दगुरे जस्तै पछि लाग्ने आमाबाबुले दुःख पाउँछन् ।
कति पापी छोरा बुहारीहरूले आफ्ना वृद्ध आमाबुबालाई पशुपति नै वृद्धाश्रममा राखेर अभाव, कष्टपूर्ण बन्न बाध्य पारेका छन् । कति पापी छोरी र छोरी ज्वाइँहरूले वृद्ध सासू, ससुराहरूलाई देवघाटलगायतका आश्रमहरूमा बस्न बाध्य पारेका छन् । हामीले त सेवा भोक र अभावमा तडपिरहेका, वृद्धाश्रम, बाटो, पाटी, सत्तल, चौतारीमा बसेर गुजारा गर्न बाध्य दुःखीहरूको सेवा गरेर पीडाबाट मुक्त गरिनुपर्छ । आज पनि हिमाल, पहाड र तराईका बहुसङ्ख्यक गरिब जनता, त्यहाँका धनी, शोषक र सामन्तहरूबाट पीडित छन् ।
छिटो धन कमाउने नाममा जग्गा दलालहरूले पर्ती, सार्वजनिक जग्गा मिचेर, जङ्गल मासेर वृद्ध वृद्धाका जग्गा जमिन विभिन्न अनुचित लोभ देखाएर कब्जा गरेहोलान् । भूमिको प्राकृतिक स्वरूपलाई विनाश गरेर, प्लटिङ गरेर जग्गा बिक्री गरी लाखौँ, करोडौँ त के अर्बाैँ कमाउलान् तर प्रकृति दोहनको फल आज हामी सबैले भोगिरहेका छौँ । त्यसरी कमाएको धनले उनीहरुलाई आनन्द दिनेछैन । त्यसबाट मुक्त हुन देउतालाई भेटी चढाए पनि, कोटीहोम गरे पनि, कालो बोका चढाए पनि, लाख बत्ती बाले पनि मुक्त हुनेछैन । त्यसैले समयलाई ख्याल गरेर राष्ट्र र जनताको सेवा गर्नु र कमाउनु सबैको हितमा हुनेछ ।
बैङ्क र सहकारी संस्थालगायतका वित्तीय संस्थाहरू देश र जनताको सेवा गर्ने संस्थाहरू हुन् । यसका अधिकांश सेवकहरू इमानदारीका साथ सेवा धर्म गरिरहेका छन् । तर, केही सेवकहरू सञ्चालकहरू पैसा भनेपछि महादेवको पनि तीन नेत्र भनेजस्तै तेस्रो आँखाले हेरिरहेका सेवाग्राहीहरू बताउँछन् । केही बैङ्क र सहकारीहरू पनि भताभुङ्ग भएका छन् । सेवाग्राहीहरूले सेवा सुविधा लिँदा प्रक्रिया पूरा गर्नुपर्छ । केही सञ्चालक र सेवक कर्मचारीहरूले प्रभाव र दबाबमा पारेर ‘उसले गर्न हुन्छ भने मैले किन गर्न नहुने, उसले फाइदा लिन मिल्छ भने मैले किन लिन नहुने’ भन्दै व्यक्तिगत अनुचित फाइदा लिइरहेका सेवाग्राहीहरू बताउँछन् । तर, इज्जतभन्दा धन सम्पत्ति ठूलो हुन सक्दैन । इज्जत कमाउन गा¥हो छ, सानो गल्तीले जिन्दगीभर मेहनत गरेर कमाएको इज्जत तासको घर ढलेजस्तै ढल्न सक्छ । त्यसैले यस्ता गलत सोच, कार्य वा पापबाट बच्न सचेत सेवाग्राहीहरूले खबरदारी गरिरहेका छन् ।
प्रकृतिले जसरी घामपानी सबैलाई निःशुल्क समान र सहजरूपले प्रदान गरिरहेको छ । त्यसरी नै हाम्रो काम, परिश्रमबाट सबैले समान सेवा प्रदान गर्नु धर्म हो । हाम्रा पुर्खाहरूले, अग्रजहरूले बाटो बनाएर, पाटी बनाएर, धारा बनाएर कुवा बनाएर, चौतारी बनाएर मठ मन्दिरहरूको पुनः निर्माण गरेर, संरक्षण गरेर सेवा गरिरहेका छन् । यसबाट सबैले समान सेवा पाइरहेका छन् । त्यस्तै भक्तपुर नगरपालिकाले यसरी नै जनताको सेवा गरिरहेको छ । भक्तपुर नगरपालिकाले हाम्रा पुर्खाहरूले बनाएर सुम्पेका मठ मन्दिरहरू, दरबारको पुनः निर्माण गरेको छ, मर्मत गरेको छ अनि संरक्षण गरेको छ । पाटी ढुङ्गेधाराहरूको उत्खनन र पुनः निर्माण गरिरहेको छ । त्यसमा जनताले साथ दिइरहेका छन् । त्यो पाटी, त्यो मन्दिर, त्यो ढुङ्गेधाराले सबैको सेवा भइरहेको छ । नगरको मुख्य बाटो च्याम्हासिंहदेखि भार्वाचोसम्म ढुङ्गाले छापेर बाटो राम्रो र सफा बनाएको छ । यसले सबैको गौरव बढाएको छ । जनस्वास्थ्य सेवा केन्द्रहरू सञ्चालित छन् । श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालित छ । यसले भक्तपुरलगायत देशका विभिन्न क्षेत्रका जनताले सेवा सुविधा पाइरहेका छन् । ख्वप अस्पताल चाँडै सञ्चालन हुँदै छ । त्यसले अझ थप सेवा सुविधा जनताले पाउँदै छन् । नगरपालिकाले विभिन्न कलेजहरू सञ्चालन गरिरहेको छ । यसले देशका सबै जिल्लाका जनताका छोराछोरीहरूले सस्तोमा गुणस्तरीय शिक्षा पाइरहेका छन् । तर, शासक दलहरूले भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालन गर्ने स्वीकृति दिन अनकनाइरहेका छन् ।
आज भारतले नेपालको सुस्ता, कालापानी, लिम्पियाधुरालगायत ७१ भन्दा बढी स्थानमा नेपालको भूमि मिचेर पापी काम गरिरहेको छ । आफ्नो देशको सीमा मिच्न नदिन सीमानाकाका नेपाली दाजुभाइहरू ज्यान अर्पेर लडिरहेका छन् । देशको रक्षा गरेर देशको सेवा गरिरहेका छन् । शिवरात्रीको अवसरमा अतिक्रमित भूमि फिर्ता गर्न सरकार र शासक दलहरूलाई सद्बुद्धि देऊन् ।
Leave a Reply