भर्खरै :

जेएनयूकी विद्यार्थी नेतृ घोष पश्चिम बङ्गालको चुनावमा लड्ने

नयाँ दिल्ली, ११ मार्च (टेलिसुर) । जवाहरलाल नेहरू विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनकी सभापति विद्यार्थी नेतृ आइसे घोषलाई भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले पश्चिम बङ्गालको विधानसभा निर्वाचनमा उम्मेदवार खडा गरेको छ ।
तिनलाई वामपन्थी–काङ्ग्रेस गठबन्धनको उम्मेदवारको रूपमा जमुरियम निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाइएको हो । तिनको उम्मेदवारीलाई भारतमा कृषि कानुनहरूको विरोधमा आन्दोलनरत संयुक्त किसान मोर्चाले पनि समर्थन गरेको छ ।
जनवरी ५,२०२० मा मुकुण्डो लगाएका गुण्डाहरूले जेएनयूको क्याम्पस परिसरमा आई विद्यार्थीहरूमाथि गरेको साङ्घातिक आक्रमणमा नेतृ घोष पनि गम्भीर घाइते भएकी थिइन् । तिनको निधारमा चोट लागी रगत बगिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो र उक्त क्रूर आक्रमणको प्रमाण पनि बनेको थियो ।
नेतृ घोषले त्यतिबेलै ती आक्रमणकारीहरूमध्ये केहीलाई आफूहरूले चिनेको र तिनीहरू राष्ट्रिय स्वयम्सेवक सङ्घका प्रचारक तथा त्यसको विद्यार्थी फाँट अखिल भारतीय विद्यार्थी परिषद्का सदस्यहरू भएको भन्दै जाहेरी दिल्ली पुलिसमा दर्ता गराएकी थिइन् । तर, दिल्ली पुलिसले क्याम्पसको होस्टेलमा रहेका विद्यार्थीहरूमाथि स्थानीय जनताको भीडले आक्रमण गरेको र कसैको पनि पहिचान नखेलेको दाबी गर्दै घटनालाई त्यतिकैमा छोडिदिएको थियो ।
पश्चिम बङ्गालको २९४ सदस्यीय विधानसभाको निर्वाचन आठ चरणमा हुने गरी मार्च २७ बाट सुरु हुँदै छ । अन्तिम चरणको निर्वाचन अप्रिल २९ का दिन हुनेछ र मतगणना मे २ को दिनदेखि हुनेछ ।
यसैबीच जेएनयू विद्यार्थी युनियनका पूर्वसभापति तथा वामपन्थी नेता कन्हैया कुमारले आइसे घोषको उम्मेदवारप्रति पूर्ण साथ र समर्थन जनाउँदै घोषको निर्भिक र स्वच्छ छविलाई राष्ट्रिय गठबन्धनले आफ्नो प्रचारको भाग बनाउनुपर्ने बताउनुभयो ।
गठबन्धनमा भारतका वामपन्थी पार्टीहरूसँगै काङ्ग्रेस र इन्डियन सेक्युलर फ्रन्ट पनि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *