स्तनपानसम्बन्धी सरोकारवाला निकायहरूलाई अभिमुखीकरण
- बैशाख ३१, २०८३
प्राध्यापक माणिकलाल श्रेष्ठ रहनुभएन । विशेषतः नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समयसम्म उहाँको अभाव खट्किनेछ । गहन दर्शन र विचारधारालाई सरल ढङ्गले व्याख्या गर्ने खुबी भएका प्राध्यापक श्रेष्ठ नेपालका धेरै वामपन्थी नेता र कार्यकर्ताका गुरु र प्रशिक्षक हुनुहुन्थ्यो । कुनै पनि विषयलाई ऐतिहासिक विकासक्रमसँग जोडेर बुझाउने क्षमता भएकाले पनि उहाँ धेरैका प्रिय गुरु हुनुहुन्थ्यो । उहाँले विभिन्न राजनीतिक विचारधारा, दर्शन र घटनाक्रमबारे लेख्नुभएका लेख–रचनाको सङ्कलन र प्रकाशन नेपाली साहित्यको निम्ति महत्वपूर्ण योगदान हुन सक्छ । माक्र्सवाद–लेनिनवाद, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, रूसी क्रान्ति, चिनियाँ क्रान्ति, कोरियाली क्रान्ति, विश्व कम्युनिस्ट आन्दोलनमा देखापरेका पुँजीवादी विचारधाराबारे प्राध्यापक श्रेष्ठले लेख्नुभएका लेखहरू नेपालका प्रगतिशील अध्येताको निम्ति आँखा बनेका छन् ।
नेपालको कम्युनिस्ट आन्दोलनमा झाङ्गिएको संशोधनवादी विचारधाराको विरोधमा उहाँले लगातार वैचारिक सङ्घर्ष गर्नुभयो । उहाँले जनताको बहुदलीय जनवाद (जबज) लाई कम्युनिस्ट आन्दोलनभित्रको संशोधनवादी र पुँजीवादी विचारधाराको रूपमा सुरुदेखि नै प्रस्ट व्याख्या गर्नुभएको थियो । विश्वका विभिन्न देशको संशोधनवादी विचारधारासँग नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएको संशोधनवादको तुलनात्मक अध्ययन गर्दै क्रान्तिविरोधी विचारधाराविरुद्ध लगातार बोल्दै र लेख्दै आउनुभएको थियो ।
प्राध्यापक श्रेष्ठले नेपालको भाषिक तथा सामाजिक आन्दोलनमा पनि महत्वपूर्ण योगदान गर्नुभयो । विशेषतः स्थानीय तहमा मातृभाषा शिक्षणमा उहाँले लिनुभएको अग्रसरता समयक्रममा अपरिहार्य पुष्टि भएको छ । साथै नेपाल संवत्लाई मौलिक र ऐतिहासिक संवत्को मान्यता दिलाउन उहाँले बौद्धिक क्षेत्रमा उल्लेखनीय योगदान गर्नुभयो ।
लामो समयसम्म त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपालभाषा विभागमा प्राध्यापन गर्नुभएका श्रेष्ठले नेपालभाषाको उच्च शिक्षाको लागि पाठ्यसामग्री तयार गर्न योगदान गर्नुभयो । विशेषतः साहित्य समालोचना विषयमा उहाँले लेख्नुभएका पुस्तक सर्वदा सान्दर्भिक छन् । उहाँले विभिन्न भाषाका साहित्य नेपालभाषा र नेपाली भाषामा अनुवाद गरी नेपालको साहित्य भण्डारलाई धनी बनाउन महत्वपूर्ण भूमिका निभाउनुभयो । नेपालभाषाको समालोचनामा उहाँले लेख्नुभएको समालोचना उच्चस्तरीय मानिन्छ । उहाँले नेपालभाषामा लेखेका विभिन्न कृतिको समालोचनाले नेपालभाषाको साहित्यिक स्तरोन्नतिमा महत्वपूर्ण पाइलाको रूपमा हेरिएको छ ।
प्राध्यापक श्रेष्ठको बौद्धिकता निकै फराकिलो भएर पनि उहाँका कृतिहरू मूलतः नेपालभाषामा मात्र सीमित हुँदा नेपाल र अन्तर्राष्ट्रियरूपमै धेरै जिज्ञासु नयाँ पुस्ताले उहाँबाट सिक्ने अवसरबाट वञ्चित हुनुपरेको छ । उहाँका सर्वकालिक कृतिहरूको विभिन्न भाषामा अनुवाद हुन सके उहाँको व्यक्तित्व अझ उज्यालो बन्नेछ । प्राध्यापक माणिकलालका बहुआयामिक व्यक्तित्व उजागर गर्न जति अध्ययन हुनुपथ्र्यो, हुन सकेको छैन । उहाँको व्यक्तित्वलाई नै केन्द्र बनाएर केही कृतिहरू प्रकाशित भए पनि अझै पनि अध्ययन गर्नुपर्ने उहाँका धेरै आयाम बाँकी नै छन् ।
माणिकलाल श्रेष्ठले जीवनभर आफ्नो विचारधारामा कहिल्यै सम्झौता गर्नुभएन । जीवनका अन्तिम दिनमा उहाँले दिनुभएको एउटा अन्तर्वार्तामा पनि नेपालका संशोधनवादी दलहरूको वैचारिक स्खलनप्रति खेद व्यक्त गर्नुभयो । आजीवन समाजमा क्रान्तिकारी परिवर्तनको निम्ति आफ्नो बौद्धिक क्षमताको योगदान गर्नुभएका प्राध्यापक माणिकलाल श्रेष्ठप्रति हार्दिक श्रद्धासुमन !
Leave a Reply