भर्खरै :

मूल्यवृद्धि चुलियो : तरकारीको मूल्यमा व्यापारीको मनपरी

सिलगढी, ७ चैत । बजारमूल्य हस्तक्षेप तथा नियन्त्रण गर्न सरकारले हरेक वर्ष बजेट विनियोजन गरे पनि महँगी नियन्त्रणमा आउन सकेको छैन । यसको सट्टा बजारमूल्य बर्सेनि बढेको बढ्यै छ ।
डोटी जिल्लाका प्रमुख व्यापारी केन्द्रहरूमा पछिल्लो समय तरकारीको मूल्य एकाएक वृद्धि भएको छ । दैनिक भान्सामा प्रयोग हुने तरकारीको मूल्य बढेपछि उपभोक्ता आक्रोशित बन्दै गएका छन् ।
व्यापारीले तरकारीमा मनपरी मूल्य कायम गरेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने उपभोक्ताको माग छ । विगत एकहप्तादेखि डोटीमा हरियो तरकारीको मूल्य अस्वाभाविकरूपमा बढेको उपभोक्ताको गुनासो छ । तरकारीको मूल्य बढेपछि यहाँका होटल तथा स्थानीय उपभोक्ता बढी मारमा परेको दिपायल पिपल्लाका स्थानीयवासी मानबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “उपभोक्ताको मागअनुसार तरकारी आउन छोड्यो, व्यापारीले मनपरी मूल्य काम गरे नियन्त्रण गर्ने कसले ?”
यसैगरी तरकारीसँगै फलफुलको मूल्यमा समेत वृद्धि भएको बताइएको छ । फलफुलहरूमा स्याउ, अनार, सुन्तलालगायतका मूल्य बढेको उपभोक्ताको गुनासो छ । स्थानीय उपभोक्ता रामसिंह कार्कीका अनुसार यहाँका तरकारी बजारमा सबैभन्दा बढी गोलभेँडाको भाउ बढेर प्रतिकिलो रु. २०० तथा प्याजको मूल्य पनि रु. २०० पुगेको छ ।
केही दिनपहिले प्रतिकिलो रु. १०० मा पाउने गरेको गोलभेँडा एकाएक दुईगुणाले वृद्धि भएको अर्का उपभोक्ता वीरभान विकले बताउनुभयो । उहाँले भन्नुभयो, “सबैभन्दा बढी प्रयोग हुने प्याज र गोलभेँडा हो, त्यसैको भाउ बढेपछि कसरी घर खर्च चलाउने ।”
पर्याप्त मात्रामा पानी नहुँदा यहाँका कृषकले बेमौसमी तरकारी खेती निकै कम गर्दै आएका कारण तराईबाट तरकारीलगायत अन्य सामग्री आयात गर्नुपरेकोले मूल्यवृद्धि भएको श्रीवास्तव तरकारी पिपल्लाका व्यापारी महेश श्रीवास्तवले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गाउँबाट तरकारी खासै आउँदैन, तराईबाट तरकारी आयात गर्नुपरेका कारण मूल्यवृद्धि भएको हो, तराईमै मूल्य बढेका कारण यहाँ पनि मूल्य बढेको हो ।”
छिमेकी जिल्ला डडेल्धुरा, कैलाली, कञ्चनपुरबाट यहाँ बर्सेनि तरकारी आयात गरिँदै आएको छ । त्यस्तै बजारमा अहिले आलु प्रतिकिलो रु. १५०, लौका प्रतिकिलो रु. ९०, हरियो खुर्सानी प्रतिकिलो रु. १५०, स्मिला प्रतिकिलो रु. ८० रहेको तरकारी व्यापारी बताउँछन् ।
यति मात्र नभई यहाँको बजारमा तरकारीको मूल्य एकरुपता नभएका कारण व्यापारीले पसलैपिच्छे तरकारीको मूल्य अलग–अलग लिने गरेको उपभोक्ताको गुनासो छ । दिपायलका स्थानीयवासी दिनेशबहादुर खत्रीका अनुसार यहाँका तरकारी पसलमा पसलैपिच्छे अलग–अलग मूल्य लिइँदै गरेको छ । मूल्यमा एकरुपता ल्याउनका लागि सम्बन्धित निकायले कुनै चासो देखाएको छैन ।
मूल्यवृद्धि भएका वस्तुमध्ये यी त केही उदाहरणमात्र हुन् । राजनीतिक अस्थिरतासँँगै बजारमूल्यमा चलखेल बढ्दो छ । मूल्य बढ्नुका खास कारण नभए पनि व्यवसायीले आफूखुसी मूल्य तोकेका छन् । बजारमा तरकारी, तेल र खाद्यान्नको मूल्यवृद्धि अनियन्त्रित भए पनि यो साता यससँग सम्बन्धित बजार अनुगमन भने कुनै निकायबाट हुन सकेको छैन । तरकारी, खाने तेल र खाद्यान्नको मूल्यले उपभोक्ताको ढाड सेकिएको बेला जिल्लास्थित बजार अनुगमन समितिले अनुगमनलाई प्रभावकारी बनाउन नसकिएको उपभोक्ताको गुनासो छ । “मूल्य बढ्नुको एउटै कारण राजतीनि नै हो”, स्थानीय उपभोक्ता मानबहादुर धामीले भन्नुभयो ।
पछिल्लो समय तरकारी, खाने तेल र खाद्यान्नको मूल्य पनि क्रमिकरूपमा बढ्दै गएको छ । तर बजार अनुगमन समितिले हस्तक्षेप गर्न सकेको छैन । हुन त समितिले अनुगमन नै नगरेको पनि होइन । तर, प्रभावकारी हुन नसकेको उपभोक्ता अधिकारकर्मीहरूको भनाइ छ । अनुगमन भएपनि त्यो सङ्ख्यात्मक र देखावटीमात्र भएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । उहाँहरूले भन्नुभयो, “अनुगमन जागिर र भत्ताका लागि मात्रै हुँदा उपभोक्ताले राहत महसुस गर्न पाएका छैनन् ।” कानुनविपरीत काम गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने उहाँहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *