भर्खरै :

चितवनमा जिल्लास्तरीय भेला एवम् प्रशिक्षण कार्यक्रम

रत्ननगर, ७ चैत । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नेमकिपा चितवन जिल्ला समितिको आयोजनामा जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार रत्ननगरमा सम्पन्न भयो ।
कार्यक्रममा केन्द्रीय सदस्य प्रजापतिले पुँजीवादी प्रजातन्त्रमा संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई हुने बताउँदै राजनीति कहिल्यै सरल बाटोमा हिँड्दैन भन्नुभयो ।
सशस्त्र सङ्घर्षबाट राज्य सत्ता कब्जा गरेको इतिहासबारे प्रशिक्षित गर्दै उहाँले प्रजातान्त्रिक समाजवाद भनेको पुँजीवादी व्यवस्था भएको बताउनुभयो । पुँजीपति वर्गको हितमा काम गर्ने, राज्यका उद्योग—कलकारखाना निजीकरण गर्नेहरू कम्युनिस्ट हुनै सक्दैन भन्दै उहाँले नेपाललाई छिमेकी देश भारतले आर्थिकरूपले उपनिवेश बनाउँदै छ भन्नुभयो ।
नेपालको शासन सत्तामा जाने नेताहरू विदेशी दलाल सावित हुँदै गएको बताउँदै प्रमुख प्रजापतिले नेपालको राजनीति विदेशकेन्द्रित हुनुमा शासकहरू दोषी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले केपी ओलीको देशघाती काममा समर्थन गरेको होइन, नेपालको सार्वभौमिकता रक्षा गर्ने सवालमा मात्र समर्थन गरेको हो । नेमकिपा व्यापक जनताको राजनीतिक चेतनास्तर उठाउने अभियानमा क्रियाशील छ ।”
उहाँले चुनावदेखि डराउनेहरू प्रजातन्त्रवादी हुनसक्दैन भन्नुभयो । सशस्त्र सङ्घर्षबाट मात्र समाजवाद स्थापना हुने धारणा व्यक्त गर्दै उहाँले राजनीतिक स्पष्टता र शत्रुलाई सजिलै चुनावमा जित्न नदिन नेमकिपाले चुनावको उपयोग गर्ने बताउनुभयो ।
नेमकिपा चितवन जिल्ला समितिका अध्यक्ष हरिप्रसाद दुवालले पार्टी प्रकाशनहरू नियमित अध्ययनमा जोड दिनुपर्ने र सैद्धान्तिक छलफलको माध्यमबाट सङ्गठन विस्तारमा आआफ्नो तर्फबाट अग्रसर रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा श्यामकृष्ण खत्री, नेक्राविसङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाश गुरुङ, नेक्रायुसङ्घ चितवनका जिल्ला अध्यक्ष ज्ञानेन्द्र चेपाङ, नेमकिपा चितवन जिल्ला समितिका सदस्य सुमित्रा महतो, नेक्राकिसङ्घ चितवनका सदस्य मोहनबहादुर चेपाङ, नेमकिपा चितवनका उपाध्यक्ष राजकुमार श्रेष्ठ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ चितवन जिल्ला सचिव अर्जुन चेपाङलगायतले बोल्नुभएको थियो ।
यसैबीच नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा रत्ननगरमा विद्यार्थी भेला भयो । सो भेलाले अर्जुन चेपाङको संयोजकत्वमा ९ सदस्यीय नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ पाँचौँ जिल्ला सम्मेलन तयारी समिति चितवन गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *