भर्खरै :

सफल विद्यार्थीलाई सूर्यमढीमा बधाई

भक्तपुर, ७ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ ९ वडा सूर्यमढी प्रारम्भिक समितिको आयोजनामा २०७५ र २०७६ सालमा दश जोड दुई, स्नातक तह, स्नातकोत्तर तह र एमफिल तह उत्तीर्ण वडाका विद्यार्थीलाई बढाई ज्ञापन तथा सांस्कृतिक कार्यक्रम शुक्रबार भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले राजनीति भनेको राम्रो काम गर्नु हो । तर, सरकारमा गएका पार्टी र तिनका नेताहरूले बेइमानीलाई राजनीति ठान्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आजसम्मका सरकारकै कारण नेपालीलाई शिक्षा–स्वास्थ्य महँगो भएको हो । सरकारले नै नयाँ पुस्ताको भविष्य अँध्यारो बनाउँदै छ ।”
शिक्षा सबैको निम्ति सुलभ भए प्रजग कोरियाजस्तै देश स्वाधीन र जनता स्वाभिमान हुने धारणा सचिव सुवालले राख्नुभयो ।
विदेशीले सरकारमा गएका दलहरूलाई संयुक्त चुनावी मोर्चा, संयुक्त सरकार र पार्टी एकता गराएको पुष्टि हुँदै आएको चर्चा गर्दै उहाँले भन्नुभयो, “लिम्पियाधुरामा दाबी नगर्ने र एमसीसी सम्झौता गर्ने सर्तमा प्रतिनिधिसभा पुनःस्थापना गराइएको भए त्यो देशघाती कदम हुनेछ ।”
सचिव सुवालले भन्नुभयो, “काठमाडौँ उपत्यकाका भूकम्प पीडितहरूलाई अनुदानको व्यवस्था र सहुलियत ब्याजको आवास ऋण चालू राख्नु आवश्यक छ ।”
नेक्राविसङ्घले उठाएको विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क व्यवस्था नभएसम्म देश र जनताको हित नहुने सचिव सुवालले प्रस्ट पार्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले असल संस्कारको विकास गर्नुपर्नेमा जोड दिँदै व्यवहारिक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेक्राविसङ्घ केन्द्रीय समितिका अध्यक्ष सविन ख्याजुले व्यक्तित्व विकासमा समान अवसर हुनुपर्नेमा जोड दिँदै ग्रामीण र विकसित जिल्लाका विद्यार्थीबीच विभेद हुन नहुने र पढाइअनुसारको कामको व्यवस्था हुनुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष सम्राट प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा सूर्यमढी प्रारम्भिक समितिका अध्यक्ष दिलभक्त कोजू, भक्तपुर नपा ९ वडा समितिका वडा सदस्य छोरीमैया सजखु, नेक्राविसङ्घ भक्तपुर नगर समितिका मनिष गोरालगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा २०७५ र २०७६ सालमा दशजोड दुई उत्तीर्ण हुने विद्यार्थी ८२ जना, स्नातक तह उत्तीर्ण २४ जना, स्नातकोत्तर तह उत्तीर्ण ११ जना र एमफिल तह उत्तीर्ण हुने १ जनालाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *