भर्खरै :

प्राध्यापक माणिकलाल श्रेष्ठको जीवन परिचय–४

समालोचक माणिकलाल श्रेष्ठ ख्यातिप्राप्त समालोचक हुनुहुन्छ । नेपालभाषा साहित्य क्षेत्रमा उहाँभन्दा अघिका समालोचकहरू रत्नध्वज जोशी र माधवलाल कर्माचार्य समालोचनामा मात्र सिर्जनात्मक गतिविधिमा पनि सक्रिय हुुनुभयो । माधवलाल कर्माचार्य विशिष्ट कवि र रत्नध्वज जोशी विशिष्ट निबन्धकार भएको हामीलाई थाहा छ । त्यस्तै कृष्णचन्द्र सिं प्रधान पनि मूलतः समालोचना क्षेत्रमा सक्रिय भए पनि केही सिर्जनात्मक गतिविधिमा अग्रसर हुनुभएको देखिन्छ । विशेषतः निबन्ध विधामा उहाँले कलम चलाउनुभयो । नेपालभाषाका विशिष्ट कविहरू सिद्धिचरण श्रेष्ठ र चित्तधर हृदयले पनि नेपालभाषा साहित्यको समालोचना क्षेत्रमा मनग्य योगदान पु¥याउनुभएको छ । तर, यी परम्पराभन्दा विपरीत माणिकलाल श्रेष्ठको विशिष्टता समालोचना क्षेत्रमा मात्र देखिन्छ । उहाँले सिर्जनात्मक गतिविधिमा कलम चलाउनुभएन । यसलाई कमलप्रकाश मल्लले माणिकलाल श्रेष्ठको विशेषता भन्नुभएको छ । हुन पनि समालोचनाबाहेक माणिकलालले इतिहास र राजनीति विषयमा धेरै अनुसन्धानमूलक लेख रचना प्रकाशित भएका छन् । कानुन विषयमा पनि केही सङ्ख्यामा लेख रचना प्रकाशित भएका छन् । तर, साहित्यिक क्षेत्रमा सिर्जनात्मक कृति भने कुनै पनि प्रकाशित भएको छैन । साहित्य सिर्जना क्षेत्रतिर उहाँको कलम किन अग्रसर भएन भनी सोध्दा उहाँले सधैँ ‘समालोचक भनेका असफल कवि हुन्’ भन्ने अङ्ग्रेज कवि वर्डसवर्थको भनाइमात्र दोहो¥याउनुभयो । त्यसो भए के तपाईँ पनि कवि बन्ने प्रयास असफल भएपछि समालोचना क्षेत्रमा कलम चलाउनुभएको हो कि भनी जिज्ञासा राख्दा उहाँले भन्नुभयो, “कवि बन्ने प्रयास असफल भएपछि म समालोचना क्षेत्रमा आएको होइन । मैले साहित्यिक क्षेत्रमा समालोचनाबाटै प्रवेश गरेको हुँ । यद्यपि, मैले पछि कविता लेख्न प्रयास भने गरेको थिएँ । तर, मेरो प्रयास सफल नभएको मैले अनुभव गरेँ ।”

समालोचक माणिकलाल श्रेष्ठको कथनअनुसार विश्व सर्वहारा आन्दोलनका शीर्षस्थ नेता सोभियत सङ्घका कम्युनिस्ट पार्टीका महासचिव स्तालिनको निधन भएको केही वर्षपछि विसं २०१३ सालतिर उहाँले ‘स्तालिन मसीनि’ (नेपालभाषा) शीर्षकमा एउटा कविता लेख्नुभयो । स्तालिन बाँचिरहनु हुनेछ, विश्वभर श्रमिकहरूले श्रम गर्ने कारखानाका मेसिनका आवाजमा मजदुरहरूले स्तालिनका आवाज सुनिरहनेछन्, विश्वका सामन्त, शोषक र प्रतिक्रियावादीहरूले स्तालिनलाई आफ्ना काल भएर बाँचिरहने भाव अभिव्यक्ति गर्दै अर्थात् क्रान्तिकारीहरूका प्रेरणा र प्रतिक्रियावादीहरूको विनाशका नायक बनी स्तालिन अमर रहनु हुने भावना कवितामा व्यक्त गर्नुभयो । उहाँको यो कविता प्रकाशनको लागि ‘पासा’ (नेपालभाषा) पत्रिकालाई दिनुभयो । तर, कविता प्रकाशित भएन । प्रकाशित नहुनुको कारणबारे उहाँले पत्रिकाका सम्पादक कृष्णचन्द्रसिंह प्रधानलाई सोध्नुभयो । सम्पादक प्रधानले उहाँको कविता कविताभन्दा बढी राजनीतिक पर्चाजस्तै भएको बताउनुभयो । प्रधानले माणिकलाललाई ‘सिर्जनात्मक लेखनतिरभन्दा समालोचनातिर नै ध्यान दिनु उपयुक्त हुने’ सल्लाह दिनुभयो । यो घटना माणिकलाल श्रेष्ठले करिब २८ वर्षपछि २०४२ सालमा नेसं ११०५ कछलाथिंला, सितु अङ्क ६८ मा सार्वजनिक गर्नुभयो । त्यसपछि उहाँले ‘म कवि बनिनँ’ शीर्षकको एउटा लेख लेख्नुभयो । सो लेखमा उहाँले ‘पासा’ पत्रिकाका सम्पादकले कविता नमानेको रचनाका केही पङ्क्ति उद्धृत गर्नुभयो । उहाँले आफ्नो त्यो कविताका पङ्क्तिमा केही सन्देश छ, सीधा सीधा प्रचार पनि भएको लेख्नुभयो । माणिकलालले कवितामा केही प्रचार भएको स्वीकार गरे पनि त्यो कविता नै भएको दाबी गर्नुभयो । साहित्यमा प्रचारबाजी हुन्छ वा हुन्न, हुने भए त्यो कस्तो प्रकारले आउनु उपयुक्त हुन्छ, साहित्यिक रचनामा कला पक्ष र विचार पक्षमा के कस्तो स्थान हुन्छ आदि विषयमा उहाँले स्पष्ट पार्नुभएको थियो । त्यो लेखमा माणिकलालको साहित्यसम्बन्धी धारणा र समालोचनात्मक पद्धतिबारे लेख्नुभएको छ ।
‘म कवि बनिनँ’ शीर्षकको लेखमा उद्धृत ‘विवादास्पद कविता’ का केही पङ्क्ति प्रस्तुत छ:
‘मस्को रेड स्क्वायरमा रहेको मसोलियन बाहिर
श्वास फेर्दै गरेका मानिसहरू
श्वास रोकिसकेका स्तालिनलाई श्रद्धा अर्पण गर्न घण्टौँ उभिएर
शिरमा दिनदिनै रेखा कोरिरहेका छन्– सङ्घर्ष र सच्चा जीवनको चिह्न ।
आज मानिसहरू भन्दै छन्–स्तालिनको निधन भयो
स्तालिनको निधन भएको आज चार वर्ष बितिसकेको छ ।
तर स्तालिनका शत्रु भन्ने पुँजीवादी देशका शक्तिरूपी
ठूलठूला कलकारखानाका मजदुरहरूमा भने
आज पनि प्रत्येक मेसिनका पार्टपुर्जा चल्दा
एउटै आवाज गुञ्जिरहेको छ–स्तालिन मरेका छैनन् !
बाँचिरहेका छन् हाम्रो सङ्घर्ष बनेर ।
उपनिवेशबाट मुक्तिको लागि लड्दै गरेका जनताले
हानेका हरेक गोलीबाट सुन्दै छन्
स्तालिन मरेका छैनन्, जिउँदै छन्–हाम्रो विजयको विश्वास बने ।
त्यही बेला विश्वभरका शोषकहरू
सामन्त र तानाशाहहरू चिच्याए–
स्तालिन मरेका छैनन्, जिउँदै छन्, हाम्रो काल बने ।’
त्यस्तै साहित्यमा प्रचार उचित वा अनुचित भन्ने विषयमा उहाँले सो लेखमा केही वाक्य लेख्नुभएको थियो । उहाँका केही वाक्यहरू–कविता वा कुनै पनि रचनामा प्रचार आउनु के उचित हो ? ‘प्रोपागान्डा’ शब्दमा निहीत खराब अर्थ र प्रचार शब्दको अर्थ एउटै होइन । प्रोपागान्डाको अर्थ झूटलाई पनि सत्य बनाउने उद्देश्यले प्रेरित भई गरिएको काम हो भने प्रचार बनेको कुनै पनि कुरा सबैलाई सुनाउनु रबुझाउनु हो ।
साहित्यमा कला पक्ष र विचार पक्षको महत्वबारे उहाँले सो लेखमा लेख्नुभएको छ–हामीलाई असल सन्देश भएको साहित्य चाहिएको हो । जनताको भलो हुने असल सन्देश दिने साहित्य तर कलाको दृष्टिले पनि उत्कृष्ट बनाउन हामीले प्रयास गरिरहनुपर्छ । विचार पक्ष राम्रो भएका रचना कलाको दृष्टिले कमजोर भए केही बिगार गर्दैन । प्रभावमात्र प्रभावकारी नहुने हो । तर, जनविरोधी विचारधारा भएको रचना कलाको पक्षमा राम्रो हुँदा झन् डरलाग्दो हुन्छ । जब साहित्य कलाको कारण प्रभावकारी बन्छ, तब प्रतिक्रियावादी विचारले समाजलाई बिगार्छ, जनताको अहित हुन्छ ।’
यसप्रकार माणिकलालका साहित्यसम्बन्धी माक्र्सवादी दृष्टिकोणअनुसार उहाँको कविता उत्कृष्ट नै नभए पनि स्वस्थ भने अवश्य बनेको छ । तर, ‘पासा’ का सम्पादकले त्यसलाई प्रकाशन गर्न योग्य अनुभव नगरेकोले अथवा अरू नै कुनै कारणले प्रकाशित नभएको हुनाले माणिकलालमा कविता लेखनको इच्छा भने क्रमशः छायामा पर्दै गयो ।

शैक्षिक र राजनीतिक गतिविधिका साथै माणिकलाल श्रेष्ठले सामाजिक र सांस्कृतिक पक्षमा पनि धेरै सार्वजनिक गतिविधिमा संलग्न हुनुभयो । युवावस्थामा नै उहाँ नेपाल–चीन मैत्री सङ्घ र नेपाल–कोरिया मैत्री सङ्घका संस्थापक सदस्य बन्नुभयो । नेपाल–चीन मैत्री सङ्घ स्थापना भएको केही वर्षपछि सन् १९५७ को सुरुदेखि सन् १९६० को अन्तसम्म उहाँ महासचिव पदमा रहेर काम गर्नुभयो । विसं २०१७ सालमा जेल परेपछि उहाँ नेपाल–चीन मैत्री सङ्घसँग सम्पर्क टुट्यो । जेलबाट रिहा भएपछि उहाँले नेपाल–चीन सांस्कृतिक परिषद्मा काम गर्नुभयो । सन् १९६४ देखि १९७१ सम्म सात वर्ष उहाँ सो संस्थाका कोषाध्यक्ष बन्नुभयो ।
नेपाल र कोरियाबीच मैत्री सम्पर्क स्थापनामा उहाँले महत्वपूर्ण योगदान गर्नुभयो । सन् १९५७ मा नेपाल–चीन मैत्री सङ्घ स्थापना हुँदादेखि नै उहाँ उपाध्यक्ष हुनुभयो । सन् १९९२ देखि उहाँ नेपाल–चीन मैत्री सङ्घको अध्यक्ष बन्नुभयो । कोरियाली नेता किम इल सङको जुछे विचारधाराको अध्ययन–अनुसन्धानमा पनि माणिकलालको विशेष संलग्नता देखिन्छ । उहाँ नेपाल जुछे अध्ययन संस्थानका अध्यक्ष र एसिया क्षेत्रीय जुछे अध्ययन संस्थानका संस्थापक तथा निर्देशक बोर्डका सदस्य तथा उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँ कोरिया एकीकरण समर्थन सहयोगको लागि एसियाली क्षेत्रीय समितिका उपाध्यक्ष हुनुहुन्थ्यो । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको लेखक सङ्घका केन्द्रीय समितिको निर्णयअनुसार उहाँ सन् १९८५ मा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको लेखक सङ्घका मानार्थ सदस्य हुनुभयो ।
उहाँ साम्राज्यवादविरोधी राष्ट्रिय मञ्च नेपालका संस्थापक पनि हुनुहुन्थ्यो । उहाँ सो मञ्चका स्थापनाकालदेखिका अध्यक्ष हुनुहुन्थ्यो । त्यसबाहेक नेपालभाषाका विभिन्न सङ्घ–संस्थासँग उहाँको निकटको सम्पर्क छ । उहाँ नेपालभाषा परिषद्का सल्लाहकार, नेवाः राष्ट्रिय आन्दोलनका अध्यक्ष र नेपालभाषा सङ्घर्ष समितिका सल्लाहकार, नेवा देय् डबुका विधान मस्यौदा समितिका सदस्य पनि हुनुहुन्थ्यो । नेपाली भाषाका पत्रपत्रिका नवयुवा, मूल्याङ्कन, संश्लेषण, सहस्राब्दीलगायत साहित्यिक, आर्थिक र सांस्कृतिक पत्रिकामा उहाँ सल्लाहकार सदस्य हुनुहुन्थ्यो । नेपाल प्रगतिशील लेखक सङ्घको सुरुको केही समय उहाँ सल्लाहकार बोर्डका सदस्य हुनुहुन्थ्यो ।
यसप्रकार प्राध्यापक माणिकलाल श्रेष्ठले आफ्नो जीवनभर सक्रियरूपमा नेपालको जनजीवनका विभिन्न पक्षमा सार्वजनिक क्षेत्रमा योगदान गर्नुभयो । उहाँ मूलतः नेपालभाषाका समालोचक भए पनि नेपालभाषाका साहित्यिक क्षेत्रमात्र नभई नेपालका सार्वजनिक जनजीवनका क्षेत्रमा पनि विशिष्ट व्यक्ति हुनुहुन्छ ।
समाप्त
‘समालोचक माणिकलाल व समालोचना साहित्य’ पुस्तकबाट नेपालभाषामा नेपाली भाषामा अनुदित
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *