भर्खरै :

क्युवा–चीनले सार्सकोभ–२ विरुद्ध संयुक्तरूपमा खोप तयार गर्ने

हवाना, २३ मार्च (सिन्ह्वा÷टेलिसुर) चीन र क्युवाले सार्सकोभ–२ भाइरसविरुद्ध संयुक्त रूपमा खोप तयार गर्ने समझदारी गरेका छन् । प्यान–कोरोना नामाकरण गरिने उक्त खोप विभिन्न चरणका सार्सकोभ–२ भाइरसविरुद्ध थप प्रभावकारी हुने सिन्ह्वाले जनाएको छ ।
समाचारअनुसार चिनियाँ वैज्ञानिकहरू र क्युवाको सेन्टर फर जेनेटिक इन्जिनियरिङ एण्ड बायोटोक्नोलोजीका क्युवाली विशेषज्ञहरूले गत वर्ष हुनान प्रान्तको याङचाउमा स्थापना गरेको संयुक्त प्रयोगशालामा उक्त खोप तयार गरिइँदै छ ।
क्युवाली विशेषज्ञ एवम् सेन्टर फर जेनेटिक इन्जिनियरिङ एण्ड बायोटोक्नोलोजीका निर्देशक जेरार्डो गुइलेनले चिनियाँ पक्षको अनुरोधमा उक्त कार्य अघि बढेको र त्यसका लागि क्युवाली विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति प्राप्त भइसकेको बताउनुभयो ।
उक्त भ्याक्सिन संरक्षण गरेर राखिएका, खुला नगरिएका सार्सकोभ–२ भाइरसको भागलाई नै एन्टीबडी उत्पन्न गर्नका लागि प्रयोग गर्ने बताइएको छ ।
नयाँ कारोना भाइरसका परिवर्तित रूपहरूले उत्पन्न गर्नसक्ने महामारीजन्य स्थितिको सामना गर्ने रणनीतिका रूपमा हामी यो खोप विकास गर्न गइरहेका छौँ ।– गुइलेनले भन्नुभयो ।
क्युवाली खोप तयार भइसक्यो
यसैबीच क्युवाली बायोफर्मास्युटिकल समूह बायोक्युवाफर्माले तयार गरेको कोभिड–१९ विरुद्धको खोप सोबेराना –०२ पूर्णरूपमा तयार भई आकस्मिक प्रयोगका लागि अनुमतिको पर्खाइमा रहेको छ । खोपको उक्त उम्मेदवारको तेस्रो चरणको परीक्षण सम्पन्न भई त्यसको प्रत्यक्ष र अप्रत्यक्ष असरको बारेमा मूल्याङ्कन भइरहेको छ ।
क्युवाको औषधि तथा चिकित्सा सामग्री राजकीय नियन्त्रण केन्द्रले सङ्क्रमणको उच्च जोखिममा रहेको र सङ्क्रमित भइसकेको जनताको समूहलाई खोप दिई निगरानीमा राखिरहेको छ । तर, सोबेराना –०२ अहिले नै स्वास्थ्य क्षेत्रका १ लाख पचार हजार स्वयम्सेवकहरूमा परीक्षण प्रयोग भई सकारात्मक नतिजा प्राप्त गरिसकेको छ ।
क्युवाली खोपलाई विश्वव्यापी आकस्मिक प्रयोगका लागि अनुमति दिनका लागि विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूको निगरानीमा क्युवाको राजधानी हवानामा थप ४४ हजार स्वयम्सेवकहरूमाथि तेस्रो चरणको परीक्षणको तयारी भइरहेको छ ।
त्यस सफलतापछि भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले आफ्ना देशका स्वयम्सेवकहरू र नागरिकहरू पनि त्यस क्युवाली खोपको परीक्षणका लागि तयार रहेको बताउँदै खोप आपूर्तिका लागि क्युवाली सरकार र खोप निर्माता समूहसित आग्रह गर्नुभएको छ ।
त्यस्तै कोरोनाविरुद्धको अर्को क्युवाली उम्मेदवार खोप अब्डलाको पनि क्युवाको पूर्वी प्रान्तहरूमा तेस्रो चरणको परीक्षण सुरु गरिएको छ ।
यसैबीच क्युवाली सरकारले कोभिड–१९ विरुद्धको खोप तयार गरी विकासशील देशहरूमा सहज रूपमा उपलब्ध गराउन चीन, इरान र मेक्सिकोसित सहकार्य गर्ने बताएको छ । क्युवाको त्यस कदमले जीवन बचाउने खोप र उपचारमाथि धनी देशहरूको एकाधिकार कायम हुननसक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *