भर्खरै :

साढे पाँच वर्षमा एक दर्जन संस्थाले लिएनन् लोक सेवाको परामर्श

काठमाडौँ, १० चैत । संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनमा आएको साढे पाँच वर्ष पूरा भइसक्दासमेत एक दर्जन बढी सङ्गठित संस्थाले अझै लोक सेवा आयोगको परामर्श लिएका छैनन् ।
लोक सेवा आयोगले आज यहाँ आयोजना गरेको ‘कार्य सम्पादनका ६ वर्ष’ विषयक पुस्तक सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष उमेशप्रसाद मैनालीले वीर अस्पताल (नाम्स), बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) जस्ता ठूला सङ्गठित संस्थाले नै आयोगको परामर्श लिनुपर्ने विषयलाई बुझ पचाएको बताउनुभयो । “हाम्रो पदावधि आजदेखि सकिँदै छ, आयोगमा छिटो पदाधिकारी सिफारिस गरिनुपर्छ, भोलिदेखि परीक्षा, बढुवा, अन्तर्वार्ता, नतिजा प्रकाशन सबै रोकिन्छ, सचिवसम्मको बढुवा रोकिन्छ, पदाधिकारी नहुँदा निजामती र सङ्गठित संस्थामा कर्मचारी अभाव हुन्छ, यसैले छिटो पदाधिकारी सिफारिस गरिनुपर्छ”, उहाँले भन्नुभयो ।
आयोगले निजामतीका साथै ११९ सङ्गठित संस्थाको कर्मचारी नियुक्ति प्रक्रियामा काम गर्दै आएको छ । आयोगको क्षेत्राधिकार विस्तारपछि सङ्गठित संस्थामा आवेदन दिनेको सङ्ख्या बढ्न थालेको छ । ती संस्थामा समेत निजामती सेवामा जस्तै योग्य कर्मचारी स्वच्छ र निष्पक्षरूपमा सिफारिस गर्ने आयोगको प्रतिबद्धता छ ।
आयोगमा देखिएका समस्या
विसं २०७१ चैत ११ गतेदेखि आजसम्मको ६ वर्षे अवधिमा आयोगको परामर्शलाई झञ्झट र बोझको रूपमा लिने गरेको पाइएको अध्यक्ष मैनालीले सुनाउनुभयो । परामर्श नै नलिने वा लिएकामा फगत औपचारिकता निर्वाहको रूपमा लिने गरेको पाइएको छ ।
अधिकांश परामर्श अनादर गरिएको आयोगको गुनासो छ । यसबाट संविधानको आशय र भावनाको अवमूल्यन भएको छ । “अझै पनि आयोगलाई छलेर अस्थायी, करार, ज्यालादारी आदिमा भर्ना गरेर आफ्नालाई बर्कोभित्रबाट सरकारी सेवामा छिराउने काम रोकिएको छैन”, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सीमित प्रतियोगिता, स्वतः बढुवा, सीमित खुला प्रतियोगिता, ज्यालादारी, अस्थायीलाई उमेर हद नलाग्ने जस्ता योग्यता प्रणाली प्रतिकूलका पदपूर्तिका अभ्यास गर्नका लागि सेवा सर्तसम्बन्धी कानुन आयोगको परामर्शमा निर्माण गर्न नचाहेको देखिएको निष्कर्ष पत्रकार सम्मेलनमा सार्वजनिक गरियो । सार्वजनिक संस्थाको पाठ्यक्रम अनुपयुक्त रहेकाले यसलाई परिमार्जन गर्ने काम चुनौतीपूर्ण रहेको आयोगले जनाएको छ । निजामती सेवाको अप्राविधिकतर्फको पाठ्यक्रम परिमार्जन भए पनि प्राविधिकतर्फको पाठ्यक्रम परिमार्जन गर्न बाँकी रहेको कार्यक्रममा जानकारी गराइएको छ ।
विश्वमै परीक्षण विधिमा नवीन प्रयोग भइरहेकोमा आयोगले पनि त्यसलाई अवलम्बन गर्न स्रोत, साधन र क्षमता बढाउनुपर्ने माग गरेको छ । कुनै पनि परीक्षण विधि पूर्ण नहुने भएकोले पूर्णतातिर लैजाने खालका परीक्षण विधि क्रमशः भित्र्याउनु चुनौतीपूर्ण रहेको आयोगको ठहर छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *