भर्खरै :

अभाव, दबाब र प्रभाव !

‘यो पेसामा नाम पनि हुन्छ, भोकै पनि मर्दैनौँ । तर, पैसा हुँदैन ¤ दुःख पनि छ है ।’
कोरोनासँगका लडाइँमा अग्रपङ्क्तिमा उभिएर लड्ने सिपाही, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी पत्रकार प्रमुख हुन् । हुन त जनसम्पर्कमा रहने कतिपय कार्यालय र पेसाका मानिसहरू पनि अग्रपङ्क्तिमा रहे र रहिरहेका छन् । तर, यसमध्ये केहीलाई स्वेच्छिक र ऐच्छिक पनि थियो, अनिवार्य भएन र छैन । पत्रकारका लागि स्वेच्छिक र ऐच्छिक दुबै होइन ।
नेपालमा मात्रै कोरोनाले सङ्कट ल्याएको हो कि जस्तो लागे पनि संसारैभरि यसले सङ्कट ल्याइदिएको छ । सञ्चारगृह वा सञ्चारकर्मीमात्रै पनि होइन, कोभिड–१९ ले संसारका हरेक पेसा, व्यवसाय र मानिस सङ्कटमा भएको बेला उपाय खोज्दा हामीले पनि संसारसँग मिलेरै खोज्ने कुरा हो ।
यसका कारण अन्य सङ्कटभन्दा पनि मानिस मानसिकरूपले बढी सङ्कटमा परेको छ । दैनिक खानपिन जेनतेन टारिरहे पनि भविष्यमा आइपर्ने विकराल समस्याको आकलन गरेर मानिस बढी आत्तिएको देखिन्छ । लगानी गर्नेहरू आत्तिएका छन् । ठूलो सपना लगानी गरेकाहरू झन् आत्तिएका छन् । अझ बैङ्कबाट ब्याजमा रकम निकालेर लगानी गर्नेहरू झनै आत्तिइरहेका छन् ।
दुःखमा हरेकले आफूलाई देख्छ, अरूलाई कम देख्छ । हरेकले अरूलाई सुखमा रहेको देख्छ । लगानीकर्ताका त्रास र जोखिम भिन्न छन् । भन्न खोजिएको के हो भने कोरोनाका कारण श्रमजीवी पत्रकारलाई मात्र होइन, कतिपय मिडिया उद्यमीहरू पनि सङ्कटमा छन् भन्ने प्रस्ट देखिन्छ ।
यसो हेर्दा काम नै नपाएको मानिस जति त्रस्त छ, जागिर खाइरहेको, काम पाइरहेको मान्छे भोलि के हुन्छ भनेर उत्तिकै त्रसित छ । कतिले जागिरबाट अवकाश पाएको छ । कतिपयलाई बेतलबी बिदामा पठाइएको छ या आधा तलबमा काम गराएको छ । यो सबै सङ्कट हो । काम भइरहेको पत्रकारहरूको पनि अर्को सङ्कट के देखियो भने अफिसमा गएर काम गर्ने वातावरण अहिले निकै जटिल छ ।
बाहिर निस्केर स्थलगत समाचार सङ्कलन नै कम भएका बेला खोजी पत्रकारिता गर्नु त महाभारत नै हुने भयो । किनभने, सार्वजनिक यातायात कम चलेका छन् । मानिस समाचार स्रोतसँगको भेटघाट दुर्लभ भयो । चलेका यातायातको प्रयोग गरेर जाँदा पनि कहाँबाट कोरोना सर्ने हो भन्ने कुराले आतङ्कित छन् सञ्चारकमीहरू । खास गरी सहर–बजामा काम गरिरहेका पत्रकारहरूलाई यो त्रास बढी छ । उनीहरू बढी मारमा परेका छन् । सहर–बजार र राजधानी उपत्यकामा सबैभन्दा बढी सञ्चारगृह र सञ्चारकर्मी केन्द्रित भएकाले सङ्ख्यात्मक हिसाबले सङ्कट पनि बढी हुनु स्वाभाविक नै भयो ।
नेपाली पत्रकारितामा कोरोनाका कारणले भन्दा यसको कारण देखाएर गरिएको अवाञ्छित व्यवहारले अहिले हामीमा भएको एउटा नैतिक बल गुम्दै गराइराखेको छ ।
पत्रकारिता भनेको स्वतन्त्र पेसा हो । यसमा दबाब, प्रभाव र अभाव हुनु हुँदैन भन्छौँ । हामी कमजोर भइसकेपछि यी तीन वटै कुरा हुन्छन् । पत्रकार अभावमा हुन्छ । ऊ दबाबमा हुन्छ र दबाबको प्रभाव पनि हुन्छ । यस कुराबाट स्वतन्त्र पत्रकारितालाई असर पुग्छ । यसरी समग्रमा अभिव्यक्ति स्वतन्त्रतालाई असर पुग्छ । अहिलेको सन्दर्भमा क देखिन्छ भने जतिसुकै कुरा गरे पनि हाम्रा मूलधारका सञ्चार माध्यममा जति सूचना आउनुपर्ने हो, त्यति आउन सकेको छैन ।
हामी भन्छौँ, “सरकारले गर्नुपर्छ ।” सरकारले दिनुपर्छ या त्यो माग गर्नु एउटा कुरा हो । कोरोनाका कारण सरकार आफैँ पनि सङ्कटमा फस्दै गएको छ । दैनिक कामबाहेक लक्षित विकासका काम लगभग ठप्प छन् । उद्योग–कलकारखाना आयात–निर्यात सबै प्रभावित भएका छन् । त्यसैले कोरोनाबाट व्यक्तिमात्र दुर्बल भएको होइन, किनकि नियमित काम नभएपछि सरकार पनि सबल छैन । एउटा जीवनचक्र प्रणालीबाट अर्को जीवनचक्र प्रणालीमा सबैले आफूलाई अभ्यस्त पार्दै लाने बेला आएको छ ।
सञ्चार क्षेत्रमा कोरोनाका बाछिटामात्र होइन, विज्ञापनदाता उद्योग–व्यापार सुकेपछि मुसलधारे वर्षा नै शिरमा वर्षिएको छ । यसको समाधानको लागि सरकारले राष्ट्र बैङ्कमार्फत कोष बनाएको छ । विज्ञापन वृद्धि गर्ने कुरा छ । ‘क्लिन फिड’ का कुरा छन् । यी सुविधाका कुरा भए पनि त्यसले श्रमजीवी पत्रकारलाई या सञ्चारगृहमा काम गर्ने कर्मचारीलाई र समाचारको गुणस्तर बढाउने कुरामा त्यसले के दिन्छ ? प्रश्न बाँकी नै रहन्छ ।
पत्रकारलाई बलियो बनाउने÷नबनाउने पनि समाचारको स्तरको अभिवृद्धिले नै हो । पत्रकारको इज्जत पनि समाचार हो, विचार हो । बेइज्जत पनि समाचार र विचार नै हो । समाचारस्तरीय भएन भने सञ्चारगृह लगानीकर्ता वा हामी जति सम्पन्न भए पनि अर्थ राख्दैन । अहिलेको समस्या भनेको समाचारमा स्तर उक्सिने काम भयो÷भएन वा हुन्छ÷हुँदैन भन्ने हो ।
टेलिभिजनहरूले अलनाइन अन्तर्वार्ता गर्छन् । जुम, म्यासेन्जर या ह्वाट्सएपबाट कुराकानी गर्छन् । त्यसले (प्रोपर कम्युनिकेसन) वास्तविक संवादको महसुस हुँदोरहेनछ । हामीले त्यसको अभ्यास ग¥यौँ, गरिरहेका छौँ । त्यस्ता कुराहरूलाई छोडेर प्रविधिको प्रयोगलाई कसरी अझ जीवन्त र राम्रो गर्न सकिन्छ, त्यतातिर ध्यान दिनुपर्नेछ । प्रविधिको हिसाबले हामी नयाँ भयौँ । हामी भन्नाले नेपाली पत्रकारमात्र होइन, संसारकै पत्रकार यस्ता मामिलामा लगभग उही ठाउँमा उभिएका छौँ ।
कोभिडले एउटा नयाँ कुरा के दियो भने हामीलाई नयाँ प्रविधिको प्रयोग गर्न सिकाइरहेको छ । आज जुम मिटिङ सेमिनारको बदला वेबिनार गर्ने भयाँै । पेसालाई बलियो बनाउने हिसाबले अझ प्रभावकारीरूपले कसरी प्रयोग गर्ने त्यो महत्वपूर्ण पाटो हो ।
पत्रकारलाई दुई–तीन वटा कुराले समस्यामा पारेको छ । आर्थिकरूपले पत्रकारले पाएको सुविधा कटौती, थोरै पत्रकार राखेर काम चलाउने चलन बढ्दै गइरहेको छ । यो एउटा समस्या हो ।
२०४६ सालपछि पत्रकारिताको संस्थागत विकास भयङ्कर भयो भनेका थियौँ । यो होइन रहेछ भन्ने कुरा महसुस भएको छ अहिले । मिडिया हाउस, जहाँका साथीहरू बसेर नेपालमा पत्रकारिताको संस्थागत विकास भयो भनेर ठूलठूलो स्वरमा भन्नुहुन्थ्यो । अहिले उहाँहरूकै जागिर गइरहेको छ । उहँहरूमध्ये केहीले ‘ए होइन रहेछ’ भन्न थाल्नुभएको छ ।
प्रकाशन–प्रसारण संस्थाका ठूला भवन लगानीकर्ता चढ्ने महँगा मोटर र सञ्चारगृहमा धेरैले काम पाउनुमात्र संस्थागत विकास होइन रहेछ । त्यहाँ गरिएको पेसागत सुरक्षा दीर्घकालीन बचत र अप्ठ्यारोमा पनि प्रबन्धले लगानीकर्ता र श्रमजीवी हलचल नहुने अवस्था सिर्जना हुनुपर्नेरहेछ ।
यथार्थमै नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार, समग्र देशको आर्थिक वृद्धिदर ६ प्रतिशतले खुम्चिएको छ । राष्ट्रिय अर्थतन्त्रमा १ खर्ब ६५ अर्ब क्षति पुगेको छ । एक अनुमानअनुसार करिब ३० अर्ब रूपैयाँको नेपाली मिडिया उद्योग २०७६ चैत ११ गतेदेखि भएको लकडाउन श्रृङ्खला, निषेधाज्ञा र बढ्दो कोभिड असरका कारण धराशयी हुन पुगेको छ ।
नेपाल विज्ञापन सङ्घ (आन) का अनुसार, प्रदेश नं. १ मा छापामाध्यममा ८० प्रतिशत, टेलिभिजन र रेडियोमा ७० प्रतिशत, प्रदेश नं. ३ का सञ्चार माध्यममार्फत समग्रमा ५० देखि ७० प्रतिशत, गण्डकी प्रदेशमा रेडियोतर्फ ७० प्रतिशत, टेलिभिजनतर्फ ८० प्रतिशत, प्रदेश नं. ५ मा छापामाध्यममा ७० प्रतिशत, रेडियोमा ५० प्रतिशत र टेलिभिजनमा ६० प्रतिशत विज्ञापन कटौती भएको छ । समग्रमा सबै प्रदेशहरूको वस्तुस्थिति आकलन तथा अध्ययन गर्दा छापा माध्यममा ८० प्रतिशत, रेडियोमा ७० प्रतिशत, टेलिभिजनमा ६० प्रतिशत र अनलाइनमा ४५ प्रतिशत विज्ञापन कम भएको छ ।
नेपाल विज्ञापन एजेन्सी (आन) का अनुसार, नेपाली विज्ञापन बजार करिब १२ अर्ब रूपैयाँको अनुमान गरिएको छ । यसमध्ये होर्डिङबोर्ड, डिस्प्ले आदिमा ५ अर्ब जाने र आम सञ्चारका माध्यममा ७ अर्बको विज्ञापन आउने गरेको अनुमान थियो । ७ अर्ब विज्ञापनमध्ये पत्रपत्रिका २.७५ अर्ब (१० प्रतिशत) अनलाइन (डिजिटल) मिडिया १ अर्ब (१५ प्रतिशत) रहँदै आएको थियो ।
कोभिडपछिको विज्ञापन रकममा पत्रपत्रिकातर्फ ९० प्रतिशत, टेलिभिजन ४० प्रतिशत, रेडियो ५० प्रतिशत र अनलाइन (डिजिटल) मिडिया ३० प्रतिशत कटौती भएको छ ।
यसबाट सञ्चारगृहहरूको आकार घट्ने वा त्यसका लगानीकर्ताले घटाउन सक्ने सम्भावनालाई कोभिड–१९ को आतङ्कसँगै अर्को आतङ्क थपिदिएको छ । यो आतङ्क सिर्जना गरेर वर्षौँ अर्बौँ आम्दानी गरिरहेका कतिपय सञ्चालकहरूले मानिस अहिले निकालिहाल्नुपर्ने थिएन र होइन । केही मितव्ययी ढङ्गले चल्दै दिगो प्रबन्ध गर्नुपर्ने हो । उनीहरूले त कस्तो व्यवहार देखाए भने कहिले कोरोना छिर्छ र अनिच्छित पत्रकार वा कर्मचारी बिदा गरौँ भनेर पर्खेर बसेजस्तो देखियो । बाँच्न–बचाउनका लागि दुवै पक्ष तयार हुनुपर्ने हो, यो व्यवहार लगानीकर्ता सञ्चालकबाट देखिएन । यसरी काम गरिरहेका पत्रकार तथा त्यसमा आश्रित कर्मचारीलाई पेसाबाट पलायन गराउने व्यवहार त्रुटीपूर्णमात्र होइन, खेदजनक र हानिकारक पनि छ ।
यस्तो कदमले सञ्चारमा आइरहेको लगानी विज्ञापनको बजार खस्किएको देखेर अन्यत्र मोडिन सक्ने सम्भावना अर्को खतरा निम्त्याउन सक्छ । जसले गर्दा नयाँ सञ्चारगृह स्थापनाका सम्भावना कम हुने त स्वतः सिद्ध नै भयो, पत्रकारितामा नयाँ प्रतिभाको प्रवेशमा समेत यसले बाधा पुग्नेछ । जसले व्यावसायिक प्रतिस्पर्धा कमजोर हुनुसँगै अन्ततः अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामा असर पुग्छ ।
यथार्थमा अब सञ्चारमा आउने नयाँ लगानीकर्ताहरूले पहिलो चरणमै बचत कोष राख्नुपर्दछ । त्यस्तो कोष राखेर त्यस पैसाबाट यस्तै आपत्विपद् पर्दा काम गर्न सक्ने हुनुप¥यो । लगानी र खर्च पारदर्शी स्टाफले काम गर्नै नसक्ने, कमजोर हुँदै जाने, त्यहाँ लगानी गर्नेहरू बलियो हुँदै जाने हुनुभएन ।
पत्रकारितामा आउनुअघि लगानीकर्ता र पत्रकार दुवैलाई एउटा ‘ओरियन्टेसन’ चाहिन्छ । म पत्रकारितामा आउँदा मलाई पढाउने क्रममा नेपाल प्रेस इन्स्टिच्युटमा गुरूहरूले भन्नुभएको थियो, “यो पेसामा नाम पनि हुन्छ, भोकै पनि मर्दैनौ । तर, पैसा हुँदैन ¤ दुःख पनि छ है ।” अहिले अलि बढी ‘ग्ल्यामरस’ भएको छ यो पेसा । रहर र लहडले आउने पत्रकार धेरै भए । उनीहरूलाई पनि बेलैदेखि एकदमै जोडका साथ भन्नुपर्ने के छ भने “यो पेसामा दुःख छ ।” दुःख त अरू पेसामा पनि छ । तर, यस पेसामा बेग्लै दुःख । किनभने, आपत् पर्दा फ्रन्टलाइनमा अर्थात् अग्रपङ्क्तिमा रहेर काम गर्ने त स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र यातायातमा काम गर्ने मान्छेहरू नै रहेछ नि यो कुरा आत्मसात गराउनुपर्छ भनेरमात्र पुग्दैन ।
यस महामारीमा कति मिडिया हाउसहरूले बीमा नै गर्दिएनन् । कतिले गर्नै सकेनन् । अहिले यो आपत् परेका बेला हामी आपत्मा छौँ भनेर कतिपय सञ्चार गृहले तलब दिएका छैनन् । घरभाडा तिर्न नसकेर पत्रकारहरू निकालिनुपर्ने अवस्था छ । केही लगानीकर्ता सम्पर्कविहीन भएका समाचार आइरहेका छन् । यस्ता घटनाले डिप्रेसनमा जाने स्थिति छ पत्रकारहरूको । त्यो पत्रकारसँगै उसको परिवार पनि डिप्रेसनमा जानसक्छ । जसका कारण पत्रकारिता गौरवको होइन, लज्जाको पेसा बन्नसक्छ । तपाईँ अनुमान गर्नसक्नुहुन्छ, डिप्रेसन भएको पत्रकारले कसरी र कस्तो समाचार लेख्छ ? अनि कल्पना गर्नसक्नुहुन्छ, त्यस्तो समाचारको प्रभाव के हुन्छ ?
त्यस अवस्थाबाट मुक्त गर्नका लागि अब सञ्चारगृह बनाउने उद्यमीहरूले पनि सोच्ने बेला आएको छ । उहाँहरूले पहिले नै ‘कोअलिसन’ बनाउनुभएको छ । जस्तो – पत्रकार महासङ्घ, श्रमजीवी पत्रकारहरूको पत्रकार महासङ्घ भएजस्तो उहाँहरूको पनि आ–आफ्नो सङ्घ छ । सीमित टेलिजिभनवालाहरूको पनि मौसमी सङ्गठन छ । साना लगानीकर्ता रेडियो र साप्ताहिक पनि छ । दैनिक पत्रिकावालाको पनि छ । मिडिया सोसाइटी आदि नाममा छ । उहाँहरूले बनाएको त्यो संस्थाको उद्देश्य के ? त्यो संस्थाले यस्तो बेलामा काम गर्नुपर्छ भनेर किन भन्नुभएन ? वा गर्नुभएन ? किन सोच्नुहुन्न भनेर श्रमजीवीले पनि लेख्ने, बोल्ने र सरकारले घच्घच्याउने बेला आएको छ । सबैले सोच्ने बेला हो यो । यस्तो सङ्कट पहिलोपटक आएको हो । सबैले सङ्कटबाटै सिक्ने पनि हो । अहिले पत्रकारिता सम्बद्ध सबै महासङ्गठन एक ठाउँमा उभिएर साझा निष्कर्ष निकाल्ने बेला हो ।
अहिले मार्केटिङ्गको पक्ष एकदमै कमजोर भएको छ । मार्केटिङ्ग कजमोर भएको बेलामा कसरी गर्ने ? केही ठूला सञ्चारगृहका लगानीकर्ताहरूसँग कोभिड नआउँदै मैले सोधेको थिएँ, “त्यहाँबाट आएको आम्दानीलाई अन्त लगानी किन गर्नुहुन्छ ?” मैले थप प्रश्न गरेँ, “तपार्इँहरूले त्यहाँबाट आएको पैसा किन अन्त लानुहुन्छ ?”
“होइन, आपत् परेको बेला तपाईंहरूले जस्तै साथीहरूलाई दिन सकिँदैन होला भनेर यो गर्याप हो” भन्नुभयो । त्यो नराम्रो उपाय पनि थिएन । तर, यो सङ्क्रमणको बेला कसैले त्यस्तो रकम निकालेको थाहा पाइनँ मैले । कतिपय लगानीकर्ता सरकारसँग पनि माग्ने, तलबाट पनि उहाँहरू तान्ने, माथिबाट पनि तान्ने, बीचमा बसेर उहाँहरू मुठी कस्ने, गजबका मोटर चढ्ने र आलिसान महलमा बस्ने । सञ्चारगृहबाट आर्जन गरेको रकम जग्गा प्लटिङ वा हाउजिङमा लगाउनेजस्ता कामचाहिं हुनुहुँदैन, हुन दिनुहुँदैन । गरिन्छ भने पारदर्शी हिसाबले गरेर विपद्मा सञ्चारमा नै ल्याइनुपर्छ ।
त्यसैले, अहिलेको हाम्रो आवश्यकता भनेको सरकारले अथवा अरूले गर्ने सहयोगबाट सञ्चारगृह बलियो हुनुको अर्थ व्यवस्थापन व्यवस्थित एवं बलियो बनाउने, त्यहाँ काम गर्ने मान्छे पनि बलियो हुनु हो । अन्ततः समाचारको स्तर अझ मास्तिर आउनु हो भन्ने कुराको ज्ञान दिनुप¥यो त । त्यो ज्ञान लगानीकर्ता सञ्चालक आफैँलाई आए राम्रो नभए पत्रकार सरकार जसले दिए पनि हुन्छ । जसबाट लिए पनि हुन्छ । पत्रकारहरूको समाचारको लक्षित समूह आफ्नै सञ्चार गृह वा आफ्नै व्यवस्थापन पनि हुने अवस्था देखियो ।
सरकारले, सरकार भन्नाले सङ्घीय प्रदेश र स्थानीय तीन तहकै सरकारले पनि जसरी सञ्चारका लगानीकर्ता र श्रमजीवीका पक्षमा सोच्ने हो यो बेला, तर सकेनन् । सरकार आफैँले सबै कुरा गर्नुपर्ने वा दिनुपर्ने पनि होइन । अप्रत्यक्षरूपमा सरकारले सहयोग जुटाउन सक्ने थियो, समन्वय र निगरानी गर्नुपर्ने थियो । अझै पनि गर्नसक्छ पनि । लगानीकर्ता सधैँ उत्तिकै नाफामा चल्नुपर्छ भन्ने मान्यतामा रहेका अधिकांश सञ्चारगृहका सञ्चालकमात्र होइन, बोनस र दसैँ खर्च त्याग्न पत्रकार पनि तयार हुनुपर्छ ।
जस्तै बैङ्कहरू अहिले पनि अन्य उद्योगजस्तो कमजोर छैनन् । बीमा कम्पनीहरू अहिले पनि नाफामा छन् । तिनलाई तुरून्तै सञ्चार क्षेत्रलाई प्राथमिकता दिन आग्रह गर्न सकिन्छ । जो प्रभावकारी हुनसक्छ । यसका लागि उनीहरूलाई समानुपातिकरूपले सक्रिय बनाइदिन सकिन्छ । विभिन्न सहुलियत र विज्ञापनका लागि बैङ्कहरूलाई भन्न सकिने अवस्था पनि छ । अर्कोतिर प्रदेश सरकार छ । स्थानीय सरकार छ । सोझै दिन नमिले फेलोसिपका माध्यमबाट काम गरे पनि हुन्छ । सञ्चार गृहमा कार्यरत पत्रकारसँगै स्वतन्त्र पत्रकारिता गर्नेहरूका बारेमा पनि सोचाइ बनाउनुपर्छ । यस्ता फेलोसिपमार्फत पनि पत्रकारहरूलाई सहयोग गर्न सकिन्छ । लेखनवृत्तिलगायतका अरू कुराहरूबाट अगाडि लान सकिन्छ ।
लगानीकर्ताहरू, श्रमजीवीहरू हतोत्साहित भए । ठूलाठूला भनिएका सञ्चार गृहहरूले पनि मान्छेलाई ब्वाङ कि ब्वाङ निकाले । निकालेपछि समस्या भयो । एक त निकालिनेले पत्रकार वा कर्मचारीले कसरी बाँच्ने भन्ने मानवीय समस्या भोग्ने नै भयो, जुनकुरा त्यसका सञ्चालकहरूले बुझ्ने कुरै भएन ।
हृदय भएको भए अलिकति मुनाफाका लोभले मानिसको चुल्हो निभ्ने उपाय निकाल्ने थिएनन् । अर्कोतर्फ यस घटनाबाट उनीहरूले जति ठूलो कुरा गरे पनि उनीहरूमाथि समाजको विश्वास र साख गिरेको छ भन्ने पैसाको लोभमा थाहै पाएनन् ।
“पत्रकारिता सामूहिक काम हो, विशुद्ध टीमवर्क ।” कतिपय सञ्चारगृह सञ्चालकहरू अझै त्यो शब्द दोहो¥याउँछन् तर उनीहरूको बोलीको खेल कोरोनाले झारेको छ । त्यो खोल सानो लोभले गर्दा उनीहरूले थाहै नपाई फुस्कियो । अब उनीहरू नैतिक हिसाबले माथि उठ्नै सक्दैनन् । यसरी नैतिकरूपमा कमजोर भएको अवस्थामा अब उनीहरूबाट उच्च मर्यादा र उच्च मनोबलसहितको पत्रकारिता हुन सहज छैन । यसले तिनको पेसागत बहिर्गमनसमेत हुनसक्छ ।
वास्तवमा यस घटनाले सामाजिक चिन्तन र व्यवहारको अवमूल्यन गरेको छ । यस्तो हुनबाट रोक्ने काम सरकारको हो । तिमीहरू यसो गर्न पाउँदैनौँ भनेर सरकारले भन्नुपथ्र्यो भन्नुपर्छ । किनभने, सञ्चारमा लगानी गर्न आउनेले आफूलाई चौबाटोको दालचामल व्यापारी वा होटल लजको सञ्चालकभन्दा फरक सोच्नुपर्छ । यो पेसा पूर्णतया बौद्धिक कर्मसँग सम्बन्धित छ । यो बुझ्नैपर्छ र बुझाउनैपर्छ ।
यससँगै सङ्कटमा मिडिया हाउसमात्रै होइन । अरू उद्योग पनि त परेका छन् नि ¤ अरू उद्योगलाई परेको सङ्कट पनि बुझाउनुपर्छ । सङ्कट पर्दा घरको मान्छे निकालिँदैन । घरमा खान पुगेन भने घरको सदस्य त घरबाट निकालिन्न । जेजति छ, बाँडीचुँडी खाने हो । त्यो हिसाबले यो सन्देश दिनुपर्छ । सरकारले सन्देश दिने कुरा यो हो ।
अहिले समाचारको गुणस्तरमा सबैभन्दा बढी असर भइरहेको छ । पत्रकारलाई अल्छी बनाउने होइन, फिल्डमा जानका लागि आवश्यक सुविधा र सुरक्षा बढाउनुपर्दछ । अन्तर्राष्ट्रिय सरकारी गैरसरकारी सङ्घ–संस्थाबाट मनासिब सहयोग के हुनसक्छ भनेर सम्बद्ध संस्थाहरूले खोज्नुपर्दछ ।
सबैभन्दा ठूलो आशा गरिएको ‘क्लिन फिड’ आएपछि के हुन्छ भनेर आशा गरिरहेका छौँ । त्यो कसरी लागू हुने हो, त्यसको रूपरेखा आउन बाँकी नै छ । त्यो छिटो आउनुपर्छ । यो सँगसँगै स्थानीय निकाय, नगरपालिका, गाउँपालिका, यिनीहरूले विज्ञापन दिन सक्छन् । यिनीहरूले लेखनवृत्ति पनि दिन सक्छन् । अब समाचार र केही मद्दत आदानप्रदानका लागि स्थानीय निकायमा पत्रकारिता तल जानुपर्छ भन्ने लाग्छ । यसबाट दुवै पक्षले भरपूर लाभ लिनसक्छन् । जसले गाउँघरमा सूचना जान्छ, गाउँघरका सूचना ज्ञान पनि बाहिर आउने छन् ।
गलत सूचना, भ्रम र हल्लालाई कम गर्न यथार्थ सूचनाका साथ बाहिरै निस्कनुपर्दछ पत्रकार । पत्रकारलाई बाहिर निस्कने वातावरण बनाउनु आजको प्रमुख काम हो । यसका लागि पत्रकारलाई सुरक्षित बनाउने र पत्रकार आफैले पनि चुनौती स्वीकार गर्ने सोचाइको विकास गर्नु जरूरी छ ।
(लेखक वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासङ्घका केन्द्रीय सल्लाहकार हुनुहुन्छ ।)
‘संहिता’, २०७७ पुसबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *