भर्खरै :

युरोपबाट आएको हाँस कमलविनायक पोखरीमा

भक्तपुर, ११ चैत । बुधबार कमलविनायक पोखरी (बहारे पुःखु) मा किरकिरे हाँस (नेवारीमा बहारे हाँय्) देखियो । युवापुस्ताले हाँस चिन्न पनि सकेनन् भने बुढापाकाको निम्ति यो हाँस नौलो भएन ।
अङ्ग्रेजीमा कमन पोकर्ड नामको हाँस केही दिनयताबाट देखिएको स्थानीयलाई उद्धृत गर्दै प्राणीशास्त्री कृष्णप्रसाद छुस्याकीले बताउनुभयो । यो हाँस युरोपबाट एसिया महादेशको गर्मी भूभागमा बसाइसराइको लागि आउने गरेको छुस्याकीको भनाइ छ ।
दुई तीन दशक अगाडि यस्ता हाँसको बथान नै आएर बस्ने गरेको स्थानीयको भनाइ छ । तर, केही वर्षयता मुश्किलले यो चरा देखिएको उनीहरूको भनाइ छ ।
कमन पोकर्डलाई युरोपेली पोकर्ड पनि भनिन्छ । यसको नेपाली नाम कैलोटाउके हाँस पनि भनिन्छ । यो हाँस पक्षी वर्गको अन्सरीफर्मिज गणमा पर्छ र यसको वैज्ञानिक नाम आय्थ्या फेरिना हो ।
यो चरा युरोपेली महादेशमा जाडो बढेसँगै उष्ण प्रदेशीय देशहरूमा उपयुक्त हावापानी तथा आहारका लागि हिउँदमा युरोपदेखि पूर्वी एसियामा बसाइसराइ गर्दछन् । नेपालको सन्दर्भमा पूर्वी तराई १२० मिटरदेखि खुम्बु क्षेत्र (४००० मिटर) मा पाइन्छ । तराईको तालतलैया, सिमसार नदी किराना तथा काठमाडौँ उपत्यकाका तौदहलगायत भक्तपुरका विभिन्न साना ठूला ग्वङ्ग पुखु, बहारे पुुखु (कमलविनायक पोखरी) मा पनि देख्न सकिन्छ ।
खोला तथा नदी र तालतलैया तथा पोखरीहरूमा मानवीय अतिक्रमणको कारणले यसको बसाइसराइमा समस्या आइरहेको छ । विश्वमा यो प्रजाति संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रहेको छ ।
हालसालै कमलविनायक पोखरीमा देखिएको पोकर्ड भाले हो । बथानमा बसाइसरि आउने यो हाँस बथानमा छुटेको हुनसक्ने प्राणीशास्त्री छुस्याकीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *