भर्खरै :

इथाचा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम वार्षिक साधारणसभा

भक्तपुुर, १४ चैत । इथाचा खानेपानी तथा सरसफाइ समितिको पहिलो वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै अतिथि सुवालले बहुदल यताको ३० वर्षमा सरकारमा जाने नेता र सरकारले जनतालाई खानेपानीसमेत खुवाउन नसकेको चर्चा गर्दै सत्तामा पुगेका पार्टीको असक्षमताकै कारण जलस्रोतको धनी देशमा जनता खानेपानीको अभावमा काकाकुल स्थितिमा रहन बाध्य हुनुपरेकोे बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “खाना पकाउने ग्यास भारतबाट आयात गरिँदा वर्षको अर्बौँ रकम व्यापार घाटाको स्थिति छ । सरकारले जलविद्युत् उत्पादन बढाई खाना पकाउन, उद्योग–कलकारखानामा उपयोग गर्न सके व्यापार घाटा कम हुने थियो । तर, यसतर्फ सरकारमा जाने पार्टीहरूको ध्यान गएको छैन ।”
खानेपानी र सरसफाइको स्थितिले देश र जनताको सुखलाई मापन गर्ने चर्चा गर्दै सांसद सुवालले भन्नुभयो, “जनतालाई उचित स्वास्थ्य र सफा खानेपानीको व्यवस्था गर्न नसक्ने सरकारले जनता सुखी छन् भनी दाबी गर्नु झूट हो ।
“कृषिप्रधान देशमा वर्षमा अर्बौँ रूपैयाँको खाद्यान आयात हुनुले सरकारमा जाने पार्टीहरू असफल भएको प्रमाणित हुन्छ”, उहाँले भन्नुभयो ।
नेपालका कोसी, कर्णाली, महाकाली नदीहरूबाट विद्युत् उत्पादन गर्ने सम्झौता गरेर पनि भारतले काम अगाडि नबढाई नदी ओगट्ने काममात्र गरिरहेको बताउँदै उहाँले भारतले नेपालका ७१ भन्दा बढी स्थानमा सीमा अतिक्रमण गरेर ६५ हजार हेक्टरभन्दा बढी भूमि मिचेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले खानेपानी समितिले खानेपानीमात्र वितरण नगरी समुदायको लागि स्वास्थ्य शिविर, महिलाहरूको लागि पाठेघर परीक्षण शिविरलगायत सामाजिक कल्याणका गतिविधि नियमितरूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
इथाचा खानेपानी तथा सरसफाइ
उपभोक्ता समितिका अध्यक्ष नहकुल प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा चाँगुनारायण नपा वडा नं. ९ वडा समितिका अध्यक्ष नारायणभक्त न्हेम्हाफुकी, गणेशराम सुवाल, टङ्कप्रसाद कँडेल, धनबहादुर श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो ।
करिब १ लाख लिटरको टयाङ्की निर्माण गरी ३ सय घरपरिवारलाई खानेपानी वितरण गर्ने लक्ष्य रहेको उक्त आयोजनाबाट हाल ६९ घरपरिवार लाभान्वित भइसकेको र अरूलाई पनि धारा वितरण गर्ने क्रममा रहेको बताइएको छ ।
वार्षिक साधारणसभाबाट टङ्कप्रसाद कँडेलको अध्यक्षतामा ७ सदस्यीय इथाचा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति पुनःगठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *