भर्खरै :

सक्षम साकोसको भ्रमण टोली भक्तपुर नगरपालिकामा

भक्तपुर, १४ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग सक्षम बचत तथा ऋण सहकारी संस्था लि., बनेपाका अध्यक्ष रमेशकाजी श्रेष्ठको नेतृत्वमा भक्तपुरको सहकारी तथा सांस्कृतिक अध्ययन भ्रमणको लागि आएको भ्रमण टोलीले भेट ग¥यो । भेटका क्रममा भक्तपुर नगरपालिकाले गरेको शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, विकास निर्माण, सहकारी गतिविधिलगायतका विविध विषयबारे छलफल तथा अनुभव आदानप्रदान भयो ।
भ्रमण टोलीलाई भक्तपुर नपामा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले आर्थिक लेनदेन तथा कारोबार हुने ठाउँमा आर्थिक अनियमितता एवम् भ्रष्टाचारको सम्भावना हुने बताउँदै आर्थिक क्षेत्रमा पारदर्शी ढङ्गले काम गर्नुपर्ने बताउनुभयो ।
सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिनुपर्नेमा जोड दिँदै भक्तपुर नपाले नगरवासी विद्यार्थीका लागि शैक्षिक ऋण, सस्तोमा गुणस्तरीय शिक्षा, सरसफाइ अभियान पनि अगाडि बढाइरहेको उहाँले बताउनुभयो । उहाँले मौलिकता जोगाउन नसके आफ्नो पहिचान नै गुम्ने खतरा हुने बताउँदै सहकारी संस्थाहरूले सदस्यहरूको सांस्कृतिक स्तर उकास्न र सेवाभावले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
छलफलमाथि उठेका जिज्ञासाबारे प्रस्ट पार्दै प्रमुख प्रजापतिले भक्तपुरका सहकारी संस्थाहरूले विभिन्न सीप र रोजगारीमूलक तालिम, अन्तरक्रिया, राजनीतिक विषयमा प्रशिक्षण, स्वास्थ्य शिविरलगायत सञ्चालन गरी व्यापक जनतालाई राजनैतिकरूपले सचेत र सङ्गठित गर्ने कार्यहरू गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुरका सहकारी संस्थाहरू बदनाम हुनु भनेको सिङ्गो नगर र जिल्लाकै बदनाम हुने हुँदा सहकारी संस्थाहरूले सामाजिक उत्तरदायित्व बहन गरी इमानदारीपूर्वक काम गर्न सहकारी संस्थाहरूलाई मार्गनिर्देशन गर्दै आइरहेको उहाँले बताउनुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले भक्तपुर नपाबाट गठित सहकारी समितिबाट भए÷गरेका गतिविधिबारे अवगत गराउँदै भक्तपुर नपाभित्र अवस्थित सहकारी संस्थाहरूको अवस्थाबारे बुझ्न नियमित अनुगमन गर्दै आइरहेको बताउनुभयो । सहकारी संस्थाहरूलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित गर्दै भक्तपुर नपाले ती सहकारीहरूको लागि अनुदानको व्यवस्था गर्दै आएको बताउनुभयो ।
सक्षम साकोसका अध्यक्ष रमेशकाजी श्रेष्ठले भक्तपुरको सांस्कृतिक सम्पदा संरक्षणमा भक्तपुर नपाले महत्वपूर्ण योगदान पु¥याउँदै आएको र भक्तपुर नपाले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा गरिरहेको कामबाट आफूहरूले सिक्न चाहेको बताउनुभयो । उहाँले सक्षम साकोस अन्य क्षेत्रको भन्दा फरक ढङ्गले सामाजिक उत्तरदायित्व बहन गर्दै अगाडि बढिरहेको अवगत गराउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सञ्चालन गर्नुभएको सो भेट तथा छलफलमा साकोसका प्रतिनिधिहरूले भक्तपुर नपाको गतिविधिबारे आ–आफ्नो जिज्ञासा राख्नुभएको थियो ।
भेटपश्चात् सक्षम साकोसका प्रतिनिधि टोलीलाई भक्तपुरमा अवस्थित ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदाहरूको स्थलगत अवलोकन गराइएको थियो । साथै, उहाँहरूलाई नगर प्रमुख प्रजापतिले भक्तपुर नपाका प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभयो ।
भ्रमण टोलीलाई भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले खादा ओढाई स्वागत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *