भर्खरै :

तुवाँलो हटाउन ठोस कदम चाल्नुपर्ने

कोरोना भाइरसको सङ्क्रमणको खतरालाई ध्यानमा राखी सरकारले लकडाउन गरेको २०७६ चैत ११ गतेको हिसाबले एक वर्ष नाघेको छ । एक वर्ष दिन अघि हिजो आज २०७६ चैत १५÷१६ गते यातायात, बजार, अड्डा अफिस, स्कूल कलेजलगायत सम्पूर्ण क्षेत्र ठप्प हुँदा वायु प्रदूषण हटेर आकाश खुला भएका फोटोहरू त्यसबेला सामाजिक सञ्चालहरूमा छाएका थिए । आज वर्ष दिनपश्चात् कोरोना भाइरसको दोस्रो लहरको खतरा भए पनि सम्पूर्ण क्षेत्र खुला रहेको अवस्था छ । वातावरण प्रदूषण भई विमान उडानसमेत प्रभावित भएको छ । काठमाडौँ उपत्यकासहित देशभरको वायु निकै घातक स्तरमा पुगेकाले सर्वसाधारणलाई सकेसम्म घरबाहिर नआउन आग्रह गरिएको छ । कोरोनाप्रति मानिसमा डर त्रासको मात्रा धेरै घटेको छ, मास्क, तातोपानी सेवन, साबुन पानीबाट हात धुने, स्यानिटाइजरको प्रयोगमा सामान्यकरण भएको छ । कोरोनाविरुद्ध खोप लगाउन थालेपनि खोपको अपर्याप्तले गर्दा दोस्रो चरणको खोप अभियान रोकिएको अवस्था छ । यस मानेमा गत वर्षको तुलनामा चैतको दोस्रो साता यस वर्ष बढी नाजुक देखिन्छ ।
काठमाडौँ उपत्यकामा एयर क्वालिटी इन्डेक्स (एक्युआई) मानिसको लागि बढीमा १०० सम्म हुनुपर्नेमा चार सय नाघेको अवस्था छ । यो जनस्वास्थ्यका दृष्टिले अत्यन्तै घातक अवस्था हो । यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालय वा वातावरण मन्त्रालयले आम जनतालाई सचेत पार्न व्यापक प्रचारप्रसार गर्नुपर्ने हो । सरकार यसतर्फ चुकेको देखिन्छ वा भवितव्यको भरमा बसेको देखिन्छ । पानी पर्ला वा हुरी आँधी चल्ला अनि वातावरणको तुवाँलो हट्ला भनेर सरकार बसिरहेको देखिन्छ ।
तुवाँलो या धुलिमण्डल अहिले उत्कर्षमा पुगेको मात्र हो । तुवाँलो त यसअघि पनि नदेखिएको होइन । सरकारको लागि तुवाँलो प्रकृतिको सामान्य नियम जतिकै भएको छ । यसमा गम्भीर हुनुपर्ने कुनै कारणै के छ र ? भनेझैँ सरकार बसेको छ ।
देशभर असङ्ख्य ठाउँमा डढेलो लागेर वातावरण प्रदूषित भएको कुरा वातावरण विभागले बताए पनि यसको मूल कारण डढेलोभन्दा पनि जलवायु परिवर्तन नै भएको कुरा विज्ञहरू बताउँछन् । औद्योगिक प्रतिष्ठानबाट हरितगृह ग्यास निकै कम उत्सर्जन गर्ने हाम्रो देशमा पनि अन्य मुलुकले उत्सर्जन गर्ने ग्यासका प्रभावहरू देखिन थालेका छन । सन् २०१७ को बीबीसीको एक अनुसन्धानअनुसार विश्वभर हरितगृह ग्यास उत्सर्जन गर्ने धेरै देशले राष्ट्र सङ्घलाई आफूहरूले निकै कम ग्यास उत्सर्जन गर्ने गरेको मिथ्याङ्क उपलब्ध गराएका थिए । यस्ता देशहरूमा मूलतः अमेरिका, इटली, व्रिटेन, भारतलगायतका छन् । यी देशका औद्योगिक प्रतिष्ठानबाट उत्सर्जित हुने कार्बन र कार्बनमोनोअक्साइडसहितको ग्यासले विश्वकै तापक्रम बढाउने मात्र नभई यसले वायु प्रदूषणमा समेत नकारात्मक असर पारिरहेको हुन्छ । तर पनि ती देशहरूले उत्सर्जन गर्ने ग्यासको नकारात्मक प्रभाव भने संसारका सबै मुलुकले भोग्नुपर्ने हुन्छ । हामीले पनि त्यही मार भोगिरहेका छौँ अहिले । अमेरिका हरितगृह ग्यास उत्सर्जन गर्नेमा सबैभन्दा अग्रपङ्क्तिमा पर्दछ । त्यही अमेरिकाले पेरिस जलवायु परिवर्तनसम्बन्धी सम्झौताबाट हात झिकेको छ । हुन त नेपालको वर्तमान वायु प्रदूषणमा हरितगृह ग्यासबाट उत्सर्जित ग्यासको मात्राभन्दा पनि धेरैजसो धुलाका कण बढी भएको बताइएको छ । सरकारले चाह्यो भने यसको नियन्त्रण गर्न नसकिने होइन । सरकारले यो धुलिमण्डल हटाउन ठोस र परिणाममुखी कदम चाल्नु समीचीन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *