भर्खरै :

प्राध्यापक श्रेष्ठसँग भएको विद्वता किन सङ्ग्रह गरिएन ?

२०७७ चैत ३ गते ८९ वर्षको उमेरमा असामयिक निधन हुनुभएका प्राध्यापक माणिकलाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु र उहाँको शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु ।
चालीस वर्ष अघिदेखि नेपाल भाषा साहित्य तःमुज्याको दबुमा प्राध्यापक माणिकलाल श्रेष्ठ सम्बोधन गर्न आउनुहुन्थ्यो । बहुदलीय व्यवस्था पुनःस्थापनायताको तीस वर्ष उहाँले नेपाल–चीन मैत्री सङ्घ र नेपाल–कोरिया मैत्री सङ्घका कार्यक्रमहरूमा दुई देशको मित्रताबारे चर्चा गर्नुहुन्थ्यो । साम्राज्यवादविरोधी सङ्घर्षका दबूहरूमा पनि उहाँले सम्बोधन गर्नुभएको थियो ।
‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकमा प्रकाशित उहाँको जीवनी अध्ययन गरेकाहरूलाई थाहा भयो– नेपालभाषा, नेपाली भाषा र अङ्गे्रजी भाषाका विद्वान उहाँ विषयवस्तुमा सबैले बुझ्ने गरी धाराप्रवाह बोल्नुहुन्थ्यो । उहाँले १४ वर्षको उमेरमा २००३ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो भने २००७ सालमा नेपाल भाषामा स्नातक र बीएस्सी उत्तीर्ण गर्नुभयो । त्यसपछि उहाँ माक्र्सवादी चिन्तक, साम्राज्यवादविरोधी सङ्घर्षका योद्धा, नेपाल भाषाका विद्वान, अङ्गे्रजी साहित्यका विद्वान, पत्रकार, साहित्यकार, समालोचक, अनुवाद कलामा पारङ्गत, अर्थशास्त्री, कानुनविद् आदि विभूषणका हकदार हुनुभयो ।
उहाँ आँखा चिम्लेर विश्वास नगर्ने, पुजा नगर्ने, टिका नलगाउने तर सांस्कृतिक पक्षलाई कदर गर्ने अनिश्वरवादी अर्थात् माक्र्सवादी हुनुहुन्थ्यो । उहाँ संसदीय व्यवस्थाको आलोचक हुनुहुन्थ्यो । पुँजीवादी व्यवस्थामा महिला अधिकार नहुने र सर्वहारा वर्गको नेतृत्वमा बनेको समाजवादी व्यवस्थामा मात्र महिला अधिकार हुनेबारे उहाँमा भ्रम थिएन ।
विसं २०१३ मा भएको नेकपाको दोस्रो महाधिवेशनमा उहाँ लाल कम्युनिस्ट पार्टीबाट प्रतिनिधि भएर सहभागी हुनुभएको थियो । २०१४ सालमा काठमाडौँ नपा वडा नं. ९ को वडाध्यक्षमा निर्वाचित हुनुभयो । विसं २०१७ पुस १ गतेको राजाको कदमपछि उहाँ एक वर्ष श्रीमहल दरबारमा र दुई वर्ष नख्खु गरी तीन वर्ष जेलमा थुनिनुभयो । तीन वर्षको जेल जीवनमा उहाँले राजबन्दी र अन्य बन्दीलाई पढाउनुभयो । २०३६–३७ सालको जनमत सङ्ग्रहमा उहाँ बहुदलको प्रचारमा लाग्नुभयो । २०४६ सालको जनआन्दोलनमा पनि उहाँ सक्रिय हुनुभयो ।
उहाँ नेपाल–चीन मैत्री सङ्घको महासचिव र नेपाल–चीन सांस्कृतिक परिषद्को कोषाध्यक्ष भएर दुई देशको मित्रता जनस्तरमा विकास गर्न लाग्नुभयो । उहाँले नेपाल–कोरिया मैत्री सङ्घको अध्यक्ष भएर दुई देशको मित्रता जनस्तरमा विकास गर्न मेहनत गर्नुभयो । चीनको इतिहास, चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको क्रान्ति र त्यसपछि चीनको विकासबारे उहाँ सरल भाषामा बोल्नुहुन्थ्यो । उहाँले सन् १९५९ मै ‘तिब्बत चीनको अभिन्न अङ्ग’ भएको लेख लेखेर एक चीन नीतिबारे नेपाली जनतालाई शिक्षित गर्नुभयो । सात सय वर्षदेखि आजसम्म तिब्बत चीनको अभिन्न अङ्ग रहेकोबारे उहाँ स्पष्ट हुनुहुन्थ्यो । उहाँ लेख्नुहुन्छ– “सन् ७२९ मा तिब्बतका राजाले चीनका ताङ वंशका बादशाह स्वान शुङलाई लेखेको चिठीमा तिब्बत र ताङ्ग साम्राज्य एउटै परिवार र एकै राष्ट्र हो । सन् १७९१ को नेपाल–तिब्बत युद्धपछिको दुई देशको सम्झौतामा नेपालको तिब्बतसँग कुनै किचलो उठेमा त्यसको निर्णयको निम्ति पेकिङ दरबारमा सूचना पठाउने उल्लेख भएको तिब्बत चीनको अभिन्न अङ्ग हुनुको थप प्रमाण हो ।”
कोरियाली जनताका महान् नेता राष्ट्रपति किम इल सङको नेतृत्वमा भएको जापानी उपनिवेशवादविरोधी लडाइँ र अमेरिकी साम्राज्यवादविरुद्ध पित्रृभूमि मुक्ति युद्धबारे पनि उहाँ सरल भाषामा व्याख्या गर्नुहुन्थ्यो । उहाँ प्रजग कोरियाका राष्ट्रपति किम इल सङद्वारा प्रतिपादित मानिस नै सबथोकको मालिक भएको र सबैले मानिसको सेवा गर्नुपर्ने जुच्छे विचारको सरल भाषामा व्याख्या गर्नुहुन्थ्यो ।
सोभियत सङ्घको कम्युनिस्ट पार्टीका नेता एवम् साम्राज्यवादविरोधी सङ्घर्षका योद्धा स्तालिनलाई मन्द विष दिई हत्या गरिएपछि उहाँले ‘स्तालिन जीवितै भएको’ कविता नेपाल भाषामा लेख्नु भयो । उहाँले त्यस कवितामा ठूल्ठूला कलकारखानाका मजदुरको अनुहारमा र मेसिनका पाटपूर्जाको आवाजमा स्तालिन बाँचिरहनुहुने चर्चा गर्नुभएको थियो । उक्त कविता प्रकाशित नभएपछि उहाँले विचार पक्ष राम्रो भएको साहित्यलाई जोड दिनुहुँदै कला पक्ष राम्रो भए पनि प्रतिक्रियावादी साहित्यलाई अस्वीकार गर्नुपर्ने बताउनुभयो ।
उहाँ पाँच वर्ष हुनुहुँदा विद्यालयका पहिलो शिक्षकमध्ये शहीद गंगालाल श्रेष्ठ पनि हुनुहुन्थ्यो । उहाँले लेख्नुभएको गणेशमान सिंहको संस्मरणमा विसं २०१४ सालतिर राजा महेन्द्रको प्रत्यक्ष शासनकालको बेला नेकाका नेता सिंहले राजाको सम्भावित कदमबारे उहाँसँग सल्लाह लिनुभएको उल्लेख छ । त्यसबेला राजाले २००७ सालको सम्झौतानुसार संविधानसभाको चुनाव नगरी संसदको चुनाव गर्ने तयारी गर्दै थिए ।
विसं २०१५ माघ १९ देखि फागुन ७ गतेसम्म संसद्को निर्वाचन हुने भयो । उहाँले चुनावी सभामा कम्युनिस्ट पार्टीका उम्मेदवारको पक्षमा बोल्नुभयो र संसदीय प्रजातन्त्रमा वाक, प्रकाशन र सङ्घसंस्थाको स्वतन्त्रता भए पनि सबैलाई बाँच्न पाउने मौलिक स्वतन्त्रता नहुने विषयबारे जनतालाई शिक्षित गर्नुभयो ।
आम चुनावपछि नेकाका बीपी कोइरालाको नेतृत्वमा सरकार गठन भयो । सभामुख नेकाका नेता कृष्णप्रसाद भट्टराईले उहाँसँग राजा महेन्द्रले नेताहरूलाई थुनेर संसद् भङ्ग गर्ने आशङ्का व्यक्त गर्नुभएको थियो, नभन्दै त्यस्तै घटना भयो । २०१७ सालको काण्डमा पक्राउ परेका र पछि रिहा भएका बीपी र गणेशमान भारत प्रवासमा जानुभएको थियो । उहाँ पनि काम विशेषले भारत जानुहुँदा बीपी र गणेशमानले आफूहरूलाई भारत सरकारले नजरबन्दमा राखेको बताउनुभएको थियो । गणेशमान सिंहको भनाइ थियो– “नेपालको जेलको सट्टा यहाँको जेलमा परेका छाँै ।” भारत प्रवासबाट फिर्ता भएपछि गणेशमान सिंहले उहाँलाई पञ्चायतविरुद्ध संयुक्त सङ्घर्ष गर्न कम्युनिस्ट पार्टीहरूको बैठकको लागि आग्रह गर्नुभएको थियो । उहाँले सिंहलाई त्यस्तो बैठकको आयोजना कम्युनिस्ट नेता तुल्सीलालमार्फत हुनसक्ने सुझाउनुभएको थियो ।
पञ्चायतविरुद्ध संयुक्त वाममोर्चा र नेकाको आन्दोलनबाट बहुदलीय व्यवस्था पुनःस्थापना भयो । बहुदलीय व्यवस्थायताका सरकारमा गएका पार्टीका नेताहरूमा ‘निर्वाचित राजा’ को व्यवहार देखिएको जनगुनासो बढ्दो छ । प्राध्यापक श्रेष्ठलाई अहिले सम्झनुपर्दा उहाँसँग रहेको विद्वता सरकारहरूले अगाडि नै सङ्ग्रह किन गरेनन् भन्ने प्रश्न उठ्नु स्वभाविक छ ।
(नेपालभाषा साहित्य तःमुज्याद्वारा आयोजित प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा चैत १६ गते नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालभाषामा राख्नुभएको मन्तव्यको सार –सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *