भर्खरै :

झन्डा रोप्नुपर्छ

पल्लाघरे कान्छा
आफ्नो बारीमा
झन्डा रोपेर
पद र पैसा फैलाउने
धुनमा लाग्दा
चीलले चल्ला
टिपेर लगेको
थाहै पाएन,
वल्लाघरे कान्छा
झन्डा बोकेर
महलमा जीवन बिताउने
सुरमा लाग्दा
स्यालले कुखुरा
चोरेको होसै भएन ।
हो, हामीले
झन्डा रोप्नुपर्छ
झन्डा बोक्नुपर्छ
मात्र निर्मल आकाशको निम्ति
मात्र निरन्तर बगिरहने
नदीहरूको निम्ति
अतः हामीले
गर्भभित्रको भ्रुणलाई पनि
पृथ्वी बोक्न लगाउनुपर्छ
जसले आफूले रोपेको झन्डामा
पैसा फल्ने आशा नराखोस्
झन्डा बोकेर उकालो लाग्दा
गगनचुम्बी महलको सपना नदेखोस्
हामीले झन्डा रोप्नुपर्छ
हामीले झन्डा बोक्नुपर्छ
हामीले रोपेको झन्डामा
निरङ्कुशताको सिक्री चँुडाल्ने
आँट फलाउनै पर्छ
जसको निम्ति
हाम्रो पसिनाले
झन्डामा सिञ्चित गर्नुपर्छ
हामीले बोकेको झन्डामा
हाम्रै रगतका टाटाहरू देखिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *