सर्वहारा क्रान्ति र क्रान्तिकारी नैतिकता आत्म–रुपान्तरणको माक्र्सवादी सिद्धान्त – २
- असार २, २०८३
समयमा सही उपचार भएन भने बिरामी मानिसको मृत्यु नजिकिने हुन्छ । त्यसैले पहिलो जीवन ईश्वरले दिएको मान्ने आस्तिक मानिसहरू सही उपचार गरी बिरामीको जीवन बचाउने चिकित्सकहरूलाई जीवित ईश्वर वा भगवान भन्ने गर्छन् । चिकित्सकहरूको पेशागत शपथमा पनि बिनाकुनै दबाब वा स्वार्थमा परी बिरामीको उपचार गर्नेछु भन्ने आशय पाइन्छ । तर, हिजोआज चिकित्सकहरूले आफ्नो शपथ भुल्न थालेका छन् । त्यसले चिकित्सकहरूले समाजमा पाइरहेको आस्था गुम्दै गएको छ । चिकित्सकहरू कसरी बिरामीको सही उपचार गर्ने भन्दा कसरी बढीभन्दा बढी पैसा कमाउने भन्ने धुनमा देखिन्छन् । सबै चिकित्सकका हकमा यो कुरा लागु हुँदैन तर व्यापारिक उद्देश्यले सञ्चालित निजी मेडिकल कलेजमा पढेर आएका चिकित्सकहरूमा यो प्रवृत्ति बढी देखिएको छ । त्यस्तो प्रवृत्तिका चिकित्सकहरूको नोकरी सरकारी अस्पतालमा भए पनि बढी सेवा निजी अस्पताल, नर्सिङ होम र क्लिनिकहरूमा गरिरहेका छन् । सरकारी अस्पतालमा आएका बिरामीको उपचार त्यहीँ नगरी निजी अस्पतालहरूमा रेफर गरिरहेका छन् । जिल्ला वा प्रादेशिक सरकारी अस्पतालहरूबाट मात्र होइन केन्द्रीय अस्पताल र मेडिकल अस्पतालका चिकित्सकहरूले समेत रेफर गरिरहेका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले समेत मोरङ र झापा जिल्लामा खुलेका निजी अस्पतालमा बिरामी रेफर गर्दै आएका समाचार केही दिनअघि आएका थिए । त्यसो गर्नुको मुख्य कारण चिकित्सकले त्यसबापत पाउने कमिसनको रकम हो । त्यस्तै कतिपय चिकित्सकहरूले अनावश्यक प्याथोलोजी जाँच गराएर निजी प्याथोलोजीहरूबाट मोटो रकम कमिसन लिने देखिँंदै आएको हो । सर्वसाधारण जनताले भगवानको दर्जा दिएका चिकित्सकहरू अहिले द्रव्यपिचासी व्यापारी बनेका छन् । चिकित्सक पेशा सेवा हो कि व्यापार व्यवसाय हो ? तड्कारो प्रश्न उठेको छ ।
Leave a Reply