भर्खरै :

समाजवादी गणतन्त्र जनताको चाहना

वि सं. २०४६ सालको ऐतिहासिक जनआन्दोलन मौलिक र राजनैतिक अधिकार प्राप्त गर्नको निम्ति भएको थियो । निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गर्न अघि बढेको उक्त आन्दोलन चैत २६ गते उत्कर्षमा पुगेको थियो र संवैधानिक राजतन्त्र व्यवस्था कायम भएको थियो । फागुन ७ गतेदेखि सुरु भएको उक्त ऐतिहासिक आन्दोलन नेका र वामपन्थी मोर्चा मिलेर संयुक्तरूपमा अघि बढेको थियो । यही आन्दोलनमा भक्तपुरका ६ जना युवाले सहादत प्राप्त गरेका थिए । जनआन्दोलन सफल भएको सन्दर्भमा जनआन्दोलन दिवस पनि मनाइएको थियो ।
संवैधानिक राजतन्त्रात्मक व्यवस्था २०६५ जेठमा अन्त्य भयो र सङ्घीय गणतन्त्रात्मक घोषणा भयो । गणतन्त्र घोषणापछि संविधानसभाको निर्वाचन भयो । संविधान बन्यो । समाजवादउन्मुख देश बन्यो । समाजवादउन्मुख देशको नेतृत्व केपी ओलीले गरे या केपी ओली प्रधानमन्त्री भए । सरकारको नेतृत्व गरेको तीन वर्षपछि पनि प्रम ओलीले समाजवादउन्मुख अवधारणालाई व्यवहारमा लान सकेनन् । समाजवादउन्मुख देश कागजमा मात्र सीमित भयो ।
२०४६ को ऐतिहासिक जनआन्दोलन पञ्चायती व्यवस्था अन्त्यको महत्वपूर्ण आन्दोलन बन्यो । आन्दोलनमा रगतको खोलो बग्यो, राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भयो । गणतन्त्र स्थापना भएको १२ वर्ष बितिसक्दा पनि नेपाली जनताले गणतन्त्र स्थापनाको अनुभूति गर्न पाएका छैनन् । राजतन्त्रभन्दा गणतन्त्र एक कदम अगाडि मानिन्छ । तर, यो पुँजीवादी गणतन्त्र हो । श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने व्यवस्था समाजवादी गणतन्त्र हो । समाजवादी गणतन्त्र ल्याउनेतर्फ सत्तासीन कम्युनिस्टहरूको ध्यान गएको छैन । यसबारे आम जनतामा राजनीतिक चेतना जगाउन नेमकिपाले समाजवादी प्रचार अभियान थालेको हो । बहुमत जनता सचेत, सङ्गठित र सिद्धान्तनिष्ठ नभइकन या कम्युनिस्ट सिद्धान्त र विचारबाट नभिजिकन आमूल परिवर्तन सम्भव छैन । नेमकिपाको राजनीतिक गतिविधि आमूल परिवर्तनको निम्ति हो, वर्गसङ्घर्षको निम्ति हो । वर्गसङ्घर्षले मात्र देशमा आमूल परिवर्तन सम्भव हुन्छ या समाजवादी क्रान्ति हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *