भर्खरै :

चीनको गरिबी निवारणबाट विकासशील देशले के सिक्ने ?

जहाँ इच्छा, त्यहाँ उपाय । चीनले गरिबी निवारणमा पनि यो कुरा सत्य भएको प्रमाणित गरेको छ ।
चीनका राष्ट्रपति सी चिनफिङले चीनमा निरपेक्ष गरिबी निर्मूलन भएको घोषणा गर्नुभयो । चीनको समकालीन इतिहासमा यो एउटा कोशेढुङ्गा हो । चिनियाँ कम्युनिस्ट पार्टीको एक सय वर्ष लामो इतिहासमा हासिल भएका सबभन्दा ठूला उपलब्धिमध्ये यो पनि महत्वपूर्ण उपलब्धि हो । चार दशकअघि चीनमा सुधार र खुलापनको नीति सुरु भयो । त्यसयता चीन सरकारले ७७ करोडभन्दा बढी जनतालाई गरिबीबाट उकासेको छ । त्यही भएर सन् १९८१ मा ८८.३ प्रतिशत रहेको चीनको चरम गरिबी दर सन् २०१९ मा एक प्रतिशतमा झारिएको थियो । बितेका आठ वर्षमा चीनले ९ करोड ८९ लाख ९० हजार ग्रामीण क्षेत्रका जनतालाई गरिबीको वर्तमान मापदण्डअनुसार गरिबी मुक्त गरेको थियो । यी उपलब्धिमार्फत विश्वव्यापी गरिबी निवारणको लक्ष्यमा चीनले ७० प्रतिशत योगदान गर्न सफल भएको छ ।
चीनले चरम गरिबी उन्मूलन गरेको तथ्यले आवश्यक प्रतिबद्धता भए गरिबीलाई शून्यमा झार्ने लक्ष्य हासिल गर्न सम्भव भएको देखाएको छ । त्यसो त यो उपलब्धि हासिल गर्न पक्कै सजिलो काम थिएन । यद्यपि, चीनले हासिल गरेको यो सफलताले करोडौँ जनताको लागि ठुलो दुःखको विषय बनेको चरम गरिबी पराजित नै गर्न नसकिने कुरो रहेनछ भनी अन्तर्राष्ट्रिय समुदायलाई सन्देश दिएको छ । जनतालाई गरिबीबाट उकास्न समर्पित प्रयास र राजनीतिक इच्छाशक्तिका साथै स्थानीय अवस्थामा अनुकूलन हुनसक्ने ढाँचाको पनि खाँचो पर्छ । चीनको सन्दर्भमा यस्ता ढाँचाले पूर्वाधार, व्यापार, रोजगारी, अनुसन्धान, प्रविधि, शिक्षा र सार्वजनिक सेवाको विकासका सूत्रहरूमा जोड दिन्छ ।
चरम गरिबीमाथि चीनको विजय यति उल्लेखनीय छ कि यो विजयलाई विकासशील देशहरू (ग्लोबल साउथ) ले कदापि बेवास्ता गर्न सक्दैनन् । सबै देशका आ–आफ्नै विकासका विशिष्ट बाटा छन् । त्यस्तै आ–आफ्नो ऐतिहासिक परिस्थितिअनुसार आफ्नै खालको राजनीतिक प्रणाली छ । तथापि चीनको सफलताबाट सबैले केही न केही सिक्न सक्छन् जसले ती देशमा चरम गरिबीमाथि विजय हासिल गर्न टेवा पु¥याउन सक्छ । गरिबी निवारणको लागि हरेक देशले आ–आफ्नै बाटो बनाउनुपर्छ । कुनै पनि ढाँचाको अन्धानुकरण र जस्ताको तस्तै लागु गर्न सकिन्न । तथापि, चीनको अनुभवले मनग्य नेतृत्व, बलियो राजनीतिक इच्छाशक्ति, मध्यम र दीर्घकालीन दुवै कार्ययोजना, कमजोर समुदाय पहिचान गर्ने प्रभावकारी सार्वजनिक नीति, गरिबीको मूल कारणको विश्लेषण र गरिबीमाथि विजय हासिल गर्न उपयुक्त सार्वजनिक नीतिको तर्जुमा र कार्यान्वयन भए गरिबी कसरी निवारण गर्न सकिन्छ र कसरी त्यो लक्ष्य हासिल गर्न सकिन्छ भन्ने कुरा चीनको अनुभवले हामीलाई केही उदाहरण देखाएको छ ।
चरम गरिबी निवारण गर्न चिनियाँ कार्यक्रमको सबभन्दा महत्वपूर्ण पाठ भनेको यो कार्य कसैले उपेक्षा गर्नै नसकिने गरी महत्वपूर्ण हुनु हो । चरम गरिबी अन्त्य गर्ने विषय सबैको चासोको विषय हो । चीन सरकारले यो समस्या समाधान गर्ने लक्ष्य निर्धारण गरेर त्यसको लागि आवश्यक योजना तय गरे पनि यो चिनियाँ सरकारको मात्र काम भने थिएन । चीनमा चिनियाँ कम्युनिस्ट पार्टी भनेको समूहगान (अचेस्ट्रा) को निर्देशकजस्तै हो । साथै यो अभियानमा लाखौँ लाख स्वयम्सेवकहरूले पनि योगदान गरे ।
यो काम आफू एक्लैबाट मात्र फत्ते गर्न सकिँदैन भन्ने कुरा चीन सरकारलाई राम्ररी थाहा थियो । चीनले गरिबीविरुद्धको लडाइँमा सरकार, व्यापारी र जनतालाई एकाकार गर्नमा जोड दिने गरेको छ । गरिबी निवारणमा सफल निजी कम्पनी, सामाजिक सङ्गठन र व्यक्तिलाई दिन सरकारले आफ्नै आर्थिक लगानीमा पुरस्कार स्थापना गरेको छ ।
त्यसबापत महत्वपूर्ण व्यापारिक कम्पनीहरूले स्रोतको जोहो गरे र विपन्न क्षेत्रको आर्थिक वृद्धि बढाउने गतिविधिसँग सम्बन्धित कार्यक्रममा लगानी गरे । तसर्थ, गरिबी निवारण गर्न चीनले आफ्नै शैलीको आन्तरिक प्रायोजन प्रणाली बनाएको छ । तिनमा विशेषतः पूर्वी चीनका विकसित क्षेत्रको नेतृत्वदायी भूमिका छ । अरू पनि धेरै कम्पनीहरूले यसमा भूमिका खेलेका छन् । गरिबीविरुद्ध लड्ने निकायहरू अधिकांशतः सरकारी निकाय छन् भने निजी क्षेत्रले पनि उल्लेखनीय योगदान गरेका छन् । उनीहरूले वर्षौँ वर्षसम्म आफ्ना स्रोत–साधनको केही अंश विपन्न क्षेत्रलाई उकास्न खर्च गरेका छन् ।
सरकारी र निजी क्षेत्र दुवैको सहायता र लगानीको मूल लक्ष्य भनेको गरिबीले गाँजेको क्षेत्रको आफ्नै खुट्टामा उभिएको विकास गर्नु हो । सरकारले उत्पादन क्षेत्रमा काम गर्न सक्ने उमेरका तालिम प्राप्त जनतालाई औद्योगिक सहायतामार्फत सहयोग गर्दै आएको छ । सन् २०१६ मा चीनले तीस वटा काउन्टीमा सौर्य ऊर्जा उद्योगको विकासमार्फत गरिबी निवारण गर्ने नमुना योजना लागू गरेको थियो । त्यो कार्यक्रम ४७१ काउन्टीका ३५ हजार गाउँहरूमा विस्तार गरियो । त्यसले २० लाख गरिब परिवारको आर्थिक अवस्थामा सुधार ल्यायो । अन्य त्यस्तै कार्यक्रमले पर्या–पर्यटनलाई प्रवद्र्धन ग¥यो । थप अवसरको लागि तालिम कार्यक्रमहरूको बन्दोबस्त गरियो ।
चरम गरिबी निवारण गर्न केही समुदायले ग्रामीण सहकारी स्थापना गरेर प्रयोग गरे । ती सहकारीहरूले साझा श्रम र स्रोतमार्फत परिवारहरूको उत्पादकत्व वृद्धि गर्ने प्रयास गरे । सरकारी बैङ्कहरूले गरिब जनतालाई लघु ऋण उपलब्ध गराइयो । जसले विद्युत्तीय व्यापार (ई–कमर्श), स्थानीय जनताले बनाएका लुगाफाटा र अन्य उत्पादनको बिक्रीमा विकास गर्न टेवा पु¥याउँछ । यी उदाहरणले कसरी निजी क्षेत्र र समाजका सदस्यहरूले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा गरिबीमाथि विजय हासिल गर्न हातमा हात मिलाएर काम गर्न सक्छन् भन्ने देखाएको छ ।
यदि ग्लोबल साउथबाट चरम गरिबी उन्मूलन गर्न हामीले चाहेको भए सबैको सहभागितामा मात्र यो काम सम्भव भएको कुरा हामीले भुल्नु हुन्न । चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौँ राष्ट्रिय महाधिवेशनको एउटा भाषणमा राष्ट्रपति सीले भन्नुभएको थियो, “साझा समृद्धितिरको यो यात्रा हामीले कसैलाई पनि पछाडि छोड्न सक्दैनौँ ।”
(लेखक फुदान विकास प्रतिष्ठानका अध्येता र सामािजक विज्ञान कलेजका प्राध्यापक हुनुहुन्छ ।)
स्रोतः चाइना डेली
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *