नेपाली वास्तुकला गीत
- जेष्ठ २२, २०८३
यो देशमा
डर केवल भावना होइन,
शासन चलाउने पुरानो हतियार हो ।
जनता डराइरहेका छन् –
कर बढ्ला भनेर,
जागिर छुट्ला भनेर,
छोराछोरी बिदेसिन बाध्य होलान् भनेर ।
कर्मचारी हाकिमसँग डराउँछन्,
व्यापारी कर कार्यालयसँग,
किसान बजारसँग ।
सुकुमवासी झन् बढी डराउँछन् –
भोलि डोजर आउला भनेर,
वर्षौँदेखिको टहरा उजाड होला भनेर ।
चुनावताका ‘जनता’,
चुनावपछि ‘अवैध बस्ती’ बनाइन्छन् ।
कम्युनिस्ट सिद्धान्तले
जमिन र श्रमिकको अधिकारको कुरा गर्यो,
तर, आज
रातो झण्डामुनि
जग्गा दलाली मौलिएको छ ।
माक्र्स भाषणमा छन्,
तर, भूमिहीन जनता
अझै खोलाको किनारमै छन् ।
राजनीति विचारले होइन,
समीकरण र स्वार्थले चलिरहेको छ ।
जनताको नाममा सत्ता चढ्नेहरू
जनताभन्दा
ठेकेदार र बिचौलियासँग नजिक छन् ।
र जनता ?
उनीहरू अझै
चुनाव आउँदा आशामा,
चुनाव सकिँदा निराशामा बाँच्छन् ।
साँचो राजनीति भनेको
झुपडी हटाउनु होइन,
मान्छेलाई सम्मानसहित बाँच्ने आधार दिनु हो ।
नत्र
यो देशमा
डरको अर्थशास्त्र यस्तै चलिरहनेछ –
जहाँ गरिब सधैँ असुरक्षित,
र सत्ता सधैँ सुरक्षित हुन्छ ।
Leave a Reply