“अपराधमा महिला” विषयमा दोस्रो राष्ट्रिय सम्मेलन उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण भए अपराध घट्दै जाने
- जेष्ठ २३, २०८३
भक्तपुर, २९ वैशान । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) ले शैक्षिक सत्र २०७७ को समीक्षा तथा आगामी सत्रका योजनाबारे छलफल थालेको छ । नव वर्ष २०७८ को अवसरमा आइतबार आयोजित एक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले विद्यालय र कलेजले नयाँ पुस्तालाई सुसंस्कृत बनाउन जरूरी भएकोमा जोड दिनुभयो ।
उहाँले विद्यार्थीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे सचेत बनाउनुपर्ने भन्दै समाजबाट अन्धविश्वास अन्त्य गर्नु जरूरी भएको धारणा राख्नुभयो । सांसद सुवालले विद्यालय र कलेजबाट डाक्टर र इन्जिनियर तयार भएझैँ देश र जनताको सेवा गर्ने राजनीतिक कार्यकर्ता पनि तयार गर्नु आवश्यक भएको विचार राख्नुभयो ।
योग गुरू भनिएका रामदेवले भारतीय एकाधिकार पुँजी र विस्तारवादको प्रतिनिधित्व गरेको उल्लेख गर्दै उहाँले यसबारे नेपाली जनतालाई सचेत गराउनु जरूरी भएको बताउनुभयो ।
“सरकारी स्वामित्वको नेपाल टेलिकमको भन्दा निजी दूर सञ्चार सेवा प्रदायकहरूको नेटवर्क बलियो बनाइँदा नेपाली जनता ठगिएका छन्”, उहाँले भन्नुभयो । सांसद सुवालले एमसीसी कार्यान्वयन नहुँदा पुँजीगत खर्च कम भएको झूटा प्रचार गरिएको उल्लेख गर्दै म्यान्मारमा सैनिक शासन र सूकीको गिरफ्तारी प्रजातन्त्र र मानव अधिकारको हनन भनी एकतर्फी प्रचार गरिएको चर्चा गर्नुभयो । उहाँले थप्नुभयो, “सूकीको एनडब्लूपीको मुख्यालय संरा अमेरिकामा र शाखा कार्यालय भारतमा रहेको बिर्सनु हुँदैन ।”
सूकी ६ लाख अमेरिकी डलर र ११ किलो सुन भ्रष्टाचारमा परेको समाचारलाई ढाकछोप गर्न नमिल्ने भन्दै उहाँले सूकी समर्थकहरूले म्यान्मारको चिनियाँ उद्योग र चीनको झन्डामा आगो लगाएको पनि भुल्नुहुँदैन भन्नुभयो ।
साम्राज्यवादीहरूको इराक, लिविया, अरब देशविरूद्धको युद्धमा ८ लाख मानिसको मृत्यु भएको पनि थाहा नभएको जस्तो गर्नु उचित नभएको उहाँको तर्क थियो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् इसानका पूर्व अध्यक्ष सरोजराज गोसाईले तल्लो वर्गका केटाकेटीलाई योग्य तथा दक्ष बनाउने आदर्श बोकेर इसानको स्थापना गरिएको स्मरण गर्दै असल नागरिकको उद्देश्य पूरा गर्नु सजिलो नभएको धारणा राख्नुभयो । उहाँले आलोचनात्मक चेत भएका युवा पुस्ता तयार गर्ने इसानको लक्ष्यमा सफलता मिल्ने आशा व्यक्त गर्नुभयो ।
बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले एमाले र माओवादी केन्द्रकै कारण संसद्को बैठक सुचारू हुन नसकेको भन्दै कोभिड–१९ को कारण गरिबका छोराछोरीले पढाइ छोड्नुपरेको विचार राख्नुभयो ।
इसानका केन्द्रीय उपाध्यक्ष सनकमान महर्जनले देश र समाजप्रति जिम्मेवार नागरिक तयार गर्ने इसानको उद्देश्य पूरा गर्न सबै गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा इसानका परीक्षा संयोजक कृष्णराम दुवाल, प्रकाशन समितिका संयोजक बलराम प्रजापति, परीक्षा समितिका सदस्य कृष्णराम त्वानावासुले आगामी शैक्षिक सत्रको योजना प्रस्ताव राख्नुभएको थियो । कार्यक्रममा आगामी शैक्षिक पात्रोबारे पनि छलफल गरिएको थियो ।
इसानका अध्यक्ष प्रेमजन थापाश्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा महासचिव पुरूषोत्तम ग्वाछाले पनि आफ्नो विचार राख्नुभएको थियो ।
Leave a Reply