भर्खरै :

कालीकोटमा अझै बलेन बिजुली बत्ती

मान्म, २९ चैत । कालीकोटवासी झन्डै एक वर्षदेखि विद्युत्को प्रतीक्षामा छन् । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा रहेको शान्तिघाट साना जलविद्युत् आयोजना अवरोध भएको १० महिना बितिसक्दा पनि मर्मत नहुँदा कालीकोटवासी एक वर्षदेखि विद्युत्को प्रतीक्षामा रहेका हुन् ।
शान्तिघाट जलविद्युत् आयोजना हालसम्म नबन्दा जिल्ला सदरमुकाममा हाल जेनेरेटरको माध्यमबाट दैनिक दुई घण्टा बत्ती दिने गरिएको छ । कालीकोटवासीलाई भने जलविद्युत् आयोजना कहिले बन्ला र विद्युत् कहिले आउला भन्ने पिरलो छ । यसको मर्मत हुने कुनै आधार नभएकोले विद्युत्का पोल र तारका लाइन हेरेर चित्त बुझाउने अवस्था आएको खाँडाचक्र नगरपालिका–१ का स्थानीयवासी प्रेमबहादुर शाहीले बताउनुभयो । उहाँले विद्युत् नियमित नहुँदा दैनिक कामकाजमा असर पार्ने गरेको बताउनुभयो ।
कालीकोटका शान्तिघाट जलविद्युत् आयोजना र राष्ट्रिय प्रसारण लाइनको विद्युतका पोल र लाइन गाउँमा आए पनि बत्ती कहिले आउला भनेर बाटो हेरेर बसेको रास्कोट नगरपालिका–६ का विक्रमबहादुर शाहीले बताउनुभयो । उहाँले विद्युत् तारको लाइनमात्र होइन बत्ती पनि छिटो सञ्चालन गर्न माग गर्नुभयो । “नगरका सबै वडामा पोल गाडेर तार तान्ने काम भइसकेको छ तर बत्ती आउने कुनै टुङ्गो छैन”, उहाँले भन्नुभयो ।
कालीकोटको एकमात्र आयोजना शान्तिघाट जलविद्युत् आयोजनाको उत्पादन भइरहेको विद्युत् बिग्रेकोले बनाउने काम भइरहेको छ । शान्तिघाटभन्दा राष्ट्रिय प्रसारण लाइन ल्याउने गरी गाउँमा विद्युतीकरणको काम भइरहेको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले जनाएको छ ।
गाउँमा लाइन विस्तार गरेर ठिक्क पार्ने र राष्ट्रिय प्रसारण लाइन आउनेबित्तिकै गाउँमा बत्ती दिने कार्यालयको योजना रहेको वितरण केन्द्रका प्राविधिक शिवचन्द्र चौलागाईँले बताउनुभयो । “पहिला गाउँगाउँमा विद्युतका पोल र तार तान्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो ।
आर्थिक सर्वेक्षण, २०७५ अनुसार कर्णालीका ७३ प्रतिशत जनता विद्युत् पहुँचभन्दा टाढा छन् । कर्णालीका ७९ वटा स्थानीय तहमध्ये हुम्ला, जुम्ला, कालीकोट, डोल्पा र मुगु जिल्लाका ४३ स्थानीय तहमा अझै विद्युत्को पहुँच पुग्न सकेका छैनन् । कर्णालीका १७ लाख ७० हजार नागरिकमध्ये अझै ७३ प्रतिशत जति बत्तीविहीन छन् । कर्णालीमा नौ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको थियो तर साविक कर्णाली अञ्चलका ८० प्रतिशत नागरिक अँध्यारोमै दिन गुजारा गर्छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *