भर्खरै :

खेलकुद प्रतियोगिताका सहयोगीलाई धन्यवाद ज्ञापन

भक्तपुर, ३१ चैत । भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ देखि चैत ३ गतेसम्म सम्पन्न अन्तरनगर बुद्धिचाल र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका निर्णायक, आर्बिटर र रेफ्रीहरूमा धन्यवाद एवम् प्रशंसापत्र वितरण कार्यक्रम सोमबार नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुद कुनै पनि राष्ट्रको सम्मान र गौरव बढाउने विषय भएको औँल्याउँदै नेपाललाई विश्वमा चिनाउने खेलकुदले नै हो र खेलाडीहरू देशकै सम्पत्ति हुन् भन्नुभयो ।
उहाँले दुई देशबीचको सम्बन्ध बढाउन खेलकुदले महत्वपूर्ण भूमिका खेलेका उदाहरणहरू दिंदै नगरपालिकाको आयोजनामा भएको अन्तरनगर बुद्धिचाल र नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले आगामी दिनहरूमा पनि खेलकुद प्रतियोगितालाई अगाडि बढाउने विचार राख्दै भक्तपुरलाई सभ्य र सांस्कृतिक नगरको रूपमा परिचित गर्न यहाँ मनाइने जात्रा तथा पर्वहरू पनि शान्तिपूर्ण र मर्यादित हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नपाको आयोजनामा भएको खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा सहयोगी सबैमा धन्यवाद ज्ञापन गर्दै खेलको माध्यमबाट सभ्य र अनुशासित नागरिक तयार गर्न मद्दत पु¥याउने बताउनुभयो ।
कार्यक्रममा नेपाल भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण रायले विद्यार्थीहरूलाई पढाइ सँगसँगै कुनै न कुनै खेलमा सहभागी गराउनु औचित्यपूर्ण भएको र भक्तपुर जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष निरञ्जन प्रजापतिले नपाको आयोजनामा भएको बुद्धिचाल प्रतियोगितामा नेपालका च्याम्पियन खेलाडीहरूको उत्साहपूर्वक सहभागिता रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले धन्यवाद ज्ञापन मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले २०७७ फागुन २९ देखि चैत ३ गतेसम्म सम्पन्न अन्तरनगर बुद्धिचाल र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका निर्णायक, आर्बिटर, रेफ्री, स्वयम्सेवक र भक्तपुर नपाको आयोजनामा पुस १० गतेदेखि सञ्चालित छिपुङ खेलका प्रशिक्षकहरूलाई प्रशंसा पत्र वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *