भर्खरै :

चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि

चीनको अर्थतन्त्र यस वर्षको पहिलो त्रैमासिक अवधिमा तिव्र गतिमा वृद्धि भएको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । कोरोना भाइरस महामारीका कारण केही शिथिल देखिएको अर्थतन्त्रमा यस वर्ष तीव्र विकास भएको हो ।
चीनले विगत तीन दशकयतादेखि देशको अर्थतन्त्रको त्रैमासिक विवरण तयार गर्न थालेको थियो । यस वर्ष पहिलो त्रैमासमा कुल गार्हस्थ उत्पादन (जीडीपी) १८.३ प्रतिशतले वृद्धि भएको चिनियाँ सरकारी अधिकारीहरूले बताएका छन् ।
यद्यपि, एएफपीले अर्थशास्त्रीबीच गरेको सर्भेको तुलनामा यो वृद्धि केही कम हो ।
सन् २०१९ को अन्त्यतिर कोरोना महामारी चीनको उहानबाट फैलिए पनि सरकारले अपनाएको कडा नियन्त्रण उपाय र आम सर्वसाधारण पनि घरमै बसिदिएकोले चीनमा कोभिड चाँडै नियन्त्रणमा आएको थियो ।
राष्ट्रिय तथ्याङ्क ब्युरोकी प्रवक्ता लिउ आइहुवाले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रिय अर्थतन्त्र राम्रो ढङ्गबाट अगाडि बढिरहेको प्रतिक्रिया दिनुभयो ।
अघिल्लो वर्षको तुलनामा जीडीपीमा तीव्र वृद्धि देखिनुमा एउटा कारण अघिल्लो वर्ष जीडीपीमा न्यून वृद्धि पनि हो, उहाँले भन्नुभयो ।
गत मार्च महिनामा खुद्रा बिक्रीमा निकै बढी वृद्धि भएको छ । चिनियाँ अर्थतन्त्रको आधार स्तम्भको रूपमा रहेको उपभोक्ता क्षेत्रमा राम्रो प्रगति भएको तथ्याङ्कले देखाएको छ ।
औद्योगिक उत्पादन त्रैमासिक अवधिमा अनुमान गरिएभन्दा केही कम अर्थात् २४.५ प्रतिशतले वृद्धि भएको छ । केही दिनअघि मात्र सार्वजनिक विवरणमा चीनको आयातभन्दा निर्यात मार्च महिनामा निकै बढेको देखाइएको थियो ।
प्रवक्ता लिउले अन्तर्राष्ट्रिय परिदृश्य अझै पनि अनिश्चितताले घेरिएको बताउनुभयो ।
विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसविरूद्धको खोप अभियान सञ्चालन गरिए पनि खोपको वितरण असन्तुलित रहेको र धेरैजसो मुलुकमा भाइरस फैलिनेक्रम बढेसँगै लकडाउन र अन्य सुरक्षात्मक उपाय अपाउन थालिएका छन् ।
चीनमा सहरी बेरोजगारी दर पनि केही घटेको छ । पहिलो त्रैमासिक अवधिमा शहरी बेरोजगारी ५.३ प्रतिशतको हाराहारीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *