भर्खरै :

सक्वको म राजदास – ८० /अलेक्जेन्डर फादेयेभ : एक सोभियत क्रान्तिकारी लेखक

सोभियत सङ्घ खाद्यान्न तथा औद्योगिक उत्पादनको लागि मात्र होइन विश्व साहित्य जगतको लागि पनि एक उर्वर भूिम थियो । अठारौँ शताब्दीको सुरुमा महान् कवि अलेक्जेन्डर पुश्कीनको उदयदेखि बीसौँ शताब्दीका क्रान्तिकारी साहित्यकार लेखक अलेक्जेन्डर फादेएभ निधनसम्ममा सोभियत भूिममा धेरै प्रसिद्ध लेखक, कवि, साहित्यकारहरू जन्मे र विश्वमा कीर्तिमान नै स्थापना गरे ।
सन् १७९९ को जनवरी २९ मा मस्कोमा जन्मेका महान् रुसी कवि अलेक्जेन्डर पुश्कीनलाई त रुसको साहित्यको पिता ‘फादर अफ रसियन लिटरेचर’ भनिन्छ र सामन्तवादी रुसमा सबभन्दा पहिले सन् १८२५ मा लेनिनग्राडमा (तत्कालीन सेन्ट पिटसवर्ग) भएको डिसेम्बर आन्दोलनका उनी अप्रत्यक्ष सहभागी र प्रत्यक्ष समर्थक थिए । अत्यन्त निर्भिक स्वभावका कवि पुश्कीनलाई तत्कालीन जार शासक निकोलाई प्रथमले आफ्नो दरबारमा बोलाएर सोधेका थिए – “यदि डिसेम्बर आन्दोलन हुँदा पुश्कीन सेन्ट पिर्टसवर्गमा भएका भए जार शासकविरुद्ध भएको त्यस डिसेम्बर आन्दोलनमा उनी (पुश्कीन) कसको पक्षमा हुन्थे ?” रुसका शक्तिशाली शासक जार निकोलाईलाई पुश्कीनले भने, “सरकार म त्यस आन्दोलनमा अवश्य पनि आफ्ना आन्दोलनकारी साथीहरूका साथमा हुन्थेँ ।”
कवि पुश्कीनको निडर र इमानदारी देखेर जार रिसाउनुको सट्टा धेरै खुसी भए । पुश्कीनको मृत्युपश्चात् उनका सबै अप्रकाशित साहित्यिक रचना र कृतिहरू सरकारको खर्चमा प्रकाशित गरियो र त्यसबाट आएको लेखकस्वको सबै रकम पुश्कीनका श्रीमती र सन्तानहरूको लागि दिइयो ।
रुसले पुश्कीनपछि पनि धेरै विश्व प्रसिद्ध लेखक, साहित्यकारहरू जन्मायो । जस्तै, लेर्मोन्स्टोभ, गोगल, लेभ टोल्सोय, दस्ताएभस्की, चेखोभ (लघु कथाकार) र पछि आएर भ्यादिमीर मायाकोभ्स्की, सेर्गेई एसेनीन, म्याक्सीम गोर्की, अलेक्जेन्डर फादेएभ ।
फादेएभ म्याक्सीम गोर्की, सोलोखोभजस्ता विश्व प्रसिद्ध साहित्यकारहरूका समकालीन लेखक थिए । तापनि, गोर्कीको जस्तो उनको प्रचार भएन । उनले धेरै कृतिहरू पनि लेखेनन्, तर जे जति लेखे उत्कृष्ट साहित्य लेखे । सोभियत क्रान्ति र दोस्रो विश्वयुद्धमा सोभियत जनताले देखाएको देशभक्तिको भावना र वीरताको गाथा उनले आफ्ना ‘राजग्रोम’ र ‘मलाडाया ग्वारर्दीया’ मा गाए । अलेक्जेन्डर फादेएभले लेखेका कृतिहरूमध्ये सबभन्दा प्रख्यात उपन्यासहरू ‘राजग्रोम’ र ‘मलाडाया ग्वार्दीया’ नै थिए । सोभियत सर्वोच्च कमान्डर नेता जोसेफ स्तालिनले लेखक साहित्यकार फादेएभको कदर गर्दै प्रसिद्ध सोभियत मानपदवी पनि दिएका थिए ।
अलेक्जेन्डर फादेएभले दुइटा लेनिन पदक पाएका थिए । ‘लेनिन’ पदकलाई सोभियत सङ्घमा सबभन्दा ठुलो पदकको रूपमा लिइन्थ्यो । देश र जनताको लागि अति उत्कृष्ट काम गर्नेहरूलाई ‘लेनिन’ पदकले सम्मानित गरिन्थ्यो । साहित्यकार फादेएभले सोभियत क्रान्ति र दोस्रो विश्वयुद्धबारे धेरै लेखेका थिए । उनको कृतिले सोभियत सङ्घभित्र मात्र होइन देश–विदेशमा पनि स्वतन्त्रता सङ्ग्राम गरिरहेका जनता र नेताहरूलाई ठूलो साहस र ऊर्जा प्रदान गरेको थियो । उनको यही साहसको कदर गर्दै जनगणतन्त्र चीनका महान् नेता अध्यक्ष कमरेड माओ त्सेतुङ्गले फादेएभको ठूलो प्रशंसा गरेका थिए । अध्यक्ष माओले १९४२ मा अलेक्जेन्डर फादेएभको बारेमा यसरी आफ्नो विचार प्रकट गरे ।
“फादेएभले आफ्नो ‘राजग्रोम’ (अङ्ग्रेजीमा राउट) उपन्यासमा गुरिल्ला योद्धाहरूको मात्र चित्रण गरेका छैनन्, उनले ‘पराजय’ उपन्यासद्वारा विश्वका स्वतन्त्रताको सङ्ग्राम लडिरहेका योद्धाहरूको लागि ठुलो ऊर्जा प्रदान गरी योगदान गरेका छन् । यो उपन्यास केवल पुरानो जमानाका पाठकहरूको साहित्यिक मनोरञ्जनका लागि लेखिएको होइन । यसले समस्त विश्वलाई नै ठुलो प्रभाव पारेको छ । चीनको लागि पनि यसले धेरै सकारात्मक प्रभाव छाडेको छ ।” कमरेड माओ त्सेतुङ्गको यो भनाइ उनको सन् १९५३ मा प्रकाशित ‘माओ त्सेतुङ्ग’ चौथो भोलुमको १६९ पेजमा अद्धृत गरिएको छ ।
अलेक्जेन्डर फादेएभको ‘राजग्रोम’ (पराजय) उपन्यास चीनका प्रसिद्ध साहित्यकार लु शुनले चिनियाँ भाषामा अनुवाद गरेका थिए । यसबाहेक सोभियत सङ्घभित्र मात्र ५४ वटा स्थानीय भाषामा र विश्वका अन्य देशहरूका २० भन्दा बढी भाषामा यसको अनुवाद भई प्रकाशित भएको छ ।
के हो ‘राजग्रोम’ र के छ ‘राजग्रोम’ मा
रुसी भाषामा राजग्रोम भनेको ‘पराजय’ अथवा ‘ध्वस्त’ भने पनि हुन्छ र अङ्ग्रेजीमा ‘राउट’ भनिन्छ ।
सोभियत सङ्घमा महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएपछि भइरहेको जार शासनको समर्थक श्वेत अर्मीका कजाकी लडाकुहरू र जापानी आतङ्ककारीहरूसँग भएको सङ्घर्षमा एक सोभियत गुरिल्ला योद्धाको पराजय भएको थियो ।
रुसमा सदियौँदेखि पीडित र शोषित जनताको स्वतन्त्रताको लागि भएको महान् अक्टोबर क्रान्तिको सफलतापछि पनि केही वर्ष तत्कालीन शासकहरूको समर्थक श्वेत आर्मीले सोभियत सङ्घका विभिन्न प्रान्तहरूमा सोभियत सेनाका रेड–आर्मीसँग युद्ध गर्दै उत्पात मच्चाइरहेका थिए । त्यस्तै, सुदूरपूर्वमा जापानी फौजले पनि सोभियत सेनामाथि आक्रमण गर्दै थियो । यही सङ्घर्षको सिलसिलामा सन् १९१९ मा सोभियत सङ्घको उत्तरी–सुदूरपूर्वको गुरिल्लाहरूको एक सानो बस्तीले जापानी आतङ्ककारी र जार शासकका पृष्ठपोषक श्वेत आर्मीको फौजसँग गरेको अति साहसिक युद्धको बारेमा पुस्तक लेखेका थिए । अलेक्जेन्डर फादेएभले आफ्नो उपन्यास ‘राजग्रोम’ (पराजय) मा सोभियत पार्टीका गुरिल्लाहरूले देखाएको साहस, देशभक्तिपूर्ण भावना, समाजवाद र साम्यवाद (कम्युनिज्म) प्रति उनीहरूको आस्था र स्वतन्त्रताको लागि गरेको आत्मसमर्पणको बारेमा यथार्थपरक विषयवस्तु प्रस्तुत गरेर ठुलो योगदान गरेका थिए ।
‘राजग्रोम’ मार्फत तत्कालीन नवोदीत सोभियत सङ्घका विभिन्न तह र तप्काका जनता, कम्युनिस्ट पार्टीका नेता र योद्धाहरू, समाजका बुद्धिजीवी र मजदुर किसानहरू सबैलाई समेटेर सबैको भावना र चेतना छर्लङ्ग प्रस्तुत गर्न सफल भएका थिए, लेखक अलेक्जेन्डर फादेएभ । यो उपन्यास एक साधारण युद्धको विवरणमात्र नभई तत्कालीन सोभियत रुसको जनसमाजको सामाजिक मनोविज्ञानको ब्याख्यान थियो । यहाँ देशभक्त सेनाहरूका साथै देशभन्दा आफ्नो स्वार्थलाई प्राथमिकता दिने शिक्षित व्यक्तित्वहरूको पनि चरित्र चित्रण भएको छ ।
आफ्नो देश र समाजवादी क्रान्तिको लागि युद्ध गरेका गुरिल्ला कम्युनिस्ट योद्धाहरूले लड्दै गर्दा धेरै क्षति व्यहोर्नु परेको थियो र लड्दालड्दै अन्तमा युद्ध समाप्त भएको अवस्थामा सयौँ योद्धाहरूमध्ये केवल उन्नाइस जनामात्र जीवित रहे । यसैले यस ‘राजग्रोम’ उपन्यास दोस्रो नामले पनि प्रसिद्ध छ । त्यो हो ‘नाइन्टिन’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *