भर्खरै :

टिङ्कर र छाङ्गरु जान भारतसँग गुहार

  • बैशाख ५, २०७८
  • नरेन्द्रसिंह कार्की
  • समाचार

दार्चुला, ४ वैशाख । आफ्नै भूमि भएर व्याससम्म सरर गाडीमा चढेर व्यासको आलु र स्याउ सदरमुकाम ल्याएर यहाँको नुन व्यासमा पु¥याउने सपना वर्षौंअघिदेखिको हो । पञ्चायतकालीन मन्त्री स्व. बहादुरसिंह ऐतवालले आफ्नै भूमि भएर व्यासको छाङ्गरु टिङ्कर पुग्ने सपना देख्नुभएको थियो । उहाँले देखेको त्यो सपना घोरेटो बाटोसम्म मात्रै सीमित भयो । त्यो बेला गाडी मोटर नचले पनि नेपालकै भूमि भएर पैदल आवतजावत सहज थियो । भारतीय पर्यटक कैलाश मानसरोवर दर्शन गर्न नेपालकै घोरेटो बाटो भएर जाने गर्थे । यहाँका व्यापारी तिब्बतको सामान यही बाटोको सहायतामा विसं २०६० अघिसम्म ल्याउँथे ।
द्वन्द्वकालमा स्व. ऐतवालले बनाएको त्यो सपनाको बाटो जीर्ण बन्दै गयो । बाटो मर्मत हुन सकेन । ततपश्चात् चीनको सीमा जोड्ने गरी टिङ्कर सडक निर्माण गर्ने भन्दै आर्थिक वर्ष २०६४÷६५ देखि टिङ्कर सडक योजना सुरु भयो । बाह« वर्ष बित्यो टिङ्कर सडक सुरु भएको । यतिका वर्षसम्म १३० किलोमिटर सडक निर्माण गरेर व्यासको टिङ्करसम्म गाडी मोटर चल्नुपर्ने हो तर गाडी मुस्किलले ४० किलोमिटरसम्म चल्दै छ ।
सडक निर्माणमै भएको ढिलाइले व्यासीले वर्षैपिच्छे आफ्नो गाउँ जान भारतीय भूमि प्रयोग गर्नुपर्छ । बेलाबेला बाटो प्रयोगका लागि अनुमति माग्न हारगुहार माग्नुपर्छ । व्यासीको भारतीय जनजातिसँग बिहेवारीको मित्रता भएका कारण सहजरूपमा भारतीय भूमि प्रयोग गर्न पाएका छन् । भारतको उच्च ओहोदामा सौका समुदायका व्यक्ति पुगेका छन् । उनीहरूकै सहजीकरणले व्यासीले आफ्नो गाउँ जान भारतीय बाटोको सहजता मिलेको छ । व्यासीले वडामा निवेदन, वडाको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय दार्चुला र प्रशासनले भारतीय एसडीएम कार्यालयले स्वीकृत गरेपछि मात्रै उनीहरूको वैधानिकरूपमा भारतीय बाटोको प्रयोगका लागि अनुमति पाइन्छ ।
बेलाबेलामा भारतीय पक्षको हेपाहा प्रवृतिले पनि आफ्नै भूमि भएर जान बाटो घाटो छैन । नेपाल सरकारले आफ्नै भूमिको प्रयोग गर्ने गरी घोरेटो बाटो निर्माण गर्न भन्दै हरेक वर्ष करोडौँ बजेट खर्च गरे पनि बाटो कहिल्यै प्रयोगयोग्य हुँदैन । सबैभन्दा अप्ठ्यारो मानिएको घाँटिबगरमा गत वर्ष नेपाली सेनाले रु. एक करोडभन्दा बढी खर्च गरेर घोरेटो बाटो निर्माण ग¥यो तर त्यो बाटो व्यासीहरूको घोडा खच्चड हिँड्नलायक नभएको स्थानीयवासी बताउँछन् । तम्बाकु भीरमा उस्तै अवस्था छ । अस्थायी बाटो बनाएर मान्छेलाई हिँड्डुल गर्न बनेको छ ।
व्यासको बुदीसम्म बाटो ठाउँठाउँमा अप्ठ्यारो बनेको छ । प्रदेश सरकारले गत वर्ष मात्रै रु ३० लाखभन्दा बढी खर्च गरेर बाटो मर्मत ग¥यो । त्यो बाटो झाडी फाँडेर बजेट सिध्याउने काम भएको स्थानीयवासी बताउँछन् । अनुगमनकारी निकायबाट बाटो कस्तो बन्यो भनेर हेरिँदैन, स्थानीयवासी भन्छन् ।
यस वर्ष सडक विभागअन्तर्गतको डोलीडारले घोरेटो बाटो बनाउने भन्यो तर काम सुरु गरेको छैन । व्यासीहरूको बसाइँसराइ स्थानीय भाषामा (कुञ्चा) सर्न थालेको छ । छ महिना सदरमुकाम खलङ्गा चिसो छल्न आएका व्यासीहरू गर्मी बढ्न थालेपछि पुनः छाङ्गरु र टिङ्कर उक्लिन थालेका छन् । यस पटक पनि बाटो नहुँदा भारतकै बाटो भएर व्यास उक्लिनुपरेको स्थानीयवासी मुकेश बोहरा बताउनुहुन्छ । “हरेक वर्ष आफ्नै भूमि भएर बाटो राम्रो बनाइदेऊ भन्छौँ तर कसैले सुन्दैन”, उहाँले भन्नुभयो, “जब बसाइँसराइ हुन थाल्छ तबमात्रै कुरा उठ्छ ।”
गत वर्ष कोरोनाका कारण मुस्किलले भारतीय बाटोको प्रयोग गरेरै सौका समुदाय व्यास उक्लिएका थिए । यस पटक पनि कोरोना कहर सुरु हुँदै छ । छाङ्गरुका चार परिवार गत साता नेपालकै बाटो भएर छाङ्गरु गएका छन् । नेपालतिर बाटो नहुँदा जोखिम मोल्नुपरेको स्थानीयवासी दोर्जे लामा बताउनुहुन्छ । “नेपालकै बाटो भएर गाउँ जाँदा अर्जुन ऐतवालको एक झुपु बितेको छ, अहिले पनि आइतबारदेखि अधिकांश कुञ्चा सर्न सुरु हुन्छ”, व्यास–१ का वडाध्यक्ष अशोकसिंह बोहराले भन्नुभयो, “सदरमुकाम खलङ्गामा गर्मी बढ्न सुरु भएको छ, हामीहरूको बसाइँसराइ माथि उक्लिन सुरु भएको छ ।”
भारत र चीनको सीमा क्षेत्रमा बसोबास गर्ने यहाँका व्यासी सौका समुदाय हरेक वर्ष छ महिना सदरमुकाम खलङ्गा र छ महिना व्यासको छाङ्गरु तथा टिङ्कर बस्ने गर्छन् । गत मङ्सिरमा हिमपात हुन थालेपछि उनीहरू सदरमुकाम खलङ्गा झरेका थिए । व्यास उक्लिएपछि उनीहरू यार्सागुम्बा सङ्कलन र खेतीपाती भित्र्याउने काममा व्यस्त हुन्छन् । यहाँका स्थानीयवासी सबै वस्तुभाउ, घोडाखच्चर र झुपुहरू लिएर व्यासका स्थानीयवासी आइतबारदेखि माथि उक्लिन सुरु हुन्छ ।
सदरमुकाम खलङ्गाबाट २८ कोष उत्तरमा हिमाली क्षेत्र टिङ्कर र छाङ्गरु पर्दछ । नेपालको दार्चुलामा मात्र बसोबास रहेको सौका समुदायको व्यासको छाङगारु गाउँमा १२० तथा टिङ्करमा ७० भन्दा बढी परिवारको बसोबास छ । जिल्ला प्रशासन कार्यालयका अनुसार यस पटक शुक्रबारसम्म व्यासको छाङ्गरु र टिङ्कर जानका लागि ४६१ जनाले अनुमति लिएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *