भर्खरै :

राहुल क्यास्ट्रो नयाँ पुस्तामा जिम्मेवारी हस्तान्तरण गर्र्दै

हवाना, १७ अप्रिल (सिन्ह्वा) । क्युबाको कम्युनिस्ट पार्टीका प्रथम सचिव राहुल क्यास्ट्रोले पद त्याग्ने घोषणा गर्नुभएको छ । उहाँले नयाँ पुस्तालाई अवसर दिनका लागि आफूले पद त्याग्ने निर्णय गरेको शुक्रबार बताउनुभएको हो ।
“मैले मेरो जिम्मेवारी र योजनाहरू पूरा गरेको छु, त्यसैले मैले पार्टीको केन्द्रीय कमिटिको प्रथम सचिवको जिम्मेवारीबाट मुक्त हुने निर्णय गरेको छु,” उहाँले भन्नुभयो । उहाँले आफ्नो भूमिका र निर्णयबाट आफू सन्तुष्ट रहेको र आगामी दिनमा पनि देशलाई फाइदा नै हुने विश्वास व्यक्त गर्नुभयो ।
पार्टीको आठौँ सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्ने क्रममा उहाँले पार्टी र देशलाई नयाँ गति दिन आफ्नो निर्णयले सहयोग पुग्ने अपेक्षा पनि गर्नुभएको छ । पार्टीको अभियान र आन्दोलनमा भने पार्टी कार्यकर्ताको रूपमा आफू सधैँ रहिरहने पनि ८९ वर्षीय नेता क्यास्ट्रोले स्पष्ट पार्नुभएको छ ।
“म जीवित रहँदासम्म, मैले सक्दासम्म पार्टीको काममा म सधैँ लागि नै रहनेछु, मातृभूमिका लागि खटिनेछु,” उहाँले भन्नुभएको छ । उहाँले पार्टीको नेतृत्वमा रहने सबै नेताहरूलाई देशभक्ति, समाजवाद, नैतिकता, संस्कृतिको महत्व नभुल्न समेत सचेत गराउनुभएको छ ।
अहिले चलिरहेको पार्टीको सम्मेलन नयाँ नेता चयन गर्दै सोमबार सकिने भएकाले सम्मेलन सकिएपछि उहाँ जिम्मेवारीमा नरहने जनाइएको छ । उहाँ सन् २०११ को अप्रिलमा पार्टीको शीर्ष नेताका रूपमा निर्वाचित हुुनुभएको थियो । उहाँले सन् १९६५ देखि पार्टीको नेतृत्व गर्नुभएको थियो । फिडेलको सन् २०१६ मा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *