भर्खरै :

क्युवाली कम्युनिस्ट पार्टीलाई विभिन्न कम्युनिस्ट पार्टीको शुभकामना सन्देश

हवाना, १७ अप्रिल । शुक्रबारबाट आरम्भ भएको क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनको सफलताको कामना गर्दै विभिन्न देशका कम्युनिस्ट र समाजवादी देशहरूले शुभकामना सन्देश पठाएका छन् । क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी, भियतनाम कम्युनिस्ट पार्टी, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको कोरियाली मजदुर पार्टी र लाओसको जनक्रान्तिकारी पार्टीले शुभकामना र ऐक्यबद्धताको सन्देश पठाएका छन् ।
“क्युवाली कम्युनिस्ट पार्टी क्रान्ति र समाजवादी निर्माणको नेतृत्वदायी मूल तत्व हो । पछिल्ला वर्षमा क्युवाली कम्युनिस्ट पार्टीले आर्थिक विकासका महत्वपूर्ण उपलब्धि हासिल गर्न, जनताको जीवनस्तरमा सुधार गर्न र कोभिड–१९ को प्रभावकारी सामनाको निम्ति क्युवाली जनताको नेतृत्व गरेको छ । यसमा हामी निकै खुशी छौँ”, चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिले पठाएको शुभकामना सन्देशमा भनिएको छ ।
शुभकामना सन्देशमा अघि भनिएको छ, “क्युवाली कम्युनिस्ट पार्टीको दृढ नेतृत्वमा महाधिवेशनले क्युवाली विशेषताको समाजवादको विकासमा महत्वपूर्ण दिशानिर्देशन र उर्जा सञ्चार गर्नेमा हामी विश्वस्त छौँ । चीन र क्युवाबीचको ऐतिहासिक मित्रता प्रबद्र्धन, राजनीतिक विश्वास बलियो बनाउन, रणनीतिक संवाद गहिरो बनाउन र आपसमा हितकारी उत्पादनशील सहकार्यमा लगातार वृद्धिको निम्ति क्युवाली पार्टीसँग सहकार्य गर्ने हाम्रो प्रतिबद्धतालाई पुनः जोड दिन चाहन्छौँ । दुवै देशमा समाजवाद निर्माणको निम्ति नयाँ उपलब्धि हासिल गर्न यो प्रयास उपयोगी हुनेछ ।”
भियतनामको कम्युनिस्ट पार्टीले पठाएको शुभकामना सन्देशमा क्युवाली कम्युनिस्ट पार्टीको महाधिवेशनले क्युवाली क्रान्ति, सिएरा माएस्ट्रा, बे अफ पिग्स र कमान्डर फिडेल क्यास्ट्रोको महान भावनाको निरन्तरताको प्रतिनिधित्व गर्ने उल्लेख छ ।
“भियतनाम र क्युवाबीच विशेष सम्बन्ध छ । दुई पक्षबीचको सम्बन्धले दुईपक्षीय सम्बन्ध सुधार गर्न राजनीतिक आधार बनाउन र महत्वपूर्ण मार्गनिर्देशनको लागि भूमिका खेलेको छ । हाम्रा क्रान्तिका नेताहरू जोसे मार्टी, हो चि मिन्ह, फिडेल क्यास्ट्रोलगायत भियतनाम र क्युवाका विभिन्न पुस्ताका नेताहरूले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउनुभएको छ । यो विशेष सम्बन्ध सबै पक्षमा फैलिने र विकास हुँदै जानेछ । यसले महत्वपूर्ण उपलब्धि हासिल गर्न योगदान गर्ने छ । दुवै देशका पार्टी, सरकार र जनताको दृढ र प्रतिबद्ध क्रान्तिकारी भावना प्रदर्शन गरेको छ । तथा दुवै देशको क्रान्तिकारी विचारधारा र समाजवादी कृतिमा योगदान गरेको छ । कमान्डर फिडेल क्यास्ट्रोले भन्नुभएको छ, “भियतनामको लागि हामी आफ्नो रगत दिन पनि तयार छौँ ।” यो भनाइले दुई देशबीचको सम्बन्धमा सधैँ आदर्श प्रतीकको रूपमा काम गर्नेछ”, सन्देशमा भनिएको छ ।
भियतनामको सन्देशमा भनिएको छ, “असङ्ख्य कठिनाइ र चुनौतीबीच क्युवाले क्रान्तिकारी विचारधाराको अजेय झण्डालाई अथक रूपमा उठाएको छ । स्वच्छ अन्तर्राष्ट्रिय भावना, अदम्य सङ्घर्ष, ल्याटिन अमेरिका, क्यारिबिया र संसारकै जनताको राष्ट्रिय स्वाधीनता र सामाजिक प्रगतिको लागि भएका सङ्घर्षमा क्युवाले सक्रियतापूर्वक भाग लिंदै आएको छ ।”
कोरियाली मजदुर पार्टीले आठौँ महाधिवेशनको सफलताको कामना गर्दै महाधिवेशनले क्युवाको क्रान्तिकारी भावनाको रक्षा, समाजवादी विचारधाराको निरन्तरता, देशको विकास र जनताको कल्याण गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास गरेको छ ।
“कोरिया र क्युवाका पार्टी र देशबीचको सम्बन्ध साम्राज्यवादविरोधी साझा सङ्घर्ष र समाजवादी विचारधाराको सफलता हासिल गर्ने लक्ष्यमा आधारित छ । कठिनभन्दा कठिन अन्तर्राष्ट्रिय परिस्थितिबीच पनि यो सम्बन्ध परीक्षण भएको छ । अनि नयाँ युगको खाँचोअनुसार यो सम्बन्धको विकास भइरहेको छ”, कोरियाली मजदुर पार्टीको शुभकामना सन्देशमा दुई पार्टीबीचको मित्रता, एकता र सहकार्यको ऐतिहासिक सम्बन्धमाथि जोड दिंदै लेखिएको छ ।
लाओसको जनक्रान्तिकारी पार्टीले पनि महाधिवेशनको सफलताको कामना गर्दै महाधिवेशनले क्युवामा बन्दै गएको समाज र क्युवाली कम्युनिस्टहरूको शक्ति प्रदर्शन हुने आशा व्यक्त गरेको छ ।
“महाधिवेशनबाट पारित हुने निर्णयले क्युवाली जनताको हितको निम्ति मार्गनिर्देशन र दरिलो आधारको रूपमा काम गर्नेमा हामी विश्वस्त छौँ”, शुभकामना सन्देशमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *