भर्खरै :

सुर्खेतमा मजदुर सङ्घको भेला

वीरेन्द्रनगर, ५ वैशाख । नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति सुर्खेतको तेस्रो जिल्ला भेला वीरेन्द्रनगर सुर्खेतमा शनिबार सम्पन्न भयो ।
उक्त भेलाको उद्घाटन नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले गर्नुभयो । भेलाले अक्कल रानाको अध्यक्षतामा नौ सदस्यीय नयाँजिल्ला कार्य समिति गठन गरेको छ ।
भेलामा अध्यक्ष बोहराले हालको मजदुरहरूको जीविकोपार्जन गर्न उचित ज्यालाका साथै कामदारहरूको गुणस्तर वृद्धि गर्न विभिन्नखाले सीप र तालिमबाट दक्ष बनाइनुपर्ने, मजदुरलगायत सबै समुदायको हरेक समस्या समाधान गर्न पहिले पुँजीवादी व्यवस्था अन्त्य गर्नुपर्ने र त्यसको लागि हामीसँग भएको सैद्धान्तिक हतियार निकै बलियो भएकोले पुँजीवादी सत्ता र स्वार्थको पछि लागेका तमाम व्याक्तिहरूसँग पार्टीको वडास्तरीय कार्यकर्ताले पनि सैद्धान्तिक लडाइँ सजिलैसँग जित्नसक्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य शिवराज दाहालले सर्वाेच्च अदालतले संविधानको मनसाय बुझेर कानुनको व्याख्या गरी निर्णय लिनुपर्ने तर स्वार्थका कारण संसद पुनःस्थापना गर्नाले हालको विषम परिस्थिति सृजना भएको बताउनुभयो ।
नेमकिपा बाँकेका सचिव प्रकाश शाहीले विश्व बजारमा सस्तो ज्यामीको रूपमा नेपाली मजदुरहरू बिक्री गर्ने सरकार जतिसुकै आदर्शका कुरा गरे पनि, जुनसुकै ऐन र कानुन बनाए पनि पुँजीवादी सत्ता जहिले पनि मजदुरविरोधी हुने, मजदुर वर्गको श्रम शोषण गरेर नै पुँजीवाद बलियो भएकोले आर्थिक समानता हुने व्यवस्था ल्याउनुपर्ने बताउनुभयो ।
समितिका सचिव निरक शाहीले पनि बोल्नुभएको उक्त कार्यक्रमको सभापतित्व अक्कल राना र स्वागत हेमन्त सिंहले गर्नुभएको थियो । कार्यक्रममा नेपाल कर्मचारी समाजका केन्द्रीय उपाध्यक्ष धनबहादुर रावत, नेमकिपा वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाही, नेपाल क्रान्तिकारी महिला सङ्घकी अध्यक्ष तुलसी खड्का, नेक्राकिसङ्घका केन्द्रीय सदस्य ऐनबहादुर शाही र नेक्राविसङ्घका केन्द्रीय सदस्य खेमराज दाहलले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।
उक्त भेलाले समितिका सचिव निरक शाहीले प्रस्तुत गर्नुभएको राजनीतिक तथा कोषाध्यक्ष जगत लामिछानेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित ग¥यो ।
कार्यक्रममा विर्जुकला रानाले प्रगतिशील देउडा गीत र अङ्गबहादुर शाहीले प्रगतिशील मुक्तकहरू वाचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *