भर्खरै :

भारतमा दोहोरो उत्परिवर्तित भाइरस अझ खतरनाक

नयाँ दिल्ली, १८ अप्रिल । भारत अहिले कोभिड–१९ को दोस्रो लहर सामना गरिरहेको छ । पछिल्लो साता भारतमा हरेक दिन दुई लाखभन्दा बढी कोभिड–१९ का सङ्क्रमित फेला परेका छन् । यही गतिमा बढ्दै गए अर्को साताको सुरुमै सङ्क्रमितको कुल सङ्ख्या १ करोड ५० लाख नाघ्ने राष्ट्रिय तथ्याङ्कले देखाएको छ ।
गएको शनिबार भारतमा २ लाख ३४ हजार ६९२ जना नयाँ सङ्क्रमित फेला परे । भारतको सङ्घीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारतमा सङ्क्रमितको कुल सङ्ख्या १ करोड ४५ लाख २६ हजार ६०९ पुगेको छ ।
भारतका स्थानीय सञ्चारमाध्यमअनुसार भारतमा अस्पतालको शय्या र अक्सिजनको अभाव भएको छ । तर, केन्द्रीय र राज्य सरकारहरूले सरकारी र निजी दुवै अस्पतालमा स्वास्थ्य सेवा र सामानको कुनै अभाव नभएको दाबी गरिरहेका छन् ।
कोभिड–१९ को कारण मर्नेको दर भारतभरि बढेपछि शव जलाउने र गाड्ने ठाउँमा मृतकप्रति अन्तिम श्रद्धा अर्पण गर्ने मानिसको भीड बढेको छ ।
अधिकांश सरकारी अस्पतालहरूले कोभिडका बिरामीको उपचारमा केन्द्रित हुनुपरेकोले बहिरङ सेवा बन्द गरेका छन् ।
बेवास्ताको खतरा
भारतमा कोभिड–१९ महामारी फैलिनुको मूल कारणमध्ये मानिसको लापरवाही र असजग व्यवहार पनि हो ।
यसै महिनाको सुरुमा प्रधानमन्त्री नरेन्द्र मोदीले अध्यक्षता गरेको एउटा उच्चस्तरीय बैठकमा कोभिड–१९ सङ्क्रमणको प्रतिरोधका लागि पालना गर्नुपर्ने सावधानीका उपायलाई बेवास्ता गर्दा सङ्क्रमण दर बढेको बताइएको थियो । मानिसहरूले मास्क लगाउने र आपसी दूरी कायम गर्ने विषयमा बेवास्ता गरेको बैठकमा सहभागीहरूले बताएका थिए । त्यस्तै महामारीप्रतिको दिक्दारी र रोकथामका उपायको प्रभावकारी कार्यान्वयनको अभावले पनि सङ्क्रमण दर बढेको हो ।
यो महिनाको सुरुबाट भारतभरि राजनीतिक र धार्मिक कार्यक्रममा ठुलो सङ्ख्यामा मानिसहरू जम्मा भएका थिए । ती सभाहरूमा मानिसहरूले महामारी रोकथामको लागि पालना गर्नुपर्ने नियमको पालना गरेका थिएनन् ।
भारतका प्रमुख राजनीतिक दलहरूले पश्चिम बङ्गाल, आसाम, तामिल नाडु, केराला र पाण्डुचेरीमा त्यहाँ भएका राज्य सभा चुनावको लागि ठुलठुला सभाहरू आयोजना गरेका थिए । मानिसहरूले मुखमा मास्क नलगाई नजिक नजिक सभाहरूमा सहभागी बनेका थिए ।
उत्तर भारतको पहाडी राज्य उत्तराखण्डको धार्मिक सहर हरिद्वारमा लाखौँ मानिसको कुम्भमेला भएको थियो । उनीहरू गंगा नदीमा स्नान गर्न त्यहाँ भेला भएका थिए ।
गत शुक्रबार भारतका स्वास्थ्यमन्त्री हर्ष बद्र्धनले सर्वसाधारणलाई कोभिड–१९ का प्रतिरोधी नियमको पालना गर्न अपील गरेका थिए ।
“यतिबेलाको हाम्रो मुख्य चुनौती भनेको सर्वसाधारणलाई कोभिड–१९ को प्रतिरोधी नियम सिकाउनु हो । मानिसहरूले बेवास्ता गर्नु निकै घातक विषय हो । प्रतिरोधका नियमहरू नै हामीसँग सङ्क्रमणको शिलशिला तोड्ने शक्तिशाली हतियार हो”, उनले भने ।
निकट सम्बन्धमा ठुलो जनसङ्ख्या
भारतको उत्तरी राज्य उत्तर प्रदेशको हरिपुर जिल्लामा रहेको सरस्वती चिकित्सा विज्ञान कलेजका प्राचार्य डा.आरसी पुरोहितले अवस्था झन्डै नियन्त्रणमै आइसकेको तर अधिकांश मानिसहरूले बेवास्तापूर्ण व्यवहार गर्न थालेको बताए । अधिकांश मानिसहरूले मास्क लगाउने, नियमितरूपमा हात धुने र आपसी दूरी कायम राख्ने आधारभूत नियमको पालना गर्न छोडेको उनले भने ।
“फेब्रुअरी महिनासम्म कोभिड–१९ का विरामीको सङ्ख्या ४–५ मा सीमित थियो । तर, हिजोआज सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेको छ । अहिले हाम्रो अस्पतालमा झन्डै ५० जना कोभिड–१९ का बिरामी छन्”, पुरोहितले भने ।
सो अस्पताल कोभिड–१९ को तेस्रो तहको केन्द्र हो । त्यसको अर्थ त्यो अस्पतालले महामारीको कारण सबभन्दा गम्भीर बिरामीको उपचार गर्छ । दिल्लीसँग जोडिएको उत्तर प्रदेशको पश्चिमी भागमा त्यो अस्पताल कोभिड–१९ को प्रमुख उपचार केन्द्र हो ।
पुरोहितको भनाइमा कोभिड–१९ को सङ्क्रमणले विकराल रूप लिनुको मूल कारण भारतको जनसङ्ख्या निकै ठुलो हुनु र जनसङ्ख्याको वितरण सघन हुनु हो ।
केही ठाउँहरू विशेषतः सहरी क्षेत्रका झोपडपट्टीहरूमा मानिसहरू निकै सानो क्षेत्रफलमा बनेका साँघुरा कोठा वा टहरामा बस्छन् । ती स्थानहरूमा सरसफाइलाई पनि ध्यान दिइँदैन । भारतको समग्र जीवनस्तर निकै न्यून छ ।
पुरोहितले भने, “भारतमा शिक्षाको अवस्था पनि निकै कम छ । परिणामतः मानिसहरू सरकारका सूचना र नियमको पालना गर्दैनन् । त्यही भएर आजको विकराल अवस्था निम्तिएको हो ।”
प्राचार्य पुरोहितले भारतमा यतिबेला कोभिड–१९ को मूल भाइरसभन्दा दोहोरो उत्परिवर्तन भएको नयाँ प्रजातिको प्रभाव अझ घातक भएको र मानिसको प्रतिरक्षा प्रणालीमा त्यसले गम्भीरतापूर्वक क्षति पु¥याउन सक्ने बताए ।
उनले संसारका अन्य देशहरूमा जस्तै भारतमा पनि दोस्रो लहर अपेक्षित नै भएको बताए ।
भाइरसको दोहोरो उत्परिवर्तन
सञ्चारमाध्यमअनुसार दोहोरो उत्परिवर्तन भएको कोरोना भाइरस बी.१.६१७ भाइरस भारतमा अहिले फैलिरहेको भाइरसको नयाँ प्रजाति हो ।
दोहोरो उत्परिवर्तित भाइरस भन्नाले उत्परिवर्तन भइसकेका दुई थरी भाइरसको मिलेर बनेको नयाँ थरी उत्परिवर्तित भाइरस हो । त्यस्तो भाइरस अझ बढी सङ्क्रामक हुने गरेको छ । इ४८क्यु र एल४५२ आर नामका दुई वटा उत्परिवर्तित भाइरस मिलेर बी.१.६१७ भाइरस बनेको हो ।
उत्परिवर्तित भाइरस पहिलोपटक दक्षिण–पश्चिम भारतको महाराष्ट्र राज्यमा फेला परेको थियो ।
दुई थरी उत्परिवर्तित भाइरस मिलेर बनेको यो नयाँ थरी भाइरसले सुरुको कोभिड–१९ भाइरसले क्षति पु¥याउन नसकेका मानिसको शरीरका अङ्गलाई समेत क्षति पु¥याउन सक्ने क्षमता राख्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *