के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
काठमाडौँ, ६ वैशाख । बागमती प्रदेशको सर्वदलीय बैठक सोमबार सम्पन्न भयो । बैठकमा नेमकिपा, एमाले र राप्रपाका नेताहरूको उपस्थिति रह्यो भने माओवादी केन्द्र, नेकालगायत अनुपस्थित भए ।
प्रदेशसभाको बैठक माओवादी केन्द्रको अवरोधका कारण हुन सकिरहेको छैन । विद्युतीय गाडी खरिद, आर्थिक सहायता प्रदान गरिएको आदि विषयमा असहमति प्रकट गर्दै संसद् अवरूद्ध गरिएको प्रमुख प्रतिपक्ष दलको भनाइ छ । बैठक हुने सम्भावना क्षीण हुँदै गएपछि हिउँदे अधिवेशन नै अन्त्य गर्ने तयारीमा प्रदेश सरकार जुटेको बताइन्छ ।
ललितपुरको ‘प्रदेश सुशासन केन्द्र’ मा भएको सर्वदलीय बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय गाडी खरिद प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । कोभिड नियन्त्रणमा प्रदेश सरकार जिम्मेवार ढङ्गमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले देश जोगाउने, जनताको स्वास्थ्य सुरक्षित बनाउने र समस्या नै समस्याले घेरिएका जनतालाई सहयोग गर्नुपर्ने बखत अन्य विषयमा शासक दल र सरकार फसिरहनु उचित होइन भन्नुभयो । एमसीसीले देशलाई युद्धमैदान बनाउने र छिमेकी देश चीनविरूद्ध नेपालीलाई प्रयोग गर्ने गलत उद्देश्यका साथ ल्याइएको उल्लेख गर्दै सांसद गोसाईले हरेक देशभक्तले एमसीसीविरूद्ध सङ्घर्ष गर्नुपर्ने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “एमसीसीको समर्थन गर्न वामपन्थीमात्र होइन सच्चा नेपालीसमेत रहने छैनन् ।”
प्रदेशसभा जनताको अपेक्षाबमोजिम नचलेको भनाइ राख्दै प्रदेश सरकारले तीन–चार वर्षमा उल्लेख्य कार्य गर्न नसकेको सांसद गोसाईले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “प्रदेश राजधानी पुग्ने कुनै पनि बाटो सद्दे छैन । प्रदेशसभा भवनको स्थिति बेहाल छ । ध्यान पूरै पद र पैसामा छ । अनि जनतालाई कसरी चित्त बुझाउन सकिन्छ ?”
कोभिड नियन्त्रणमा पनि सरकार बारम्बार चुकेको उल्लेख गर्दै उहाँले सरकारको उदासिनता तथा गैरजिम्मेवारी निन्दनीय भएको चर्चा गर्नुभयो । सांसद गोसाईले भन्नुभयो, “संविधानमै समाजवादउन्मुख उल्लेख गरिएपछि सोहीबमोजिम अगाडि बढ्नु प्रदेश सरकारको पनि कर्तव्य हो । जनताले फरक अनुभूत गरून् ¤ सरकारले नाराबाजी गर्ने होइन, शब्दको भुलभुलैयामा जनतालाई फसाउने होइन । बरू मूर्त काम गरी देखाउने हो ।”
बैठकमा अन्य दलका नेताहरूले पनि आ–आफ्नो भनाइ राख्नुभएको थियो ।
Leave a Reply