भर्खरै :

भक्तपुर नपाको प्रतिनिधिमण्डल ललितपुर महानगरमा

ललितपुर, ७ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मङ्गलबार ललितपुर महानपाका सांस्कृतिक सम्पदाहरू ज्यापु प्रज्ञा भवन अर्थात् यलँ दरबार (संसा भवन) र पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिर र सङ्ग्रहालयको स्थलगत अवलोकन गर्नुभयो ।
भक्तपुर र ललितपुरबीच अनुभव आदानप्रदानको क्रममा ललितपुर महानपा पुग्नुभएका नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा उपप्रमुख रजनी जोशी, वडाध्यक्ष र कार्यपालिका सदस्यसहित जनप्रतिनिधि टोलीलाई ललितपुर महानपाका प्रमुख चिरिबाबु महर्जनले खादा ओढाइ स्वागत गर्नुभएको थियो ।
टोलीले ललितपुर महानपा वडा नं. ९ शंखमुल पुल नजिक गछेँ टोलमा अवस्थित परम्परागत मौलिक कला, संस्कृति र सम्पदाको संरक्षण गर्ने उद्देश्यले खोलिएको ज्यापु प्रज्ञा भवन र त्यहाँस्थित मानव सभ्यता झल्कने सङ्ग्रहालयको पनि अवलोकन ग¥यो । उक्त सङ्ग्रहालयमा मानव सभ्यता झल्कने वस्तुहरू जस्तै ज्यापु जातिको भेषभूषा, गरगहना, बाजागाजा, जीवनशैली एवम् घरायसी प्रयोगमा आउने औजार, भाडावर्तनलगायत सामग्रीहरू राखिएको थियो ।
सङ्ग्रहालय अवलोकनपश्चात् ज्यापु समाजका प्रतिनिधिहरूसँगको भेटमा नगर प्रमुख प्रजापतिले नेवार समुदायको जीवन्त सङ्ग्रहालय अवलोकन गर्ने अवसर पाएकोमा आभार व्यक्त गर्नुभयो । उहाँले भक्तपुर नपाले पनि भक्तपुरको मौलिकता झल्किने सङ्ग्रहालय बनाउने सोचका साथ अगाडि बढिरहेको बताउनुभयो । दुई नगरपालिकाबीचको अध्ययन भ्रमण र अनुभव आदानप्रदानबाट अझ सशक्त ढङ्गले अगाडि बढ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उहाँले नगरवासी जनतालाई अधिकतम सेवा दिने उद्देश्यले नगरपालिका अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर र ललितपुरले कला संस्कृति संरक्षणमा गरेको काम निकै महत्वपूर्ण विषय बन्ने गरेको छ भन्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले ज्येष्ठ नागरिकहरूको लागि आदर निकेतन सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो ।
नेमकिपाको सिद्धान्त, नीति र अडानकै कारण भक्तपुरले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइलगायतमा अग्रता पाएको बताउँदै उहाँले पुराना वस्तुहरू विस्तारै लोप हुँदै गएको अवस्थामा मौलिक सामग्री सङ्कलन गरी सङ्ग्रहालय सञ्चालन निकै प्रशंसनीय भएको बताउनुभयो ।
ललितपुर महानपाका प्रमुख महर्जनले भक्तपुर नपाका जनप्रतिनिधि टोलीलाई महानपामा स्वागत गर्न पाउनु गौरवको विषय भएको बताउँदै सङ्ग्रहालय सञ्चालनले संस्कृतिप्रेमी स्वदेशी तथा विदेशी पर्यटकहरूको लागि आकर्षण र चासोको विषय बन्दै आएको बताउनुभयो । प्रमुख महर्जनले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सरसफाइ, विकास निर्माणलगायतका धेरै क्षेत्रमा निकै प्रशंसनीय कार्यहरू गर्दै आएको र आफूहरू त्यस कार्यबाट प्रभावित भएको बताउनुभयो ।
भेटमा ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले ज्यापु प्रज्ञा भवन र त्यहाँ अवस्थित सङ्ग्रहालय स्थापनाको उद्देश्यबारे प्रस्ट पार्दै भक्तपुर नपाका जनप्रतिनिधि टोलीबाट भएको अध्ययन भ्रमणबाट निकै हौसला मिलेको बताउनुभयो ।
उक्त भेटको क्रममा ललितपुर महानपाका प्रमुख महर्जनले भक्तपुर नपाका जनप्रतिनिधि टोलीलाई सत्यमोहन जोशीबाट लिखित महानगरबाट प्रकाशित पुस्तक र सत्यमोहन जोशीको तस्बीर अङ्कित सिक्का प्रदान गर्नुभएको थियो । साथै नगर प्रमुख प्रजापतिले ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनलाई भक्तपुर नपाका प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभयो भने अध्यक्ष महर्जनले पनि प्रमुख प्रजापति र उपप्रमुख जोशीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
भ्रमण टोलीमा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, ७ का वडाध्यक्ष उकेश कवां, ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य र कार्यपालिका सदस्य छोरीमैंयाँ सुजखु र सरिना द्योलाको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *