बैङ्ककमा भीषण बाढी, हजारौँ नागरिक विस्थापित
- आश्विन ११, २०८३
घर फर्किने आप्रवासीहरूको बस र रेलस्टेसनमा घुइँचो
नयाँ दिल्ली, २० अप्रिल । मङ्गलबार भारतको राजधानी नयाँ दिल्लीमा एक साताको लागि लकडाउन घोषणा भएपछि हजारौँ आप्रवासी मजदुरहरू घर फर्किन बस पार्क र रेल स्टेसनमा भेला भएका छन् । ती ठाउँमा मानिसको घुँइचो देखेर धेरैले गत वर्ष कोरोना भाइरस महामारीकै कारण लकडाउन गरेलगत्तै मानिसहरू घर फर्किन भेला भएको लाखौँको भीड सम्झे ।
सोमबार राति दस बजेबाट लकडाउन लागु हुने घोषणा गरेसँगै त्यही दिन साँझबाट मानिसहरू घर फर्किन दौडादौड गरेका थिए । उनीहरूको दौडादौड मङ्गलबारसम्म पनि चालु थियो ।
मङ्गलबार बिहान दिल्लीको आनन्द बिहार अन्तरराज्य बस टर्मिनलमा घर जान हजारौँको सङ्ख्यामा आप्रवासी मजदुरहरू जम्मा भएका थिए ।
दिल्ली मुख्यमन्त्री अरबिन्द केजरिवालले हात जोडेर दिल्लीमा सबै बन्दोबस्त गरिने भन्दै कहीँ नजान आग्रह गरेका थिए । तथापि, आप्रवासी मजदुरहरू लकडाउनको घोषणासँगै घर फर्किन हतारिएका थिए ।
“म उहाँहरू (आप्रवासी) लाई हात जोडेर अपील गर्न चाहन्छु, यो जम्मा ६ दिनको छोटो लकडाउन हो । कृपया दिल्ली छोडेर नजानु होला । तपाईँहरूले बेकारमा समय, पैसा र ऊर्जामात्र खेर फाल्नु हुनेछ । त्यसको सट्टा दिल्लीमै बस्नोस्”, केजरिवालले भनेका थिए ।
“मानिसहरूले लकडाउनको समयमा रोजगारी र ज्याला कसरी गुमाएका थिए भन्ने कुरा म बुझ्दछु । विशेषतः गरिब र दैनिक ज्यालादारी मानिसहरूको निम्ति निकै कठिन हुने गरेको छ”, उनले भने ।
मङ्गलबार केजरीवालले सङ्क्रमण रोक्न सहकार्य र सहयोगको लागि जनतालाई आग्रह गरे ।
“आजबाट दिल्लीमा लकडाउन सुरु भएको छ । तपाईँको स्वास्थ्य र सुरक्षालाई दृष्टिगत गरी यो निर्णय गरिएको हो । कृपया सरकारलाई सहयोग गर्नुहोस् । सङ्क्रमण रोक्न घरमै बस्नुहोला”, उनले भने ।
सरकारी अधिकारीहरूका अनुसार लकडाउन सोमबार राति १० बजेदेखि अर्को सोमबारको बिहान ५ बजेसम्म लागु हुनेछ ।
“सरकारले लकडाउन घोषणा गरेको समाचार फैलिने बित्तिकै मेरा सहकर्मी मजदुरहरू सबै घर फर्के”, दिल्लीमा कार्यरत आप्रवासी मजदुर विवेक दासले भने, “म फर्केको छैन किनभने सरकारले यो लकडाउन छोटो अवधिको लागि हुने र नलम्बिने बताएको छ ।”
दासले लडकाउनको कारण आप्रवासी मजदुरहरूको दैनिक जीवन निकै प्रभावित हुने बताए ।
सरकारी अधिकारीहरू कोभिड–१९ सङ्क्रमण बढेसँगै लकडाउनको अवधि बढ्ने हो कि भन्नेमा आप्रवासी मजदुरहरू चिन्तित रहेको बताए ।

“यो दौडादौडको कारण लकडाउन कदाचित लम्बिए उनीहरू दिल्लीमै अड्किने र हिँडेरै घर फर्किनुपर्ने भय हो”, बस टर्मिनलका एक जना कर्मचारीले भने ।
अघिल्लो वर्ष पनि यसरी नै मानिसहरू दौडादौड गरेर घर फर्केका थिए । गत वर्षको मार्च २५ मा भारत सरकारले कोभिड–१९ महामारी रोकथामको लागि देशव्यापी लकडाउनको घोषणा गरेको थियो । फलतः हजारौँ हजार आप्रवासी मजदुरहरू आफू काम गरिरहेका सहर छोडेर आफ्नो जन्मथलो हिँडेरै पनि फर्केका थिए ।
यसरी कोही हिँडेर, कोही ट्रक, टेम्पो र अन्य सवारी साधनमा महिनौं लगाएर घर फर्किने क्रममा झण्डै दुई सय जनाको बाटोमै निधन भएको थियो । साइकल र पैदल हिँडेका मानिसहरू चर्को गर्मीको कारण निधन हुनुका साथै विरामी परेका थिए ।
भारतमा अहिले कोभिड–१९ को दोस्रो लहर सघनरूपमा फैलिएको छ ।
भारतमा कोरोना भाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार कोरोना सुरु भएयता भारतमा हालसम्म एक करोड ५३ लाख २१ हजार ८९ जना कोरोना सङ्क्रमित भएका छन् ।
भारतमा कोरोना भाइरसबाट एकै दिनमा दुई लाख ५९ हजार १७० सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ७६१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको मङ्गलबार जनाइएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोना भाइरसबाट कुल मृतकको सङ्ख्या एक लाख ८० हजार ५३० पुगेको देखिएको छ ।
भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने २० लाख ३१ हजारभन्दा बढी पुगेको अधिकारीले जानकारी दिएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या एक करोड ३१ लाख ८ हजार ५८२ पुगेको छ ।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १२ करोड ७० भन्दा लाख व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।
भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्निक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।
भारतमा सोमबारमात्रै १५ लाख १९ हजार ४८६ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २० सम्म कूल २६ करोड ९४ लाखभन्दा बढीले कोरोना परीक्षण गरिएको पनि परिषद्ले उल्लेख गरेको छ ।
भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा आइतबार एकै दिनमा २५ हजार ५०० जना कोरोना भाइरस सङ्क्रमित भएका १६१ जनाको मृत्यु भएको छ ।
Leave a Reply